नरेन्द्रराज प्रसाई –
नेपाली भाषासाहित्यका विभूति लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौं अर्चलेग्राममा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त पौड्याल थिए।
पौड्यालले सानैदेखि घोकन्ते विद्या पढे । पढ्ने क्रममा यिनले सर्वप्रथम गङ्गा गणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आपूmभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पं. पितृप्रसादको सहयोग लिन खोजेका थिए । तर यस मामलामा यिनले पितृप्रसादबाट उल्टै हप्काइ खाए । वास्तवमा त्यही ईख र दधिराम मरासिनीको स्नेहले उनले काव्य सृजनाको लेखनबिन्दुमा आपूmलाई पु¥याए।
पौड्याल आपूm चौध वर्षको हुँदा काठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि नै उनी कविता लेखनमा आबद्ध हुन थाले । उनले काठमाडौंमा तीन वर्ष पढे । अनि उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए । तर त्यस जाँचमा उनी फेल भए । त्यसपछि उनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृतभाषामा उनी पण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृतभाषामा कविता छापिए । साथै त्यति बेला सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले उनका लेख छापेर यिनलाई प्रोत्साहन गरेका थिए।
फेल भएपछि पौड्यालको औपचारिक पठनपाठन अगाडि बढेन । अनि उनी बरालिन थाले । बरालिंदा बरालिंदै उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुरमा पुगे । कामको खोजीमा उनी त्यहाँ केही समय बसे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिँदै भारतको आसामतिर लागे । त्यसैबीच उनीसँग राममणि आचार्य दीक्षितको सम्पर्क भयो । घटराज भट्टराईका अनुसार त्यसैताका “हलन्त बहिष्कार अभियानमा आचार्य र पौड्यालको सहमति बनेको थियो ।” पछि राममणि आदी राणाका दरबार घुस्रेपछि पौड्याल उनलाई पछ्याउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररी टेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेरका नातिहरू पढाउने जागिर पाए।
राणाका सन्तान पढाउन थालेपछि पौड्यालको बिहानबेलुकाको गर्जो पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनले आफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नै भीमशमशेरले उनलाई हजुरियासमेत पनि बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौड्यालको शिरमा बल्लबल्ल लागेको घाम पनि झाटझुटै अस्तायो । त्यसपछि फेरि यी भौंतारिन थाले।
शारदाको प्रकाशनको आरम्भमा पौड्याल पनि शारदामा लेख्न पुगे । त्यस कालखण्डमा उनी राणाको स्तुतिगान लेखेर थाकेनन् । त्यति बेला उनको र देवकोटाको राणाको स्तुति लेख्न होड चल्थ्यो । तर २००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि पौड्यालले नेपाली काङ्ग्रेसको चारतारे बिल्ला लगाएर आपूmलाई जनमाझ कट्टर प्रजातन्त्रवादीको प्रदर्शन गरे।
पौड्याल जुन सिद्धान्तमा लागे तापनि उनी लेखिरहन्थे र आफ्नो साहित्यिक अड्डा जमाइरहन्थे । उनको लेखन गाउँघरमा जति प्रिय थियो दरबारमा पनि त्यस्तै रौनकदार हुन्थ्यो । उनको सृजनाका कारणले नै उनलाई २००८ साल असार २९ गते राजा त्रिभुवनले ‘कविशिरोमणि’को पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरे । त्यसपछिका दिनहरूमा साहित्यिक सङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुबै मिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोक पुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जिलिङ जाँदा त्यहाँका साहित्यिक त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपाली भाषासाहित्यमा ‘त्रिमूर्ति’ भन्नेबित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले।
२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा उनको रथयात्रा गरिएको थियो । यो काम गर्ने प्रमुख हस्ती गोपाल पाण्डे ‘असीम’ थिए। साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । त्यसै बेला देवकोटा र समले पौड्याललाई रथारोहण गराएका थिए। त्यस दिन पौड्यालका हातमा जनअभिनन्दनपत्रका साथ भारतीय पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यस घटनाको खुसियालीमा पौड्याल रोएका थिए।
पौड्याललाई रथारोहण गराइएपछि उनको व्यक्तित्वको गरिमाले अर्को रौनक थपेको थियो । यसैबारे उत्तम कुँवरले लेखे “२०११ पुस २० गतेको मध्यदिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड् र म छाड् गर्दै ठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामा आँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइन विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो।”
पौड्यालका पौड्यालले कवितासङ्ग्रह, काव्य, महाकाव्यांश, नाटक र अनुवाद गरेर २३ वटा कृति लेखे । उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगत योगदानले उनी नेपाली परिवेशमा सर्वत्र पैmलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूप उनलाई मरणोपरान्त २०२६ सालमा ‘त्रिभुवन प्रज्ञापुरस्कार’ पनि प्रदान गरिएको थियो।
महाकवि देवकोटाका जोडले पौड्याल नेपाल एकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौड्याललाई नपढेको भनेर राजा महेन्द्रलाई एकोहो¥याएका थिए; तर त्यसै बेला देवकोटाले राजालाई सन्देश पठाएका थिए “ती ऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन ।” त्यसपछि पौड्याल पनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा मनोनीत भए।
पौड्यालका मन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा थिए । लेखनाथलाई सबैभन्दा पहिला कविसम्राट्को उपाधि लेख्ने पनि देवकोटा नै थिए । देवकोटाका अनुसार कविशिरोमणि लेखनाथ पौड्याल आधुनिक नेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए। पौड्यालले आजीवन दुई सय रूपियाँ वृत्ति पाउँदा पनि उनलाई आर्थिक अभाव भइरहन्थ्यो । महेन्द्रकालीन युगमा चाहिं उनलाई गर्जो टार्ने काम राजा महेन्द्रले गरिरहन्थे । यसबारे पौड्यालले भने “मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ।”
पौड्यालले दुई जनासँग बिहे गरे । उनका छोरा अनन्त पौड्याल नेपाल सरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवी भट्टराईले पनि नेपाली भाषासाहित्यमा आपूmहरूलाई उभ्याए।
लेखनमा लागिरहेका बेला पौड्यालको स्वास्थ्य क्रमशः खस्किन थाल्यो । अनि उनका आँखा पनि मधुरो मधुरो हुँदै गए । २०२० सालपछि उनको देब्रे आँखालाई मोतीबिन्दुले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे।
पौड्यालले बूढेसकालमा पनि लेखे । उनी थोरै लेख्थे तर राम्रो लेख्थे । कसैले उनलाई सभासमारोहमा प्रमुख अतिथिका रूपमा बोलायो भने उनी खुसी भएर पुग्थे । त्यो क्रम पनि उनले जीवनभरि धानिरहे।
२०२२ सालमा पौड्याल तीर्थ गर्न काठमाडौंबाट बनारस लागे । तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे । त्यहाँ उनी केही दिन अडे । अनि उनले भने “अब म मर्छु र मर्न मेरै देशमा फर्कन्छु ।’’ त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपु¥याइयो । उनको त्यो समाचार राजा महेन्द्रले सुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ त्यहीं पठाएका थिए।
अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवङ्गत भए । यो समाचार सुन्नेबित्तिकै नाट्यसम्राट् बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपाली साहित्य बोलिने सारा संसारमा यो बेहोराको सम्प्रेषण भयो।
स्वर्गारोहणपछि कविशिरोमणि लेखनाथ पौड्यालको महिमामा सरकारले हुलाक टिकट पनि प्रकाशनमा ल्याएको थियो । साथै काठमाडौंको सञ्चारग्राममा त्रिमूर्ति निकेतनबाट उनको पूर्णकदको सालिक उभ्याइएको छ, जसको बायाँमा नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू पनि विराजमान छन्।
prasai.nai@gmail.com
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b