कृष्णप्रकाश श्रेष्ठ –
मास्को, १५ डिसम्बर २०१३ (आइतवार) । रुसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा गैरआवासीय नेपाली अभियानको एक दशकप्रति समर्पित भव्य कार्यक्रम सम्पन्न भयो। सर्वप्रथम विश्व नेपाली साहित्य महासंघको तत्वावधानमा आयोजित काव्यगोष्ठीअन्तर्गत आदिकवि भानुभक्त आचार्यको दि्वशताब्दीय जन्मजयन्तीप्रति समर्पित लोकको गरुँ हित भनी शिर्षकमा प्रकाशित कवितासंग्रहको लोकार्पण सुसम्पन्न भएको थियो । तत्पश्चात् गैरआवासीय नेपाली संघ रुस (एनआरएनए एनसीसी रुस) को तत्वावधानमा त्यसका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ “माधुर्य” को सभापतित्वमा सुसम्पन्न भएको भव्य समारोहमा रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटाबाट प्रमुख अतिथिको आसन ग्रहण गरिएको थियो भने अध्यक्षमण्डलमा एनआरएनएका केन्द्रीय निवर्तमान अध्यक्ष जीबा लामिछाने, रुस नेपाल मैत्री तथा सहयोग समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्एभ प्रभृतिका साथै यस पंक्तिकारलाई पनि विशेष अतिथिको सम्मान प्रदान गरिएको थियो।

गैरआवासीय नेपाली संघ रुसका उपाध्यक्ष रंगनाथ पौडेलले अतिथिहरुका साथै समारोहमा उपस्थित सबैको हार्दिक स्वागत गर्नुभएपछि सर्वप्रथम प्रमुख अतिथि तथा सभापतिका साथै वर्तमान राष्ट्रिय समन्वय परिषदका कुनै एक सदस्यको समेत सहभागितामा ‘एन.आर.एन. अभियानले सफलतापूर्वक एक दशक पार गरेको सुखद अवसरमा’ गैरवाआसीय नेपाली संघका केन्द्रीय निवर्तमान अध्यक्ष श्री जीवा लामिछानेज्यूलाई ‘केन्द्रीय अध्यक्षको हैसियतले सन् २०११-२०१३ को आफ्नो नेतृत्वकालमा संस्थालाई नेपालमा दर्ता गरी वैधानिकता प्रदान गराउन सफल हुनुभएकोले उक्त महत्वपूर्ण ऐतिहासिक योगदानको उच्च कदर गर्दै रूसवासी नेपालीहरुको तर्फबाट’ सम्मानपत्र प्रदान गरिएको थियो भने जीवनको ७५ शरद् पार गर्ने यसै पंक्तिकारलाई ‘उच्च अध्ययनका लागि सोभियत संघमा प्रवेश गरेको सुरुका दिनदेखि नै नेपाली भाषा एवं साहित्यलाई समृद्ध बनाउन विभिन्न पत्रपत्रिकाको सम्पादन, रूसी तथा नेपाली भाषाका महत्वपूर्ण कृतिहरूको अनुवाद, नेपाली भाषामा मास्कोबाट रेडियो प्रसारण सेवा, ऐतिहासिक महत्व राख्ने पुस्तकहरूको लेखनजस्ता विविध रचनात्मक क्रियाकलाप मार्फत् नेपाल र रूस बीचको साहित्यिक एवं सांस्कृतिक सेतुको रूपमा आजन्म भूमिका निर्वाह गरी विश्वसामु रूसवासी नेपालीहरूको गरिमा र पहिचान ऊँचो राखे’ वापत् सम्मानपत्र प्रदान गरिएको थियो ।
यसै गरी ‘नेपालीका लागि नेपाली’ भावनाअनुरूप गैरआवासीय नेपाली संघको विकासका लागि मन, वचन र कर्मले समर्पित रहेर अनवरत सेवा गर्ने क्रममा सन् २०१३-२०१५ को कार्यकालका लागि ‘केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी वहन गर्न निर्वाचित हुनुभएका समाजसेवी डा. बद्री के.सी.ज्यू, केन्द्रीय सदस्य (प्रतिनिधि) को जिम्मेवारी वहन गर्न निर्वाचित हुनुभएका समाजसेवी श्री गोविन्दप्रसाद गौतमज्यू र ‘केन्द्रीय महिला प्रतिनिधिको जिम्मेवारी वहन गर्न निर्वाचित हुनुभएका समाजसेवी श्रीमती सपिला राजभण्डारीज्यूलाई उहाँहरुको ‘सक्रिय योगदानको उचित कदर गर्दै’ प्रशंसापत्र प्रदान गरिएको थियो ।रुस नेपाल मैत्री तथा सहयोग समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभएभलाई चाहिं रुसी भाषामा नै ‘नेपाल र रुसका जनताहरुबीच मैत्री विकासमा ठूलो योगदानका लागि’ रूसवासी नेपालीहरूको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो भने भानुभक्त आचार्यका कविताहरू रूसी भाषामा छन्दोबद्ध रूपान्तरणमा सडयोगका लागि कवयत्री ल्युदमिला साल्तिकोभालाई पनि खादा ओढाएर सम्मान गरिएको थियो। यसका साथै गैरआवासीय नेपाली संघ रुसका निवर्तमान अध्यक्ष उत्सव अमात्यसहित रुस राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधिकारीहरु र कर्मठ कार्यकर्ताहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।

सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रमपश्चात् ‘एन.आर.एन. अभियनको एक दशक : उपलब्धि र सम्भावनाहरु’ भन्ने विषयमा समीक्षात्मक अन्तरक्रिया कार्यक्रमको आरम्भमा गैरआवासीय नेपाली संघका केन्द्रीय निवर्तमान अध्यक्ष जीवा लामिछानेज्यूले आफ्नो सारगर्भित मन्तव्यमा १० वर्षअघि मास्कोमा संयुक्त राष्ट्र संघीय विश्व खाद्यान्न कार्यक्रमको प्रतिनिधित्व गरिरहनुभएका भीम उदास, रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका अध्यक्ष डा. उपेन्द्र महतो लगायत रुसमा रहेका नेपालीहरुको अग्रसरतामा विभिन्न देशमा छरिएर रहेका नेपालीहरुसंग सम्पर्क राखी देशबाहिर रहेका नेपालीहरुको एक संगठन खडा गर्नका लागि कसरी काम थालिएको थियो भन्नेदेखि लिएर सन् २००३ मा द्वन्द्वको विकट अवस्थाना पनि काठमाडौंमा आयोजित प्रथम विश्वसम्मेलनमा ‘नेपालीका लागि नेपाली’ भन्ने भावनाको अनुरुप गैरआवासीय नेपाली संघ स्थापनाको घोषणा भएदेखियता १० वर्षपछि आफू यस विश्वव्यापी संस्थाको अध्यक्ष रहेको अन्तिम दिनमा काठमाडौंमा सम्पन्न छैटौं विश्व सम्मेलनको क्रममा नेपाल सरकारबाट गैरआवासीय नेपाली संघलाई आधिकारिक रुपमा दर्ता गरिएको सुखद क्षणसम्मको घटनाक्रमबारे बताउँदै यस अभियानको १० वर्षको गतिविधिबारे समीक्षात्मक रुपमा प्रकाश पार्नुभएको थियो।

यहाँनेर गैरनेपाली अभियानको सुरुको दिनदेखि नै यस अभियानसित सम्बद्ध रही गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यको रुपमा रुसको प्रतिनिधित्व गर्दै उपाध्यक्षको पदभार सम्हालेर गतः २ वर्ष अध्यक्षको पद समेल सफलतापूर्वक सम्हाल्नुहुने जीवा लामिछानेको मन्तव्यबाट केही महत्वपूर्ण बुँदाहरुको चर्चा गर्नु अत्यावश्यक ठान्दछु । उहाँले आफ्नो मन्तव्यमा यस संस्थाको सामाजिक तथा लोककल्याणकारी-परोपकारी क्रियाकलापमा जोड दिनुका साथै नेपालमा सामूहिक लगानी भित्य्राउने प्रतिबद्धताको सन्दर्भमा बोल्दै यस बीचमा एउटा कम्पनी स्थापना भई सानै परियोजना भए पनि लम्जुङको दोर्दी खोलाबाट २७ मेगावाटको बिजुली उत्पादन गर्ने पहिलो योजना आरम्भ गरिएकोबाट गैरआवासीय नेपालीहरुबीच रहेको लगानीको सम्भावना उजागर भएको चर्चा गर्नुभयो भने वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि सूचना प्रदान गर्ने गाइडबुक प्रकाशन गरिएको र नेपालका सबै गाविसहरुमा त्यो निशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो । यसै गरी विभिन्न देशहरुमा नेपाल हाउस निर्माणको काम थालिएको र नेपाली वाङ्मयको क्षेत्रमा पहिलो पटक नेपाल प्रज्ञा-प्रतिष्ठानसंगको सहकार्यमा एउटा विद्वत् संगोष्ठी आयोजना गरिएको पनि सूचित गर्दै बुद्धको जन्मभूमिको सन्दर्भमा विवाद भरहेको अहिलेको अवस्थामा बुद्धको जन्म नेपालमा भएको हो भन्ने कुरा विश्व समाजलाई अवगत गराउन संस्थाको तर्फबाट ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने अभिलेखसहित दुर्फिट अग्लो बुद्धको मूर्ति हेगस्थित अन्तर्राष्ट्रिय अदालतको परिसरमा स्थापना गरिएको र संघ भित्रैबाट समेत विभिन्न अवरोधका बावजूद पनि गैरआवासीय नेपाली संघलाई विधिवत् रुपमा दर्ता गरेर १० वर्षदेखि अधूरै रहेको कार्य पूरा गर्न सकिएको सूचित गर्नुभयो।

रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटाले आफ्नो सम्बोधनमा प्राचीन कालदेखि नै संघको विशेष महत्व हुने धारणाको स्मरण गर्नुका साथै गैरआवासीय नेपाली संघ रुसको स्थापनाको एक दशकको क्रियाकलापमध्ये आफूलाई पनि पछिल्लो २ वर्षजतिको गतिविधिबारे प्रत्यक्षदर्शी हुने अवसर प्राप्त भएको जनाउनुहुँदै विश्वका विभिन्न देशहरुका क्रियाशील यो संस्था नेपालको एक अभिन्न अंग भएको स्पष्ट पार्नुभयो र नेपाली नागरिकताको निरन्तरताबारे यस संस्थाले उठाउँदै आएको मुद्दा व्यावहारिक दृष्टिले पनि जायज हुँदा सकारात्मक निकास पाउने छ भन्ने आशयको विचार व्यक्त गर्दै महामहिमज्यूले गैरआवासीय नेपाली संघको दशाब्दीको उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा व्यक्त गर्नुभयो। रुस-नेपाल मैत्री तथा सहयोग समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्एभले हालै स्वर्णजयन्ती मनाउने मैत्री समाज पनि नेपालका मित्रहरुको एक संस्थाको हैसियतले एक दशकअघि मात्र अस्तित्वमा आएको गैरआवासीय नेपाली संघकै सहयोगी संस्था भएको जनाउँदै संघको उत्तरोत्तर सफलताको कामनासहित आफूलाई सम्मानपत्र प्रदान गरिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष डा. बद्री के.सी.ले काठमाडौंमा सम्पन्न भएको छैटौं विश्वसम्मेलनमा विश्व नेपाली साहित्य महासंघ रुसद्वारा प्रकाशमा ल्याइएको भानुभक्त आचार्यको रुसी-नेपाली कवितासंग्रहको गर्वपूर्वक प्रदर्शन गर्ने सम्भावना पाइएको सम्झना गर्दै गैरआवासीय अभियानको प्रादुर्भावमा विशेष महत्व राख्ने रुसका नेपालीहरुको पहलको विश्वमा रहेका नेपालीहरुबाट उच्च मूल्यांकनको द्योतकको रुपमा आफू केन्द्रीय कोषाध्यक्षको पदमा निर्वाचित भएको जनाउनुका साथै यो पदभार वहन गर्दा आइपर्ने कठिनाईहरु पार गरिनेछ भन्ने विश्वास व्यक्त गर्नुहुँदै भविष्यमा पनि रुसका नेपालीहरुको तर्फबाट पूर्ववत् सहयोग प्राप्त भइरहने विश्वास प्रकट गर्नुभयो।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा महिला संयोजकको पदमा निर्वाचित सपिला राजभण्डारीले यस संस्थाको माध्यमबाट सम्पन्न गरिने लोककल्याणकारी क्रियाकलापको परिप्रेक्ष्यमा बोल्दै १२ वर्षको उमेरदेखि नै नेपालबाहिर रहे तापनि गैरआवासीय नेपाली संघको क्रियाकलापको क्रममा नेपालीमा वक्तव्य समेत दिने क्षमता वृद्धिभएको दृष्टान्त दिनुका साथै इन्टरनेट पुस्तकालय स्थापनाबारे प्रकाश पार्नुभयो र रुसमा रहेका नेपालीहरुले केन्द्रको तर्फबाट र रुसकै तर्फबाट समेत सम्पन्न गरिने परोपकरी कार्यहरुमा पहिलेझैं योगदान गरिने छ भन्ने विश्वास जनाउनुभयो । रुस राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष उत्सव अमात्यले पनि परोपकारी क्रियाकलापको महत्वबारे बोल्नुभएको थियो।

नेपाल खेलकूद तथा संस्कृति समाजका उपाध्यक्ष रामेश्वर गौतमले दुई महिनाअघि काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको गैरआवासीय नेपाली संघको छैटौं विश्वसम्मेलनको अनुभवबारे प्रकाश पार्दै रुसमा रहेका नेपालीहरुले विश्वमा रहेका नेपालीहरुसमक्ष एकबद्धताको प्रदर्शन गर्दै आएको जनाउनुभयो भने रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष टेकराज निरौला, नेपाली नारी निकुञ्जकी उपाध्यक्ष विन्दिता लामिछाने तथा नेपाली विद्यार्थी संघ (रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष किरण रानाभाटले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गैरआवासीय अभियानसित सुरुका दिनदेखि नै कुनै न कुनै रुपमा आबद्ध रहेको मलाई विशेष अतिथिको आसनबाट केही शब्द व्यक्त गर्ने पनि अवसर प्रदान गरिएको थियो र यहाँ म फेरि पनि मलाई सम्मानपत्र प्रदान गरिनुका साथै समारोहका सम्पूर्ण वक्ताहरुबाट मेरो सम्बन्धमा व्यक्त गरिएका सौहार्दपूर्ण शब्दहरुका लागि आन्तरिक हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु।

सभापतिको आसनबाट बोल्दै डा. मधुकृष्ण श्रेष्ठ माधुर्यले गैरआवासीय नेपाली अभियानको एक दशकको उपलब्धिको चर्चा गर्नुका साथै यस सन्दर्भमा आयोजित अन्तक्रिया कार्यक्रमका सहभागीहरु तथा समारोहमा उपस्थित राजदूतावास परिवारका साथै सबै नेपालीहरु र रसियाली अतिथिहरुप्रति पनि धन्यवाद ज्ञापन गर्दै नजिकै आइरहेको पावन क्रिसमस पर्व र नयाँ वर्ष सन् २०१४ को उपलक्ष्यमा शुभकामनासहित हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

कुन कुरा पनि उल्लेखनीय छ भने गैरआवासीय नेपाली संघ रुसका सचिव तेजबहादुर शाहबाट आरम्भमै गैरआवासीय अभियानको एक दशकको सन्दर्भमा आयोजित समारोहको विषयप्रवेश गरिएपछि महासचिव महेशकुमार खड्काबाट कार्यक्रमको सफल सञ्चालन गरिएको थियो । सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको समीक्षात्मक अन्तरक्रिया कार्यक्रम र सम्मानपत्र तथा प्रशंसापत्र वितरण समारोहको समाप्तिपश्चात् डा. बद्री के.सी. को प्रायोजन, डिल्ली खरेल ‘सुमन’ को संयोजन, मीना अधिकारी, धर्म अधिकारी आदिको सहयोगमा संन्धाभोजको पनि आयोजना गरिएको थियो । सन्ध्याभोजको स्वाद लिंदैं समारोहका सहभागीहरु विचारको आदानप्रदान गर्नमा व्यस्त देखिन्थे।

अन्त्यमा गैरआवासीय नेपाली संघ रुसद्वारा प्रसारित धन्यवाद ज्ञापनपत्रमा जनाइएका निम्न केही शब्दहरु उद्धृत गर्ने अनुमति चाहन्छु : ‘कार्यव्यस्तता, हिउँदको कठोर चिसोपन, विश्वविद्यालयहरुमा संचालित पूर्व परीक्षाको बावजूद अमूल्य समयको पर्वाह नगरी उपस्थित हुनुभएका समस्त महानुभावहरुलाई गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्को तर्फबाट धन्यवाद!’
फोटो सौजन्य: राजाराम चौधरी ।
दिनांक: १६ डिसम्बर २०१४ (सोमवार),
मास्को, रुस महासंघ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस