सिर्जना नेपाली / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, विश्वका सम्पूर्ण नारी एक हौ भन्ने नाराका साथ प्रवासी महिलाहरुको साझा चौतारी माईग्रेन्ट वुमन फर वुमन दक्षिण कोरियाले १०२ औ अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा चियापान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अर्न्तराष्ट्रिय महिला दिवस मार्च ८ तारिख भएता पनि व्यस्तताका कारण आइतवार मनाएको हो।
सिओलको हुआम दोङ्गस्थित नेपाली राजदूतावासको सभाहलमा भएको उक्त कार्यक्रम माईग्रेन्ट वुमन फर वुमनका अध्यक्ष कोपिला राईको सभापतित्वमा नेपाली राजदूताबासका उपनियोग राजाराम बर्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा केही महिनाअघि देखि महिला संस्थालाई सहयोग गर्दे आएको सेखिल चर्चका प्रतिनिधी नोउनगीले नेपाली महिलाहरुलाई भईपरि आउने समस्यामा सक्दो सहयोग गर्ने बताउदै २ लाख वन हस्तान्तरण गरेका थिए।
कार्यक्रममा कोरियामा नेपाली महिलाहरुको समस्या,अवस्था,चुनौती र आपसी सहयोगको आवश्यकतालगायतका बिषयमा एनआरएन आईसीसी प्रतिनिधि डा. देवी बस्नेत, एनआरएन एनसिसिका अध्यक्ष केपी सिटौला, नेपाल व्यापार संघका अध्यक्ष मदन केसी, लोकतान्त्रिक मंचका संयोजक कृष्ण राई, नेपाली जनसम्पर्क समितिका अध्यक्ष गंगा थापा, नेपाली सम्पर्क समितिका कार्यवाहक अध्यक्ष शंकर बस्नेतले आ आफनो मन्तव्य राखेका थिए।
कार्यक्रममा साहित्यकार प्रगति राईले रुख नामक कविता प्रवचन गरेका थिए भने कुशला क्षेत्रीले सहभागीलाई नारीवादी गीत सुनाएका थिइन्। कार्यक्रमको संचालन माईग्रेन्ट वुमन फर वुमन सचिव बिमला श्रेष्ठले गरेकी थिइन्।