कृष्णराज लाओती, आम्भु जेठा / एचकेनेपाल डट कम –
हङकङ ११, नोभेम्वर। राष्ट्रिय विभूति मुहिगुम अंसिमाङ महागुरु फाल्गुन लिङदेनको १२९ औं जन्मजयन्ती समारोह हङकङमा पनि सम्पन्न भएको छ। विक्रम संवत अनुसार कार्तिक २५ गते मनाइने उक्त दिवस नेपाल लगायत संसार भरिका किरात धर्मवलम्बीहरुले एकै दिन मनाएका हुन्। किरात धर्म तथा साहित्य उत्थान संघ हङकङले आफ्नै माङहिमबाट सोमवार विहान उद्घाटन समारोह सुरु गरि दिउंसो याउ मा तेइ कमिन्यूटी हलमा समारोह सम्पन्न गरेको थियो। समारोहमा नेपालबाट आएका कलाकारहरु खगेन्द्र यक्सो, देशु सुहाङ, लक्षमण हुक्पा चोङवाङ, विष्णु चेम्जोङ, समिर सिङगक र सिर्जना पन्दाकले आ–आफ्नो गीत गाएर समारोमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएका थिए।
राष्ट्रिय विभूति मुहिगुम अंसिमाङ महागुरु फाल्गुन लिङदेन वावु जगनबाज लिङदेन र आमा हंसमति लिङदेनको कोखबाट साइला छोराको रुपमा बि. स. १९४२ साल कार्तिक २५ गते आइतबार दिन मेची अञ्चल इलाम जिल्ला ईभाङ गाबिस वडा न. ५ चुक्चिनाम्बामा जन्मनु भएका मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दले किरात समाजमा ब्याप्त कुरिति, कुसंस्कार, बिकृति र बिसंगतिका बिरुद्ध आफ्नो सम्पूर्ण जीवन अर्पण गर्नुभएको थियो। किरात धर्म दर्शनदाता तथा महान समाज सुधारक मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दले किरात समाजमा देखिएको कुरीति, कुसंस्कार, बिकृति र बिसंगतिलाई हटाउन पान्थरको चोक्मागु गा. बि. स. वडा न. ३ स्थित लोब्रेकुटिमा बि. स. १९८८ साल बैशाक २४ गतेका दिन १० लिम्बुवान १७ थुममा वसोवास गर्ने सबै गन्यमान्य, बुद्धिजीबी, समाजसेवी, सुब्बा, कारवारी तालुकदार आदिको सहभागितामा एक बृृहत ऐतिहासिक चुम्लुङको आयोजना गरि १० बुंदे सत्य धर्म मुचुल्का तयार पार्नु भएको थियो। पाँच दिनसम्म वसेको ऐतिहासिक चुम्लुङको मुचुल्कामा किरातीहरुको “आफ्नो भाषा धर्म संस्कृति मिल्दो जुल्दो हुनु पर्छ; जन्म सुतक, मृत्यु सुतक वार्नु; रीति रिवाज सुधार्नु पर्छ; छोरी चेलिको मोल सोतक नलिनु, नखानु; चोरी, छलकपट, झै–झगडा नगर्नु, सधै सत्य वोल्नु; शुभ कार्यमा मात्र च्याभ्रुङ (ढोल) नाच्नु; कार्य गर्दा जाँड–रक्सि मासु मंसको चलन छोड्नु; अर्काको घर विगार्नु पाप हो” छोरा र छोरीलाई वरावरि पढाउनु पर्छ; जस्ता वुंदागत रुपमा १० वटा सत्य धर्म मुचुल्का तयार पार्नु भएको थियो। त्यहि सत्य धर्म मुचुल्कालगायत उहाँको सत्यवादी कुराहरुलाई लिएर उहाँलाई सत्यहाङमा पनि भन्ने गरिन्छ। महागुरु फाल्गुन लिङदेनको १२९ औं जन्मजयन्ती समारोहमा किरात धर्म तथा साहित्य उत्थान संघ हङकङको अध्यक्ष मोहनमान नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो। किरात धार्मिक विधिवाट सुरु गरिएको कार्यक्रम सचिव इन्द्र लक्समले संचालन गरेका थिए। किरात याक्थुङ चुम्लुङ हङकङको तेश्रो स्वर्णिम साँझमा आएका सवै कलाकारहरु विशेष अतिथिका रुपमा रहेका थिए। कार्यक्रमको प्रमुख अतिथि तुलकहाङ तुम्सा रहेको कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफङवा, एनेकपामाओवदी हङकङका जिल्ला सचिव जे. वी. ओख्राबु, पत्रकार कृष्ण राज लावती, चलचित्र निर्देशक मौसम इम्बुङलगायत डेढ दर्जन संघसस्थाको अध्यक्ष तथा प्रतिनिहरुले आ–आफ्नो मन्तब्य राखेका थिए।
फोटो: कृष्णराज लावती
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b