तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
गतहप्ता कतारको मानवअधिकार संस्था र एनआरएनए एनसीसीका प्रतिनिधीहरुको संयुक्त पत्रकार सम्मेलनमा एनआरएनएका प्रतिनिधी र राजदूतावासका प्रतिनिधिहरुले विभिन्न मिडीयामार्फत आएको समाचारको खण्डन गर्दै कतारमा नेपालीहरुको शोषण भएको छैन भन्दै कतारमा कार्यरत नेपाली कामदारहरुको समस्यालाई ओझेलमा पार्ने दुष्प्रयास गरेकाछन्।

कतारमा कार्यरत नेपाली कामदारहरुको अनेक समस्याहरुलाई सम्बन्धित ठाँउसम्म पुर्याएर न्युनिकरण गर्नका लागि कतार सरकार समक्ष, मानवअधिकारवादीहरुका समक्ष पहल गरिदिनुपर्ने, बोलिदिनुपर्ने वेलामा नेपाली कामदारहरु सम्मानित र सुरक्षित रहेको भन्ने अभिव्यक्ति उनीहरुले दिएका थिए।

नेपालीहरुलाई कतार सरकारले रोजगारीको लागि इजाजत दिएर सम्मान गरेको कुरा र उनीहरुका व्यवस्थित रोजीरोटी र सुरक्षित आप्रवासको लागि कतार सरकारले सहयोग पनि पुरयाइरहेको छ। नेपाली कामदारहरु विभिन्न समस्यामा परिरहेकोले नै राजदूतावास स्वयंले पनि नेपालीहरुको समस्याको वारेमा कतार सरकारको सम्बन्धित निकायलाई जानकारी दिदै समस्या समाधानको लागि समन्वय र सहयोगको आग्रह गर्दै आइरहेको छ। विभिन्न संघसस्थाहरुले पनि पीडित नेपाली कामदारहरको समस्या राजदूतावासमा पुरयाउदै आइरहेकाछन्। हृदयघातबाट, सडक दुर्घटनाबाट, मानसिक तनावका कारणले कतारमा नेपाली कामदारहरुको मृत्यु हुने दर निकै बढी छ।

कतार सरकार नेपाली कामदारहरुको सुरक्षित आप्रवास तथा व्यवस्थित रोजीरोटीको लागि अत्यन्त सकारात्मक रहेपनि कतारमा रोजगारी दिने नेपाली रोजगारदाता लगायत अन्य विभिन्न कम्पनीहरुबाट नेपाली कामदारहरुमाथि अनेक समस्या र अन्यायहरु थोपरिएकाछन्। समयसमयमा नेपाली रोजगारदाता लगायत अन्य कम्पनीहरुद्धारा समेत नेपाली कामदारहरुलाई समस्यामा पार्ने, विचल्ली पार्ने काम भइरहेको कुरा एनआरएनए र स्वयम् नेपाली राजदूतावासलाई राम्रो हेक्का रहेको भएपनि सम्बन्धित निकायसंग नेपालीहरुको समस्या लुकाएर उनीहरुले के गर्न चाहेका हुन् सो अहिले नेपाली समुदायको विचमा व्यापक चर्चाको विषय भएको जनाइएको छ।

तलव महिनौसम्म नपाउनु, समय पुगेर अथवा विचमा घरमा अपर्झट जानुपर्ने भएपनि घरजान नपाउनु, भिषा नलगाइनु, भिषा नविकरण नगरिनु, औषधी उपचारको व्यवस्था नगरिनु, अत्यन्त जोखिमयुक्त काममा लगाइनु, एउटा काम भनेर अर्कै काममा लगाइनु, जोखिमयुक्त तरिकाले क्याम्पहरुमा राखिइनु, मानसिक तनाव दिइनु, वेलाबखत कुटिइनु, पिटिइनु जस्ता अनेक समस्या, अन्याय र तनावमा नेपाली श्रमिकहरु कतारमा काम गरिरहेकाछन्। रोजगारदाता कम्पनीहरुबाट भइरहेको यो तितो यथार्थको जानकारी कतार सरकार, मानवअधिकार सम्बद्ध समक्ष राखेर समस्या न्युनिकरण गर्नेतर्फ पहल गरिनुपर्छ र सहयोग, समन्वयको लागि अनुरोध गरिनु पर्दछ तर यथार्थ कुरालाई लुकाएर झुठो जानकारी बाहिर दिनु न्यायसंगत नभएको समेत जनाइएको छ।

यसै विचमा नेपाली श्रमिकहरुका पक्षमा पछिल्लो समयमा नेपाली कामदारहरुको समस्याको चापलाई न्युनिकरण गर्दै समस्या समाधानार्थ निकै प्रशसनिय कामहरु गर्दै आएका राजदूत डा. मायाकुमारी शर्मालाई नेपाल सरकारले अप्रत्याशित रुपमा पदमुक्त गर्ने निर्णय गरेपछि कतारमा कल्पनै गर्न नसकिने गरी नेपाली कामदारहरु सम्मानित र सुरक्षित छन् भनेर एनआरएनए एनसीसी र राजदूतावासले नेपालीहरुका अनेक समस्यालाई ढाकछोप गर्ने प्रयास गरेका हुन्।

स्मरणरहोस् केही समय अघिमात्र एनआरएनए स्वयंले पहल गरेको मानव अधिकारवादीहरुसंगकोे एउटा अन्तकृयात्मक भेटघाटमा एनआरएनए एनसीसी कतार स्वयंले नेपालीहरु वैदेशिक रोजगारको सिलसिलामा विभिन्न तरिकाबाट कतारमा समस्यामा छन् भनेर बुदागत रुपमा जानकारी राखेको थियो अझ समस्यामा परेको एकजना नेपाली कामदारसमेतलाई पनि दसीप्रमाणका रुपमा उक्त भेटघाटमा बोलाइएको थियो । केहीसमय अगाडि नेपाली कामदारहरुमाथि अन्याय पक्कै छ, अनेक समस्याहरु छन् र समस्याको निराकरण र न्युनिकरण कसरी गर्न सकिन्छ भनेर नेपाली कामदारहरुको वारेमा अन्तकृया गर्ने गराउने तिनै संस्थाले फेरी नेपालीहरुमाथि अन्याय भएको छैन, समस्या छैन भनेर भन्दैगर्दा एनआरएनए एनसीसीले नेपाली श्रमिकहरुको हकहितको लागि केही पनि नबोल्ने र नगर्ने तर आफ्नो सुविधा र परिस्थितिमा दहीचिउरे प्रवृति देखाउन खोजेको जनाइएको छ।

दैनिक जसो दूतावासमा नेपाली कामदारहरु आफ्नो समस्या बोकेर धाइरहेका छन्, तर राजदूतावासले समेत नेपालीहरु कतारमा सम्मानित छन्, नेपालीहरुमाथि अन्याय छैन भन्ने जानकारी वाहिर सम्प्रेषण गर्नुको पछाडि डा. माया कुमारी शर्माले गर्न खोजेका कार्यहरुलाई ओझेलमा पार्ने प्रयास गरिएको जनाइएको छ भने डा. शर्माको पछिल्लो समयका राम्रा कार्यहरुको कारण इर्ष्यालु बनेका केही तत्वहरुलाई खुशी पार्ने, नेपाल र कतार दुई मुलुकका विच विद्यमान सुमधुर रही आएको सम्बन्धलाई खलल पार्ने र नेपालीहरुको समस्यालाई लुकाएर कम्पनी मालिकहरुको भक्तिभाव र चाकडी गर्न चाहेको उनीहरुको सो अभिव्यक्तिबाट प्रष्ट भएको जनाइएको छ।

यसअघि, डा.शर्माद्धारा नेपाली कामदारहरुको हितमा गर्न खोजिएका कार्यहरु, समस्या समाधानार्थ चालिएका सकारात्मक कदमहरु राजदूतावासले गर्ने कुरामा समेत प्रश्नचिन्ह खडा गरेको जनाइएको छ भने वर्तमान एनआरएनएको व्यवसायिक नेतृत्वले व्यवसायिक स्वार्थपूर्तिका लागि श्रमिकह्ररुको मुद्धा र समस्यालाई ओझेलमा पारेर आफ्नो स्वार्थ पुरा गर्ने मनसाय रहेको प्रष्ट देखिएको आमपीडित नेपाली कामदारहरुले समेत व्यक्त गर्न थालेकाछन्।

डा. शर्मालाई नेपाल फिर्ता बोलाउने निर्णय एउटा राजनीतिक षडयन्त्र र स्वार्थ लिप्साको लागिमात्र रहेको भन्ने पछिल्लो चरणमा कतारमा रहेका नेपाली समुदायको आम बुझाईरहेको समेत पाइएको छ। डा.शर्मालाई लगाइएको श्रमिकमैत्री नभएको, दुईदेशका विचको सम्बन्धमा असर पर्ने, तथा विगतमा दिएका अभिव्यक्ति गलत भएको भन्ने आरोपहरु कुनैपनि सत्यतथ्यमा आधारित नभएको तर व्यक्तिगत पूर्वाग्रहका आधारमा मिडीयाले अनर्गल प्रचारबाजी गराई आधारहिन कुरालाई बढाईचढाई गरेको समेत जनाइएको छ।

डा.शर्माले दुई मुलुकको विचको प्रगाढ सम्बन्धलाई अझ सुमधुर बनाएकोे, श्रमिकहरुको हकहितका लागि निष्ठापूर्वक पहल गर्दै आएको समेत जनाइएको छ। तर पत्रिकाले बढाईचढाई गरेको आधारमा एमाओवादी पार्टी स्वयं पनि भ्रममा परि राजदूत फिर्ता गर्ने निर्णय गर्नु दिर्घकालीन रुपमा पार्टीका लागि समेत अहितकर हुनसक्ने समेत नेपाली समुदायले जनाइएका छन्।

यो पनि हेर्नुहोस्
कतारमा दिनदिनै मर्दैछन् नेपालीसहितका कामदारहरु
जहाँबाट ऋण तिर्ने पैसा होइन, छोराको शव आइपुग्छ…

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस