सन्तोष काफ्ले / एचकेनेपाल डट कम
धरान, २२ भदौ। धरानमा शुक्रबार भएको पूर्वाञ्चल व्यापी पूर्वाञ्चल तीजतारामा निर्णायकले सबैभन्दा कम अंक दिएको समूहलाई आयोजकले प्रथम बनाएपछि विवाद सुरु भएको छ।

प्रतियोगितामा तेस्रो भएका समूहले प्रतियोगितामा आर्थिक चलखेल भएको र निष्पक्ष नभएको भन्दै पुरस्कार वहिष्कार समेत गरेको छ। असन्तुष्ट समूहले आज धरानमा पत्रकार सम्मेलन गरि प्रतियोगितामा आर्थिक चलखेल भएको र निष्पक्ष नभएको भन्दै पत्रकार सम्मेलनसमेत गरे।

प्रतिभाको कदर गर्ने भन्दै आयोजना भएको तीज ताराले पैसा कमाउनको लागि मात्रै आयोजना भएको प्रतिस्पर्धी महिला समूहहरुको आरोप छ। पत्रकार सम्मेलनमा उनीहरुले प्रतिभा देखाउने अवसर भन्दै पैसा ब्रम्हलुट गर्ने यस्ता कार्यक्रमलाई प्रशासनले पूर्णप्रतिबन्ध लगाउनुपर्ने महिलाहरुले माग गरे। उनीहरुले पैसाको भरमा विजेता छानिएको भन्दै आफूहरुलाई यो निर्णय मान्य नभएको आरोप लगाएका हुन्। यस अघि पनि स्थानीय गरिमा डान्स सेन्टरसंगको सहकार्यमा गरेको गरेको स्वरमणी र नटराजमा पनि आर्थिक चलखेल प्रमाणित भएपछि आयोजकले रकम फिर्ता गरेको थियो। तीज कार्यक्रममा तडकभडक र धेरै खर्च नगर्न अख्तियारको निर्देशन दिएको भए पनि पूर्वाञ्चलका क्षेत्रिय प्रशासक शंकर प्रसाद अधिकारीलाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रमा आयोजक आर्थिक प्रलोभनमा परेको भन्दै सहभागीहरुले कार्यक्रम स्थलमै नाराबाजी गरेका थिए।

गत भदौ २ गतेदेखि अडिसन शुरुभएको सो प्रतिष्पर्धामा पूर्वञ्चलका ६८ समूहले भाग लिएका थिए भने शुक्रबार भएको फाइनल प्रतिष्पर्धामा ११ समूहले भाग लिएको थियो। कार्यक्रम स्थलमै नाराबाजी गरेका छन्। विभिन्न चरण पार गर्दै फाईनलमा पुगेका ११ समूह विचको प्रतिष्पर्धामा सहभागी समूहहरुले कार्यक्रम बहिष्कार गरेर हिडेका थिए। प्रतियोगीतामा तेस्रो घोषित धरानको दिव्य आचार्य लाईन समूह निर्णयले प्रथम घोषित गरेपनि पछि भोटिङको आधारमा तेस्रो घोषणा गरेपछि विवादले उग्र रुप लिएको थियोे। आयोजकले पैसाको चलखेल गरेको पत्रकार सम्मेलनमा दिव्य आचार्य लाइन समूहकी सहभागी मध्ये एलिसा श्रेष्ठले बताइन्। श्रेष्ठले निर्णायकको मत ५० प्रतिशत र एसएमएस भोटको मत ५० प्रतिशतको आधारमा निर्णय हुने भनिएपनि चित्तबुझ्दो नभएको बताइन्।

यस्तै धरानकै सौन्दर्यकला व्यवसायी संघ सुनसरीले र निका समूहले समेत आयोजकले धाधली गरेको आरोप लगाएका छन्। सौन्दर्यबाट सहभागी पुष्पा प्रधानले भोटिङमा खर्च भएको रकम विजयी नभए ५० प्रतिशत फिर्ता हुने भनेपनि फिर्ता नभएको आराप लगाइन्। आयोजकले शुरुमा एसएमएस भोटिङबारे जानकारी नदिएको र सेमीफाइनल सकिएपछि मात्रै जानकारी गराएको निका समूहकी निका तामांगले वताइन्। सौन्दर्य कला व्यावसायी संघकी जिल्ला अध्यक्ष पुष्पा श्रेष्ठले टप १० मा छनौट हुने समूहलाई आयोजकले नै कोरियोग्राफर उपलब्ध गराउने भनेपनि नदिएको बताइन् । फाइनल परिणाम पश्चात झापाको समूहहरुले पनि शुक्रबार विरोध जनाएको थियो। प्रतियोगीतामा झापाको नन्द भाउजू समूह प्रथम, सूर्यज्योति समुह दोस्रो र दिव्यआचार्य समूह तेस्रो घोषित भएका थिए। पहिलो र दोस्रो हुनेले पुरस्कार ग्रहण गरेपनि तेस्रो हुने समूहले भने पुरस्कार बहिष्कार गरेको थियो। कार्यक्रममा निर्णायक नगेन्द्र राई एसएमएस भोटका कारण आफूहरुले गरेको निर्णय अनुसार विजेता घोषित बताए। कार्यक्रमको आयोजना मकालु टेलिभिजनले गरेको हो। मकालुले यस अघि पनि आयोजना गरेका यस्ता कार्यक्रमहरु विवादमा आएका थिए।


फाइनल चरणमा हलमा यस्तो भयो तीज तारामा

भारतीय च्यानलहरुले प्रशारण गर्ने रियालीटी सोको जस्तै प्रचार गरिएको एक तीजतारामा सहभागी हुन रातो साडी, चोली र तिलहरीमा सजिएका महिलाहरुले धरानको सभागृह हल भरिभराउ थियो। प्रतियोगिताको फाइनल चरणको प्रतिपष्पर्धा हेर्न उनीहरु सभागृह पुगेका थिए। स्थानीय मकालु टेलिभिजनले भारतीय च्यानलहरुको नक्कल गर्दै महिलाहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउने भन्दै आयोजना गरिएको सो कार्यक्रममा उत्साह नियार्णकले दिएको निर्णय विपरित उद्घोषकले घोषणा गरेपछि निरासा र आक्रोशमा परिणत भयो। प्रतिस्पर्धी एघार समूहमध्ये अधिकांशले आयोजकले आर्थिक चलखेल गरेको आरोप लगाए। आयोजकले प्रतिभा नहेरी पैसाको भरमा विजयी बनाएको भन्दै नाराबाजीमा उर्तिए। यो विवादको साक्षी प्रमुख अतिथि रहेका पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारी स्वयम बने।

निर्णायकको मतको आधारमा पहिलो घोषणा हुदा दिव्यआचार्य लाइन समूह तेस्रो हुँदा पुरस्कार थाप्न स्टेजमा गएन । वेष्ट डान्सरको पुरस्कार जितेकी सनातन टोल समूहकी नृत्यकार निशा श्रेष्ठले स्टेजमा पुगेर आक्रोश पोखिन्– प्रतिभाको कदर नै नभइ सब पैसाको मात्रै कदर भएको उनले स्टेजवाटै घोषणा गरिदिइन्। उनले त्यसो भनिरहदा उद्घोषकले माइक खोसी हाले। प्रतिभाको उजागर गर्ने भन्दै यसअघि आयोजना हुदै आएको रियालिटि शो कार्यक्रमहरु पनि आर्थिक विवादमा पर्दै आएको छ। केही महिनाअघि गरिमा डान्स सेन्टरको आयोजना र मकालु टेलिभिजनको प्रस्तुतीमा भएको नटराज र स्वरमणी पनि आर्थिक चलखेलको विवादमा परेको थियो। स्वरमणीको एक सहभागीबाट भोटिङको लागि भनेर लिएको पैसा आयोजकले पछि फिर्ता गरेको थियो।

फोटो कार्यक्रमम सहभागी र विजेता साथमा पत्रकार सम्मेलनमा सहभागीहरु। फोटोः सन्तोष काफ्ले र गोपाल दाहाल

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस