सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २ पौष। पूर्वका आदिवासी जनजातिहरुको उधौली पर्व न्वागी मंगलवारदेखि सुरु भएको छ। यो पर्वलाई आदिवासी जनजाति लिम्बूलगायत चार किरातीहरुले आफ्नै शैलीमा सामुहिक रुपमा सार्वजनिक माङहिम र स्थलमा भेला भई ३ देखि ५ दिनसम्म भव्यताका साथ मनाउने गर्दछन्।

उधौली पर्वलाई लिम्बूले चासोक तङ्नाम्, राईले उधौली साकेला, सुनुवारले फोलष्यांदर र याक्खाले चासुवाको नाममा परम्परागत रुपमा मनाउदै आएका छन्। आदिवासी जनजातिहरुले आफुले लगाएको वाली पाकेपछि पहिलो पटक प्रकृतिलाई चढाएर मात्रै खान हुने परम्परा भएको हुनाले पूर्वका आदिवासी जनजाति राई, लिम्वू, सुनुवार याक्खा जातिहरुले न्वागी पुजा गर्ने गर्दछन्। यो पर्वलाई भने पुर्वमा सामुहिकरुपमा मनाउन थालेका छन्। आ आफनो खेतवारीमा पाकेको अन्नवाली ईष्ट देवता प्रकृतिलाई चढाएर मात्रै खान हुने भन्दै पुजा आजा गर्ने गरिन्छ। यसैक्रममा लिम्बूहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहल र सक्रियतामा पूर्वको सुनसरीस्थित धरानमा भने सामुहिक रुपमा फेदाङमा वा तुम्याङहाङ (भद्रभलाद्मी) हरुका सहयोगले चासोक पूजा गरेका छन्। यसरी यो पर्व सामुहिक चाडको रुपमा स्थापित हुन थालेपछि यसको सामाजिक महत्व पनि बढेको छ।

चासोक तङनामको अवसरमा भेटघाट गर्ने, शुभकामना साटासाट गर्ने, कुल देवी देवताको पूजा अर्चना गर्ने र सामुहिकरुपमा मनोरञ्जन गर्ने गरिन्छ। यस चाडले लिम्बू जातिभित्र सामाजिक सद्भाव र सम्बन्ध बढाउने महत्वपूर्ण भूमिका निर्वाह गर्न थालेको छ। किरात याक्थुङ चुम्लुङ धरान नगरसमितिको आयोजनामा आजदेखि धरान १५ सुनगाभामार्गस्थित चुम्लुङ हिम परिसरमा सप्ताहव्यापी चासोक तङनाम सांस्कृतिक पर्यटन उत्सव सुरु भएको छ। मंगलवारदेखि सुरु भएको महोत्सवमा लिम्वू जातिको मौलिक गीत नृत्य, राष्ट्रिय कलाकारहरुको प्रस्तुती, पालाम हाक्पारे साम्लो प्रतियोगिता र विभिन्न आदिवासी जनजातिहरुको साँस्कृतिक कार्यक्रमहरु रहेका छन्। किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा धरान १५ चुम्लुङ हिममा सुरु भएको चासोक तङनामको धरान १४ मा रहेको हाङयुक्ना दरवारमा पूजाआजा गरी विधिवत शुरु गरिएको छ।

पाँच दिनसम्म संचालन हुने सो चासोक तङ्नामको धरानमा वसोवास गर्ने लिम्वू जातिहरुले आफ्नो खेतवारीमा पाकेको पहिलो अन्नवाली ईष्ट देवता तागेरा निङवाफुमाङलाई चढाएर मात्रै खाने परम्परा अनुसार सामुहिक चासोक पुजा गरिरहेका छन् । चासोक तङनामको अवसरमा विगतका वर्षहरुमा झै यो वर्ष पनि किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले पाँच दिनसम्म चासोक तङनाम साँस्कृतिक पर्यटन उत्सव आयोजना गरेको हो। लिम्वू जातिको मौलिक गीत नृत्य, राष्ट्रिय कलाकारहरुको प्रस्तुती, पालाम हाक्पारे साम्लो प्रतियोगिता र विभिन्न आदिवासी जनजातिहरुको संस्कृतिक कार्यक्रमहरु हुने किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको अध्यक्ष सुवास हुक्पा चोङवाङ जानकारी दिए।

फोटोः उधौलीको अवसरमा किरात याक्थुङ चुम्लुङ धरानले आयोजना गरेको चासोक तङनाम सास्कृतिक तथा पर्यटन महोत्सव २०७०। साथमा लिम्बु पहिरनमा सजिएका महिला तथा युवतीहरु। सन्तोष काफ्ले धरान / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस