धर्मराज अधिकारी / एचकेनेपाल डट कम
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) आइसीसीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष रिटायर्ड क्याप्टेन हितमान गुरुङ (बिइएम)ले चुनावी अभियानलाई तिब्र बनाएका छन्। आगामी अक्टोबर १९ देखि २२ सम्म काठमाडौंमा हुने निर्वाचनमा आफूलाई बलियोे उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएका गुरुङले चुनावी भेटघाटलाई पनि तिव्रता दिएका छन्।
आफू पूर्ण रुपमा चुनावी क्याम्पियनमा होमिएको खुलासा गर्दै गुरुङले केही समय विभिन्न देशहरुमा चलिरहेको एनसीसीहरुको चुनावका कारण चुप लागेको र अब सशक्त रुपमा लाग्ने बताए। म केही समय एनसीसीहरुको निर्वाचनले गर्दा निश्क्रिय जस्तो देखिएको हो, गुरुङले भने, ‘अब मेरो उम्मेदवारीलाई अझै सशक्त रुपमा लैजान्छु।’ यसअघि, एनआरएनए युकेका पदाधिकारीहरुमाझ फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा पत्रकार सम्मेलन गरेयता गुरुङले धेरै देशहरुमा रहेका एनसीसीहरुसंग आफ्नो उम्मेदवारीलाई लिएर छलफल चलाईसकेका छन्। गैरआवासीय नेपाली संघमा स्थापना कालदेखि अनवरत रुपमा लागिपरेका गुरुङ युरोप संयोजक हुंदै उपाध्यक्षमा पुगेका थिए। उनी यसअघि भएको सम्मेलनमा भारी मतले निर्वाचित उपाध्यक्ष हुन्। गैरआवासीय नेपालीसंगको परम्परालाई कायम राख्दै गुरुङ निर्विरोध अध्यक्ष हुने सम्भावना बढेको छ। एनआरएनए युकेका निवर्तमान आइसीसी सदस्य शंकर भण्डारीले गुरुङको उम्मेदवारीलाई एनआरएनए बेलायतले महत्वपूर्र्ण मुद्दाको रुपमा लिएको बताए। उनले गुरुङको उम्मेदवारीलाई पूर्ण साथ र समर्थन रहेको बताउंदै अनुभव, क्षमता र योगदानका हिसावले गुरुङ सबैभन्दा माथि रहेको जिकिर गरे। गैरआवासीय नेपाली संघको अध्यक्ष छान्ने पुरानै परम्परा कायम रहन्छ भन्नेमा हामी ढुक्क छौं, भण्डारीले भने, ‘परम्परालाई कायम राख्दै हितमान गुरुङ सर्वसम्मत अध्यक्ष हुने सम्भावना बढेर गएको छ।’

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस