एचकेनेपाल डट कम संवाददाता –
नेपाली कांग्रेस निर्वाचन कोष निर्माण समिति अमेरिकाले आगामी दश दिनभित्र अमेरिकाभरि छरिएर रहेका नेपाली कांग्रेसका सबै सदस्य एवं शुभेच्छुकहरुबाट आर्थिक संकलन गर्ने भएको छ। आइतवार साँझ समितिका संयोजक खगेन्द्र जीसीको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको समितिका सञ्चार एवं प्रशासकीय संयोजक गौतम दाहालले जनाएका छन्। बैठकले यसअघि नेपाली जनसम्पर्क समितिको च्याप्टर गठन भैसकेका राज्य तथा शहरमा सम्बन्धित च्याप्टरका सभापतिहरुलाई नै आर्थिक संकलन गर्ने जिम्मेवारी सुम्पिएको छ। च्याप्टरका सभापतिहरुलाई नेपाली कांग्रेसको बैंक खातामा सिधै रकम जम्मा गरी त्यसको विवरण समितिलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ। हाल अमेरिकामा जनसम्पर्क समितिका १६ भन्दा बढी च्याप्टर क्रियाशील छन्। च्याप्टर गठन नभएका राज्य तथा सहरका कांग्रेस शुभेच्छुकहरुका लागि समितिका संयोजक जीसीको नाममा रकम संकलन गर्ने निर्णय पनि आइतवारको बैठकले गरेको छ। बैठकमा जीसीले सबै कांग्रेस शुभेच्छुकहरुलाई आर्थिक संकलन गर्ने कार्यमा सक्रिय सहभागी भईदिन आग्रह गर्नु भएको थियो। उहाँले अमेरिकाबाट उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै यथाशक्य बढी सहयोग गर्न पनि आग्रह गर्नु भएको छ। आगामी संविधान सभाको निर्वाचनबाट संविधान निर्माण गर्ने अभिभारा पूरा गर्न र प्रवासमा रहेका गैर आवासीय नेपालीहरुको दोहोरो नागरिकताको मागलाई संविधानमा सुनिश्चित गर्न पनि कांग्रेसलाई सहयोग गर्नुपर्ने जीसीको भनाइ थियो। दोहोरो नागरिकताको सुरक्षा गर्नुस्,नेपाली कांग्रेसलाई सहयोग गर्नुस् जीसीले भन्नुभयो। सहयोग संकलनका लागि सम्बन्धित सबै च्याप्टरहरुलाई पत्राचार समेत गरिईसकेको छ। कांग्रेसले अमेरिका,क्यानडा, अष्ट्रेलिया, जापान, कोरिया, हङकङ, यूरोप लगायतका विदेशस्थित जनसम्पर्क समितिमार्फत प्रत्येक सदस्यहरुवाट न्यूनतम ५० डलर, आफ्नो छुट्टै पेशा वा व्यवसायमा रहेका सक्षम साथीहरुवाट न्यूनतम १०० डलर, उच्च आय एवं सफल व्यवसाय भएका साथीहरुसँग न्यूनतम ५०० डलर उठाई रकम पार्टीको खातामा संकलन गर्ने निर्णय गरेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस