एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २ मंसिर। त्रिमूर्ति निकेतनले आगामी मङ्सिर १५ गते राजधानी काठमाडौंमा ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ मनाउने भएको छ। tep

यसको थालनी २०७१ बैशाख ३० गते भएको थियो। साथै २०७२ बैशाख ३० गते एउटा विशेष समारोहमा उहाँबारे प्रकाशति हुने ग्रन्थहरुको लोकार्पण गरिनेछ।

सत्यमोहन जोशी शताब्दी महोत्सवमा प्रमुख अतिथि उपप्रधानमन्त्री वामदेव गौतमका साथै विशिष्टि अतिथिद्वय मन्त्री नरहरि आचार्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै डा.मोदनाथ प्रश्रितले प्रमुख वक्ताका रुपमा सो समारोहमा भाग लिनुहुने भएको छ।

गत वर्ष त्रिमूर्ति निकेतनले निकेतनका सदस्य प्रा.डा.उषा ठाकुरको संयोजकत्वमा सत्यमोहन जोशी शताब्दी महोत्सव गठन गरेको थियो। उन्नाइसा शताब्दीबाट आरम्भ भएको नेपाली भाषासाहित्य लेखनको यात्राले दुई शताब्दीको फेरो ढाकेको सन्दर्भमा वाङ्मयिक संस्कृतिको सुकीर्ति फैलाउने, नेपाली संस्कृतिका धरोहर र यस शताब्दीका शीर्षस्थ स्रष्टा डा.सत्यमोहन जोशीकोे सफल यात्राको हार्दिक कदर गर्दै सोही दिन उहाँलाई ‘शताब्दी पुरुष’को सम्मानका साथ पाँच फुट उचाईको सप्तनाग जडित ताम्रपत्र र पाँच लाख रुपियाँ राशिको पुरस्कार समर्पण गर्न लागिएको त्रिमूर्ति निकेतन सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन्।

नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सृजनात्मक लेखन तथा अनेकौं उच्च प्रतिष्ठित संस्थाहरूको संस्थापन र सञ्चालनका साथै प्रथम ‘अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन’जस्तो ऐतिहासिक, गरिमाशाली र चिरस्मरणीय कार्यको संयोजक भएर विश्व परिवेशमा नेपाली भाषासाहित्यको गरिमा र महिमा पुर्याउने एक्काइसाð शताब्दीका पनि अविश्रान्त साधक डा.जोशीलाई ‘शताब्दी पुरुष’को उपाधि सगौरव समर्पण गर्न लागिएको हो।

कविता, नाटक, समालोचना, लोकसाहित्य, संस्कृति आदि विधामा दर्जनौंं कृतिहरू सृजना गरेर नेपाली भाषा र नेपाल भाषाको श्रीवृद्धिका लागि अनवरत तपस्या गर्दै यस शताब्दीमा नेपाली साहित्य, कला र संस्कृतिलाई विश्वमा चिनाउन अहोरात्र समर्पित डा. जोशीलाई ‘शताब्दी पुरुष’को सम्मान समर्पण गर्न लागिएको हो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस