हङकङमा ‘हु विल बि अ गोर्खा’
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १४ डिसेम्बर। विभिन्न फिल्म महोत्सवमा अवार्ड जित्न सफल बहुचर्चित फिल्म ‘हु विल बि अ गोर्खा’(को बन्छ लाहुरे)शनिवार साँझ हङकङमा प्रदर्शन भएको छ। चिमसाचुईस्थित सामुदायिक भवनमा प्रर्दशन भएको ८० मिनेटको ‘हु विल बि अ गोर्खा’ (को बन्छ लाहुरे) डकुमेन्ट्रीको निर्देशन केसाङ छेतेनले गरेका हुन्, जो नेपालका एक सफल डकुमेन्ट्री फिल्मकर्मी मानिन्छन्। हङकङमा धरान–हङकङ मञ्चले यो फिल्मको प्रर्दशन गरेको हो। मञ्चको लागि आर्थिक फण्ड संकलन गर्न यो प्रर्दशन गरिएको अध्यक्ष बुद्धिमा सुनुवार (चिली)ले बताए।

‘हु विल बि अ गोर्खा’
अनुशील श्रेष्ठ, काठमाडौंमा
नेपालको सिनेमा हलमै समेत प्रर्दशन भएको डकुमेन्ट्रीमा नेपाली तन्नेरीहरूले व्रिटीश लाहुरे बन्न गरेको संघर्ष छ। ‘डकुमेन्ट्रीलाई सामान्यता गम्भीर र पट्यार लाग्दो मान्ने चलन छ,’ निर्देशक छेतेनले भने, ‘कुनैकुनै बेला यस्तो सोचाइ सत्य पनि ठहरिनसक्छ तर अकाट्य कुरा के हो भने कथा सम्प्रेषण र सिनेमेटिक प्रयोगका लागि डकुमेन्ट्री पनि ठूलो सम्भावना बोकेको एउटा अद्भूत माध्यम हो।’अन्तर्राष्ट्रिय सहकार्यमा बनेको यस डकुमेन्ट्रीले सन्डान्स इन्स्टिच्युट, इन्टरनेसनल फिल्म फेस्टिभल अफ अम्स्टरडम र बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट आर्थिक सहयोग पाएको थियो । यस फिल्ममा एक कार्यकारी निर्माता फिनल्यान्डका छन्, जसले फिनल्यान्डबाट सम्पादक र संगीतकारलाई सहभागी गराएका थिए । नर्वेली सहयोग चाहिँ साउन्ड डिजाइन र रङ संयोजनमा मिलेको थियो। ‘अहिलेसम्म आफ्नै एकल सहभागितामा काम गरिरहेको मैले यस फिल्ममा विदेशी साझेदारसँग काम गर्दा चुनौतीपूर्ण, आकर्षक र फरक अनुभव हासिल गरेँ,’ निर्देशकले छेतेनले सुनाए।

‘हु विल बि अ गोर्खा’ एक अवलोकनमा आधारित फिल्म हो। पोखराको ब्रिटिस गोर्खा क्याम्पमा हुने छनोट प्रक्रिया नै डकुमेन्ट्रीको विषयवस्तु हो । यसमा अन्तर्वार्ता, उद्घोषण वा कुनै केन्द्रीय पात्र छैन। ‘डकुमेन्ट्री सधैंजसो फिल्ममहोत्सव वा साना जमघटहरूमा देखाइन्छ, तर यसपटक आमदर्शकमा रहेको डकुमेन्ट्री प्रतिको रुचि जाँच्दै यो सार्वजनिक प्रदर्शनमा आउन लागेको छ,’ छेतेनले भने, ‘सिनेमाहलमा डकुमेन्ट्री रिलिज गर्नलाई दक्षिण एसियामै असम्भव वा निकै कठिन छ तर, यो नेपालमा हुनु भनेको खुसीको कुरा हो,’ छेतेनले भने।

नेपालमा गुणस्तरीय फिल्मको निर्माण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको गोंगजु फिल्मस् प्राइभेट लिमिटेडको सह–प्रस्तुति र डिसिएन (डिजिटल सिनेमा नेपाल)को वितरणमा छेतेनको डकुमेन्ट्री हलमा रिलिज भएको थियो भने विश्वका धेरै देशहरूमा प्रर्दशन हुँदै आएको छ। २०६९ मंसिरमा सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)मा यसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्नुका साथै दर्शक छनोट पुरस्कार पनि जितेको थियो । इन्टरनेसनल फिल्म फेस्टिभल अफ अम्स्टरडममा १६ फिल्म सम्मिलित विश्वव्यापी प्रतिस्पर्धात्मक समूहमा यो छानिएको थियो । यो फिल्म ग्रीसको थेस्सलोनिकी डकुमेन्ट्री फिल्म फेस्टिभल र नर्वेको युरोडक्ससंगै युरोप, अमेरिका र एशीयाका महोत्सवहरूमा प्रर्दशन भइसकेको छ।

यसरी बन्यो ‘हु विल बि अ गोर्खा’ – निर्देशक केसाङ
म पुरुषत्वको बारेमा फिल्म बनाइरहेको थिएँ, अर्थात् लोग्नेमान्छेको बारेमा । मैले सिधै चारवटा परिवेश छान्ने सोच बनाएँ, जुन मेरो लागि मर्दाना लागोस्, पुरुषको गन्ध भएको । ती चार परिवेशमध्ये एउटा हो गोर्खा सैनिक। गोर्खा सैनिकको बारेमा प्रायःलाई थाहा हुने जतिको पनि जानकारी मलाई थिएन। पोखराको ब्रिटिस गोर्खा क्याम्पभित्र हिँड्डुल गर्न वा फिल्म खिच्न म सक्छु कि सक्दिनँ भन्ने पनि मलाई थाहा थिएन। अहिलेसम्म क्याम्पभित्र धेरै कमले मात्र छनोट प्रक्रिया खिच्न पाएका रहेछन्। पूरा प्रक्रिया खिच्ने अवसर चाहिँ कसैलाई पनि दिइएको रहेनछ।

मैले यो सब थाहा पाउँदा पाउँदै पनि फिल्म खिच्नका लागि अनुमति मागेँ र भाग्यको करामतले गर्दा होला, मलाई अनुमति दिइयो। मैले सुरुमा केही दिनका दृश्यमात्र खिच्ने योजना बनाएको थिएँ, तर म छनोट प्रक्रियाका समग्र क्रियाकलापबाट प्रभावित भएँ, छनोटका शारीरिक प्रक्रिया, सिक्स प्याक बनाएका युवाहरू, उनीहरूको उत्साह र दृढतादेखि प्रभावित भएपछि मैले सम्पूर्ण प्रक्रिया खिच्ने र यसबारे छुट्टै फिल्म बनाउने निर्णय लिएको हुँ। गोर्खा सैनिक कथाव्यथाको एउटा ठूलो भण्डार हो। तर म फिल्म एउटा विशेष शैलीबाट बनाउन चाहन्थेँ । त्यस्तो शैली, जसमा परिवेशको सानो पाटोलाई मात्र यथार्थ चित्रण गर्न पाइयोस् । विषयसँगै त्यसको संवेदना पनि सिर्जना गर्न म चाहन्थेँ।

अवलोकन विधिबाट डकुमेन्ट्री बनाउँदा नाटकीयता बिनाको यथार्थ दृश्य र घटना देखाउन पाइन्छ भन्ने मलाई लाग्यो ।यो ‘डाइरेक्ट सिनेमा’ शैलीमा अन्तर्वार्ता समावेश गरिएको छैन । सुटिङ गर्दा छनोटकर्ता र आवेदक युवाहरूको ध्यान विकेन्द्रिकृत नहोस् भन्ने मामिलामा सावधानी अपनाइएको थियो। हामीले केही सम्भावित उम्मेदवारहरूलाई उनीहरूको सजिलो–गाह्रो सबै क्षणमा पछ्याउनुका साथै छनोट हुँदा वा नहुँदाको प्रतिक्रिया पनि समेटेका छौं।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस