सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम–
काठमाडौं, १६ साउन । गायक राजेशपायल राईले पहिलोपटक भोजपुरी एल्बम ‘शिला के जवानी’ एल्बम र भोजपुरी फिल्म ‘बदला’मा आफ्नो स्वर दिएका छन्। राजधानीस्थित बज्र क्रियसन स्टुडियोमा उनले भोजपुरी गीत सोमबार रेकर्ड गराएका हुन्। सन्तोषराज र आरबी पटेलको संयुक्त संगीतमा गीत रेकर्ड गराएका राईले भोजपुरी गीतमा स्वर दिएपछि बलिउडको ढोका खुल्ने आशा व्यक्त गरेका छन्।
नेपाली हिरो विराज भटट्ले भोजपुरी फिल्ममा स्थान बनाईरहेका बेला गायक राजेशपायल राई भने गीतमार्फत भोजपुरी गीतमा स्थान बनाउन लागेका छन्। यसअघि नै उनले यसका लागि मिथिला मल्टी मिडिया फिल्म्ससंग भोजपुरी एल्वमका लागि सम्झौता गरेका थिए।
भारतीय कम्पनी टि सिरिजले उत्पादन तथा वितरण गर्ने भनिएको एल्वममा मिथिला मल्टी मिडियाका तर्फबाट सञ्चालक तथा संगीतकार सन्तोषराजले गायक राईसँग सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन्।
फाइल फोटोहरू
‘शिलाके जवानी’ नाम रहने उक्त एल्वमका लागि राजेशपायल राईले नौ गीतमा स्वर दिएका छन्। यसका लागि दुइ लाख पारिश्रमिक लिएको उनले बताए। उनीसँग एक गीतमा भोजपुरी गायिका कल्पनाले पनि साथ दिनेछन्।
लोक,आधुनिक र पार्श्व गायनमा उत्तिकै सफल गायक राई यतिबेला गायन करियरको शिखरमा छन्। चाँडै नै एक साथ तीन एल्वम सार्वजनिक गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउने ध्याउन्नमा रहेका राई स्टेजमा पनि सबैभन्दा रुचाईएका गायक हुन्। आफ्नो भोजपुरी गीतको यात्राले बाँकीका लागि पनि बाटो खुल्ने र नेपालीहरुको गायन करियर बिस्तार हुने उनको अपेक्षा छ।