कविता
चटके, कठपुतली र तमासे

– इन्दिरा प्रसाई
—————
पर्दा खुल्लै छ
एउटा केही पुरानोजस्तो
रङ्गमञ्च देखिएको छ
रङ्गमञ्चको उज्यालोमा
धुमधामको तामझाम छ
अग्रिम पङ्तिमा
एउटा दीव्य आसन छ
त्यो आसन खाली छ ।

रङ्गमञ्चको पछिल्तिरपटि्ट पनि
बाक्लो पर्दा छ
पर्दा पछिल्तिर बसेर
कुन्नि कति छन् चटकेहरु
डोरी तानेर
कठपुतलीको नाच
एकनास देखाइरहेछन्
चटकेको इसारामा
हिंजोदेखि आजसम्म
कठपुतलीको खेल
एकनास प्रदर्शन भइरहेछ
तीव्र प्रतिस्पर्धाका कठपुतलीहरु
तँछाड मछाडको दृष्य
थाहा छैन कहिलेसम्म कठपुतलीहरु ?
र हामी तमासे !

दीव्य आसनका ओरिपरि रङरङका
कठपुतलीहरु नाचिरहेछन्
रङ्गमञ्चभरि धेरै संख्यामा
रङ्गीचङ्गी पुतलीहरु पनि
छरिएका छन्, भरिएका छन्
स्थिर आँखाले
कौतुहलको भावले
निरीह मनस्थिति सँगाल्दै
प्रतिक्रियाविहीन दृष्टिले
रङ्गीचङ्गी पुतलीहरु
तिनको पहुँचबाट धेरै टाढाको
दीव्य आसन
लोभिएर हेरिरहेछन् ।

पहेंलो, हरियो, सिंदुरे,
रक्तिम र कालो रङ बोकेका
कठपुतलीहरु !
पर्दापछाडि कतै बसेर
अदृष्य डोरी समातेका चटकेहरु
कठपुतली नचाउँदै छन्
चटकेका सीपको कमाल हुन् कठपुतली
युगलाई अल्मल्याउने
निरन्तरका तमासा हुन् कठपुतली
ब्रुकब्रुक उफ्राइन्छन् कठपुतली
कहिले निहुरिन्छन् पाउसम्म
र दामै पनि चढाइदिन्छन् कठपुतली !
रगत कै होली पनि खेलाइन्छन् कठपुतली !
खेल जिते कठपुतलीले
हौसिन्छौं हामी तमासे
रमाउँछौं हामी तमासे
ताली बजाउँछौं हामी तमासे ।

चटकेको इच्छामा
कुनैबेला पहेंला कठपुतली पनि
नचाइन्छन् र दौडाइन्छन्
अथवा बेरङका कठपुतली नै भएपनि
त्यही अग्रपङ्तिमा विराजमान
दीव्य आसनमा बसाइन्छन् पनि
तमासेहरुको नियति
ताली बजाउँने
रमाउँने र गाना बजाना गर्नें
कठपुतलीका गलामा हर्ष प्रतीक भएर
माला पहिर्याउँने
विजयोत्सवमा जिन्दावादका
गगनभेदि नारा लगाउँने ।

यसरी यो क्रम दोहोरिन्छ
यही क्रम तेहरिन्छ
चटके चटक देखाइरहन्छन्
कठपुतली नचाइरहन्छन्
अनि तमासे हामी
चटकेका खेलमा सहभागी हुनु
शायद हाम्रो नियति
कठपुतलीको यशोगानमा
सरिक हुनु
मात्र हाम्रो जीवनशैली
तमासे भएर ताली बजाइरहन्छौं
तमासे भएर विजयोत्सव मनाइरहन्छौं ।

अग्रपङ्तिको दीव्य आसनमा
कठपुतली बसाल्नुअघि
चटके कठपुतलीको
रङ फेरिदिन्छ तर भोग उस्तै
चटके स्वयम् भाग्य निर्माता कठपुतलीको
जन्मदाता, कर्मदाता
चटकेको हातको औंलामा
गाँसिएको कठपुतलीको अस्तित्व
चटकेको औंलाको शक्तिले
दीव्य आसनमा बसाइन्छ कठपुतली
चटकेकै खेल खेलमा
एकाएक दीव्य आसनबाट
हटाइन पनि सक्छ कठै कठपुतली ।

सिंदुरे र रक्ताम्मे
अथवा हरिया नै कठपुतलीहरु !
कहिलेकाँहीं टुक्र्याइन्छन् पनि
गुलाफी, सुन्तले, कलेजी र
अन्य रातैजस्ता लाग्ने रङका पनि
रङमञ्चैभरि कठपुतलीहरु !
घाँसे हरियोबाट टुक्र्याएर
सुगाहरियो समेत कठपुतली !
चटकेको चाहना न हुन् कठपुतली !
एकाकार पनि तुल्याइन सक्छन् कठपुतली !
नाचिरहेछन् कठपुतलीहरु !
नचाइएका छन् कठपुतलीहरु ।
चटकेको अनुशासनमा नबसे कठपुतली !
अथवा चटकेको डोरी चुँडालिहाले कठपुतली !
अलप नै पारिन सक्छ
रङ्गमञ्चबाटै कठपुतली !

कालो पनि छ कठपुतली
निख्खर कालो रङबाट झुर्केर
गाढा नीलो, फुस्रो कालो, आकाशे नीलो
खैरो र अरु पनि त्यस्तै रङहरुमा
विभाजित छन् काला कठपुतलीहरु
खण्डित स्वरुपका कठपुतलीहरु
चटकेको नाँचमा सहभागी हुन पनि
चटकेकै खेलमा समेत
मसिना धेरै मसिना भइदिनाले
वाधा पार्लानजस्ता कठपुतलीहरु ।

अलि पर्तिर चटकेको खेलमा
दीव्य आसनबाट
पलायन पारिएको कठपुतली
तमासेको धारे हातको मर्मले
विछिप्त छ, विस्थापित छ
चटकेको चटक हो कठपुतली !
स्वाभिमानको अर्थ नबुझ्ने तमासेका लागि
निर्धो रङ्गमञ्चको वाध्यता हो कठपुतली !
कहिले पहेंलो र रक्तिम कठपुतली विजयी
कहिले हरियो र कहिले सिंदुरे विजयी
कहिले काँही दुई रङ् अथवा
धेरै रङ् मिसाएर पनि
बनाइदिन्छ चटके नयाँ विजयी कठपुतली !
विजयको उन्मादमा चिच्याउँछौं
हामी तमासे !

शक्तिका पुजारी हामी तमासे !
विजयीका भक्त हामी तमासे !
पराजितलाई लघार्ने हामी तमासे !
पराक्रमसँगमात्र सरोकार राख्ने
बलेको आगोमात्र ताप्ने
चटकेको खेलमा रमेर
वास्तविक दृष्यका लागि
सँधै गान्धारीनियति स्वीकार्न तयार
हामी तमासे !

भरखरै प्रतिस्पर्धाको अन्त्य भएको छ
विजयी तुल्याइएको छ कठपुतली !
रङको टुङ्गो भइनसकेको कठपुतली !
दीव्य आसनमा
बसाइएको छ कठपुतली !
फूलमालाले छोपिंदै
अविरको थुप्रोमा पुरिँदै
उत्साह र उमङ्गमा मुछिएर
खोइ कतिञ्जेलसम्मका लागि हो कुन्नि
रमाइरहेछ कठपुतली !
कठपुतलीको खेलमा सँधै झैं
यसबेला पनि सघाउँदैछौँ
विजयोत्सव मनाउँदैछौँ
एकनास ताली बजाइरहेछौँ
हामी तमासे !

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

Audio Video, Bank., Business news, Car, Credit, donate, electricity, gas, hosting, lawyer, Limited insurance, loan, mortgage, Nepali News, Nepali News Hong Kong, Profit, sale, software, tourism, travel, treatment, TV news, Vehicle, videos, visa

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस