सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
खुट्टाले लेखेकै कारण धनकुटाकी झमक घिमिरेको सर्वत्र चर्चा भयो । उनी अहिले पनि चर्चाको शिखरमा छिन् तर यस्तै प्रतिभाकी धनी सुनसरीकी एक युवतीको प्रतिभा भने डायरीमै सीमित हुन पुगेको छ।
धनकुटाकी झमक घिमिरे खुट्टाले लेखेर मदन पुरस्कार जित्न सफल भइन् उनको प्रतिभाको अहिले सर्वत्र चर्चा छ। यस्तै प्रतिभाकी धनी सुनसरी जिल्लाको पाँच कन्या गाविसमा जन्मिएकी एक युवतीले तीन दर्जन भन्दा बढी कथा, कविता र गजल खुट्टाले कोरेकी छन। तर प्रचारप्रसार र मौकाको अभावमा उनका सिर्जना डायरीमै सीमित छन्।
धरान सहकर्मी सन्तोष काफ्लेले तयार पारेको एक रिपोर्टः सुविधा सम्पन्न शहरको रुपमा विकसित धरान नगरपालिकाबाट करीव १२ किलोमिटर उत्तरमा रहेको विकट गाउं विकास समितिको वडा नं. ८ गैरी गाउमा २२ बर्षअगाडि जन्मिएकी लक्ष्मी राईले तीन बर्षको अवधिमा तीन दर्जन कविता, कथा र गजल खुट्टाले लेखेर आफूलाई दोस्रो झमककुमारी सावित गरेकी छन्। प्रतिभा हुंदाहुंदै पनि कसैको ध्यान त्यसतर्फ पुग्न सकेको छैन।
हेर्नुहोस् भिडियोः Laxmi Rai- who writes with her foot
उनको सिर्जना हेर्दा सवालंगले हातले लेखेको भन्दा राम्रा छन्। एक बर्ष हुदा उनी विरामीले थलिइन्, त्यसबेलादेखि उनीको पक्षघात भयो र शारीरिक अपांगता भइन्। उनको दुवै हात चल्दैनन्, उनी हरेक काम खुट्टाको माध्यमबाट गर्छिन्। खुट्टाको माध्यमबाट सिर्जना कोर्नु त छँदैछ, साथीभाई, इष्टभित्रसंग कुरा गर्दा मोवाइलबाट गर्ने गर्छिन्। खुट्टाद्वारा मोवाइल चलाउदा कुनै असजिले महसुस नहुने बताउछिन्।
शुरुमा लक्ष्मीले आफूलाई स्थापित गर्न धेरै संर्घष गर्नुपर्यो । गाउ घरका छरछिमेकीले केही गर्न सक्दैन, काम नलाग्ने भइ भन्ने गरेको आफ्नो सुनेबाट आफूपनि केही गरेर देखाउछु भन्ने साहस बटुली घर छेउमा सञ्चालन भएको तीन बर्षे कार्यक्रम अन्तर्गतको अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा लक्ष्मी पढ्न थालिन्। शारीरिक अपांगताकै कारण हिडडुल गर्न नसक्ने लक्ष्मीलाई घर नजिक यस्तो किसिमको कार्यक्रम सञ्चालन गर्दा ढुंगा खोज्दा देउता मिले झै महसुस भएको उनी सुनाउछिन्।
लक्ष्मीको साहसलाई देखेर उनका परिवारले पनि भरपुर सहयोग गरे । त्यसैको फल होला तीन बर्षको अनौपचारिक शिक्षाले उनलाई साहित्यकारसम्म पुर्यो। उनी मानिसले दृढसंकल्पका साथ लागि परे गर्न नसकेको काम केही नभएको बताउछिन्। असम्भवलाई पनि सम्भव बनाउन सकिने उनको भनाई छ।
उनले अनौपचारिक शिक्षा पढ्नुभन्दा पहिले आफ्नी बहिनी सरस्वतीले कखरा चिनाइएकी थिइन्। त्यही बेला अर्थात ०६२ सालमा ‘यो आँखाबाट आँशु बग्दा’ भन्ने शीर्षकमा कविता लेखेर सबैलाई चकित पारेकी थिइन्। तीन बर्षको अनौपचारिक शिक्षा पूरा गरिसकेकी उनले ‘छोडी जानेलाई (गीत)’ दुइ दिने जिन्दगीमा गर्नु छ यहाँ धेरै (गीत), रुप हेर्दा गाउँकी हो जस्तो लाग्छ, बोली सुन्दा सहरी जस्तो लाग्छ (लोकगीत) लगायत दर्जनौ कथा कविता गीतहरु रचना गरिसकेकी छन्।
अनौपचारिक शिक्षाको कक्षा समाप्त भएपति उनलाई पढ्न मन लागेको छ र प्रतिष्ठित साहित्यकार हुन धेरै इच्छा रहे पनि उनको इच्छालाई कदर गर्ने कोही भएन। उनका पिता वीरबहादुर राईले पनि उनलाई भरपुर सहयोग गर्ने गरेका छन्। उनी विगत ८ बर्षदेखि बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भान्सा घरमा कर्मचारीको रुपमा काम गर्ने गर्दछन्। गरिब परिवार दुई छाक जोहो गर्न कठिन भइरहेको समयमा बाबुले वीपी क्याम्पमा जागिर पाउदा लक्ष्मीको इच्छालाई पूरा गर्न केही मद्धत पुगेको उनकी बहिनी सरस्वती राईले बताइन्। उनी भन्छन् बाबुको इच्छा सबै परिवारलाई पढाउने भए पनि शारीरिक अपांगताकै कारण लक्ष्मीलाई पठाउन कठिन भएको बताउछिन्। उनले अवसर पाएमा र कसैले सहयोग गरेमा लक्ष्मीको प्रतिभा अरु भन्दा कम नभएको समेत बताउछिन्।
उनकी दुई आमामध्ये आफ्नी आमा सपनम राईको स्वार्गरोहरण भए पनि कान्छी आमा शान्ति राईले उनलाई आमाको अभाव कहिल्यै हुन दिइनन्।
अनौपचारिक प्राथमिक शिक्षाका सुपरिवेक्षक इश्वर सापकोटाले विलक्षण प्रतिभाकी धनी भए पनि गाउंमा भएकै कारणले सरकार र संबन्धित निकायले वेवास्ता गरेको बताए। उनले यदि अरु प्रतिभाजस्तै केही गर्ने मौका पाए राष्ट्र स्तरको साहित्यकार हुने आफूले पाएको बताए। सापकोटाका अनुसार अनौपचरिक शिक्षामा अध्ययनरत २४ जना विद्यार्थीमध्ये सबै भन्दा उत्कृष्ट छात्राको रुपमा लक्ष्मी रहेकी थिइन्।
लक्ष्मीले लेखेका गीतहरु कुनै कलाकारले स्वर दिने हो भने अरुको भन्दा कम नहुने उनको भनाई छ। स्थानीयहरुको समेत उनले कोरेको साहित्यलाई कसैले प्रकाशित गरिदियोस् भन्ने चाहना छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस