एचकेनेपाल डट कम संवाददाता-
न्यूयोर्क, अमेरिका १९ सेप्टेम्वर। नेपाली जनसम्पर्क समिति अमेरिकाका पाँच केन्द्रीय सदस्यहरुले राजीनामा दिएका छन्। सोही समितिका संयोजक विष्णु सुवेदी अमेरिकाको केन्द्रीय अधिवेशन गराउन अग्रसर नभएको,पार्टीले सुम्पिएको जिम्मेवारी र दिएको निर्देशन विपरित स्वेच्छाचारी र निरङ्कुश ढंगले अघि बढेको, यस अघि गठित सबै च्याप्टर भंग गर्न लागेको र संयोजक सुवेदी सहित तयारी समितिमा रहेका अधिकांश सदस्यहरु जनसम्पर्क समितिको साधारण र क्रियाशील सदस्य समेत नरहेको भन्दै २१ सदस्यीय समितिका पाँच सदस्यले सामूहिक राजीनामा दिएका हुन्। यस अघि सोही समितिका सल्लाहकार डाक्टर सुरेन्द्रराज देवकोटाले राजीनामा दिइसकेका छन्। अहिले राजीनामा दिने समितिका प्रभावशाली केन्द्रीय सदस्यहरुमा धनञ्जयनरसिंह केसी, गौतम दाहाल,विनोद भट्ट, विमल मोक्तान र विकास विष्ट रहेका छन्। राजीनामाको पूर्ण व्यहोरा पढ्नुहोस्:

प्रेस विज्ञप्ति

मितिः सेप्टेम्वर १९,२०१३

आदरणीय सुशील कोइरालाज्यू,
सभापति,नेपाली काँग्रेस
सानेपा,ललितपुर ।

विषयः राजीनामा सम्बन्धमा ।

आदरणीय सभापतिज्यू,

नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समन्वय विभाग प्रमुख अर्जुनप्रसाद जोशीले गत जेष्ठ १७,२०७० तद्अनुसार मे ३१,२०१३ को मितिमा यस नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन सम्बन्धी सम्पूर्ण काम कारवाही अगाडि बढाउन भन्दै हामी तपसिल बमोजिमका व्यक्तिहरुलाई समेत सदस्यमा मनोनयन गरी विष्णु सुवेदीको संयोजकत्वमा २१ सदस्यीय अधिवेशन तयारी समिति गठन गरी जिम्मेवारी दिएको बारे यहाँ पनि अवगतै हुनुहुन्छ । समितिलाई पार्टीले दिएको जिम्मेवारीमा अधिवेशनको प्रक्रिया अघि बढाउन समितिका पूर्व अध्यक्ष,काँग्रेसका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधिहरु र च्याप्टरका सभापतिसहित सबै पक्षसँग परामर्श र समन्वय गरी यथाशक्य छिटो मिति तोकी अधिवेशन सम्पन्न गर्न प्रष्ट निर्देशन भएको थियो । तर समिति गठनको चार महिना पुरा हुँदा समेत अधिवेशन सम्बन्धी कुनै प्रक्रिया अघि बढेको छैन । स्वयं सभापतिज्यू स्वास्थ्य परीक्षणका लागि जुन महिनाको अन्तिम साता अमेरिकामा रहनु हुँदा सभापतिज्यू आफैंले तीन महिनाभित्र अमेरिकाको अधिवेशन गर्न पटकपटक प्रष्ट निर्देशन दिनु भएको र हामी तपसिलका सदस्यहरुलाई पनि अधिवेशनका लागि सहयोग गर्न निर्देशन दिनुभएको हो । सभापतिज्यूको निर्देशनलाई शिरोधार्य गर्दै हामीले औपचारिक बैठक र अनौपचारिक रुपमा पनि संयोजक सुवेदीलाई अधिवेशन प्रक्रिया तत्काल अघि बढाउन पटकपटक आग्रह गर्दै आयौं । तर संयोजकको जिम्मेवारी पाएका मूख्य व्यक्ति नै अधिवेशनका लागि अग्रसर नभईरहेको यथार्थ हामी सभापतिज्यूलाई अवगत गराउन चाहन्छौं।

आदरणीय सभापतिज्यू,

हाल गठित समितिको एकमात्र दायित्व भनेको तत्काल अधिवेशनको मिति तोकेर अधिवेशन सम्पन्न गर्नु नै हो भन्ने हाम्रो बुझाई छ । सभापतिज्यू स्वयंले दिनुभएको तीन महिनाको अवधि पनि त्यत्तिकै गुज्रियो । सभापतिज्यूको निर्देशनलाई समेत बेवास्ता गर्दै अधिवेशन प्रक्रियाका बारे संयोजक विष्णु सुवेदीबाट कुनै पहल भईरहेको छैन।

नेपाली जनसम्पर्क समिति अमेरिकाको साधारण एवं क्रियाशील सदस्य समेत नरहेका व्यक्तिलाई नेतृत्व सुम्पिएका कारण आज फेरि एकता भन्दा पनि विभाजनलाई बल पुर्याउने काम संयोजक सुवेदीबाट भईरहेको छ । एकापसमा सहमति र समझदारी कायम गर्दै अधिवेशन उन्मुख हुनुपर्नेमा वर्तमान नेतृत्व विभाजनको दूरी अझ बढाउँदैछ र पार्टीले दिएको जिम्मेवारी भन्दा बाहिर गएर स्थानीय च्याप्टर भंग गर्न अघि बढेको छ । यस अघि तत्कालीन संयोजक खगेन्द्र जीसीको कार्यकालमा गठित च्याप्टरका संरचना भत्काउने,नयाँ नेतृत्व चयन गर्ने र सहमति र एकतालाई बल नपुग्ने निरङ्कुश र स्वेच्छाचारी शैली अवलम्बन गर्दै सुवेदी एकाधिकारवादी ढंगबाट अघि बढिरहेका छन्।

हालसम्म स्वयं सभापतिज्यूको निर्देशन समेत बेवास्ता गर्दै हिंड्ने सुवेदी नेतृत्वबाट अमेरिकाको जनसम्पर्क समितिको अधिवेशन हुन नसक्ने यथार्थ अवगत गराउँदै हामी तपसिल बमोजिमका सदस्यहरु आजैका मितिदेखि लागू हुने गरी सभापतिज्यू समक्ष यो राजीनामा पेश गर्दछौं । तसर्थ पार्टीले तत्काल हस्तक्षेप गरी समितिको साधारण सदस्य समेत नरहेका संयोजक सुवेदी नेतृत्वको समिति भंग गरी नयाँ समितिलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नेगरी जिम्मेवारी दिनु हुन सभापतिज्यूसमक्ष आग्रह गर्दछौं।

धन्यवाद,
जय नेपाल।
भवदीय,

नेपाली जनसम्पर्क समिति,अमेरिका अधिवेशन तयारी समितिका सदस्यहरु

तपसिल
१. धनञ्जयनरसिंह केसी, क्यालिफोर्निया
२. गौतम दाहाल,बाल्टिमोर
३. विनोद भट्ट, क्यालिफोर्निया
४. विमल मोक्तान,पेन्सिलभेनिया
५ . विकास विष्ट,न्यूयोर्क
jnamerica@gmail.com

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस