Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेसाद्वारा प्रधानमन्त्री क्यामरुन र क्लेगको ध्यानाकर्षण

धर्मराज अधिकारी/ एचकेनेपाफ डट कम-
बेलायत । नेपाल भूतपूर्व सैनिक संघ (नेसा) युकेले ब्रिटिश गोर्खाहरुको समस्या समाधान गर्न प्रधानमन्त्री डेभिड क्यामरुन र उपप्रधानमन्त्री निक क्लेगको ध्यानाकर्षण गराएको छ।

‘डेभलोम्याटिक वे’ मार्फत मात्रै गोर्खालीहरुको समस्या समाधान हुने अपेक्षा गर्दै आएको नेसाले बेलायती सरकार सामु पहिलो पटक गोर्खा समस्या समाधानको लागि पहल गरेको हो।

शुक्रबार फोक्स्टनस्थित कन्जरभेटिभ पार्टी कार्यालयमा पुगेको नेसा टोलीले सांसद डामिन कोलिन्स मार्फत क्यामरुन र क्लेगलाई पत्र पठाएको हो।

पत्र हस्तान्तरण गर्दै नेसा युकेका अध्यक्ष केश बहादुर गुरुङले गोर्खाहरुलाई सडकमा उत्रने वातावरण नबनाउन आग्रह गरेका थिए। पत्रको सकारात्मक जवाफ आउने आशा गर्दै अध्यक्ष गुरुङले गोर्खाहरुको समान पेन्सन, गोर्खा भर्ती कटौती, १८ बर्षपुरा भएकाहरुको समस्या लगायतका बारेमा अवगत गराइएको बताए।

एक दर्जन बढि गोर्खाहरुको सहभागितामा पत्र बुझ्दै सांसद कोलिन्सले प्रधानमन्त्री क्यामरुन र उपप्रधानमन्त्री क्लेगलाई गोर्खा समस्याका बारेमा जानकारी गराउने आश्वासन दिए। उनले समान पेन्सन र गोर्खा भर्ति बन्द गर्ने विषयमा सरकारको ध्यानाकषंण गराउने समेत जानकारी गराए। सो अवसरमा सांसद कोलिन्सले सेवामा रहेका गोर्खाहरुलाई सेवानिबृत्त हुंदा सरकारले बेलायती पासपोर्ट दिनसक्ने संकेत गरेका थिए। उनले यो विषय छलफलको क्रममा रहेको समेत बताए।

यसैबीच, गोर्खा आन्दोलनका अगुवा पिटर क्यारोलले आन्दोलनरत गोर्खाहरुलाई एकमत हुन आग्रह गरेका छन्। शुक्रबार फोक्स्टनस्थित आफ्नै निवासमा नेसा युकेका प्रतिनिधिहरुसंग कुरा गर्दै क्यारोलले ठाउं ठाउंमा आगो फुक्नुको सट्टा एकै ठाउंमा आगो दन्काउन सुझाए। झुण्ड झुण्ड रुपमा गरेको आन्दोलनले खासै सफलता हासिल गर्न कठिन हुने बताउंदै उनले आन्दोलनलाई एक भएर अघि बढाउन आग्रह गरे। माग सम्बोधन गराउनमात्र भएपनि गोर्खाहरु एक हुनुपर्ने उनको भनाई थियो।

युनाइटेड ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (युबिजीइए)ले शुरु गरेको अनलाइन हस्ताक्षर अभियान सान्दर्भिक भएको तर्क गर्दै क्यारोलले सबै मिलेर त्यसलाई पुरा गर्न सुझाव दिएका थिए।

दुबै भेटमा अध्यक्ष गुरुङ उपाध्यक्षद्वय भोज प्रसाद गुरुङ र भिम राई, महासचिव दिल जीसी, सहसचिव तेज राई, सल्लाहकारद्वय धन गुरुङ र तर्कजंग गुरुङ, एवं सदस्यहरु कृष्ण आले, भक्त गुरुङ, सन्त गुरुङ, विष्णु आले लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजन फोक्स्टनका पूर्व काउन्सिलर एवं नेसा युकेका सल्लाहकार धन गुरुङले गरेका थिए। नेपाल भूतपूर्व सैनिक संघ नेपालको बेलायत शाखा नेसा युके बेलायत सुहाउंदो ‘ब्रिटिश गोर्खा नेपाल भूतपूर्व सैनिक संघ’ नामाकरण गर्ने प्रकृयामा रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by