हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २३ मंसीर। गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का केन्द्रीय सभापति पदमबहादुर गुरुङले गोरखा सैनिकको न्यायिक आन्दोलनको २५ वर्षे आन्दोलनको उपलब्धिमाथि प्रतिकूल पार्ने निर्णय गरिए आफूहरु चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ।

गोरखा एकेडेमिक फोरम नेपालद्वारा आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सभापति गुरुङले ज्ञानराज राईको अनसन तोडाउने नाउँमा गठित सर्वदलीय आयोगले बेलायतको रोयल कोर्ट अफ जस्टिसको २० सेप्टेम्बर २००८ मा फैसला र बेलायती सदनको निर्णय अनुसार २१ मे २००९ मा बेलायती रक्षा मन्त्रालयले अब उप्रान्त सम्पूर्ण गोरखाहरूलाई कमनवेल्थ मुलुकका नागरिकहरूले पाउने सुविधा पाउने नीतिलाई असर पार्ने कुनै निर्णय गरिए त्यसको जिम्मेवारी गोरखा ब्रिगेड र अनसनकारीले लिनुपर्ने बताउनुभयो।

बेलायती रक्षा मन्त्रालय र गेसोबीच २०१४ अप्रिल महिनासम्ममा सिपाहीको मासिक पेन्सन ५ सय पाउण्डदेखि अफिसरको १ हजार पाउण्डसम्म वृद्धि, रिडन्डेन्सीवालाहरूलाई मासिक ५ सय पाउण्ड लिने वा एकमुष्ट ४० हजार लिने भन्ने विषयमा उनीहरूलाई नै रोज्न दिने, १८ वर्ष नाघेका गोरखाका सन्तानहरूको हकमा २१ जनवरी २०१३ को बेलायती उच्च अदालतको ऐतिहासिक फैसला अनुसार बेलायतमा गइसकेका सबैलाई बसोबास गर्न दिने, नेपालमा भएकाहरूका हकमा अहिलेसम्म बाबुआमासँग रहेका गोरखाका सन्तानहरू सबैलाई बेलायत जान पाउने अधिकार दिने सहमतिलाई आगामी २०१४ को अप्रिलसम्ममा कार्यान्वयन गराउने भनिएकोमा त्यसलाई असफल बनाउन गोरखा ब्रिगेडहरुको इशारामा ज्ञानराज राईले अनसनको नाटक गरेको सभापति गुरुङले आरोप लगाउनुभयो।

आफ्नो अधिकारलाई लडेर लिने गेसोको संघर्षशील परम्परा रहँदै आएको छ, हात थापेर वा भिक्षा मागेर सुविधा लिन गेसोले कहिल्यै नचाहेको बताउनुहुदै सभापति गुरुङले हाल गठित उच्चस्तरीय समितिले बेलायत सरकारद्वारा गोरखाहरूलाई समान अधिकार दिने नीतिलाई निस्तेज हुने खालको सिफारिस गरेमा साथै २०१४ को अप्रिल महिनासम्ममा कार्यान्वयन गरिने भनेर गेसोसँग भएको सहमतिको असर पर्ने गरी हुने कुनै कदम वा उल्लंघन हुने सिफारिस भएमा वा दिन्छु भनिएको सुविधामा कुनै प्रतिकुल हुने खालको सिफारिस भएमा यसको सम्पूर्ण जिम्मेवारी अनसनकारी र त्यसका योजनाकारहरूले लिनुपर्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेखछ।

यसै विच गेसोका सभापति पदमबहादुर गुरुङले आफुलाई हत्या गर्ने नियतले कर्नेल मार्क डडल र जनरल काउनले गरेको षड्यन्त्रविरुद्ध छानविनका लागि उच्च स्तरीय छानविन समितिमा उजुरी दिने बताउनुभयो। यसैगरी स्याङ्जाको साल्मेडाँडामा निर्माणाधिन गोरखा स्मारकको पहिलो चरणको काम सम्पन्न भएको र हालसम्म करिब एक करोड खर्च भईसकेको जानकारी दिनुहुदै आगामी जेठ महिनासम्ममा गोरखा समाधि निर्माण कार्य सम्पन्न हुने सभापति गुरुङले जानाकारी दिनुभयो। गेसो पश्चिमाञ्चल अध्यक्ष हर्कबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोरखा एकेडेमिक फोरम नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले गर्नुभएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस