Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

१४ वर्षीया किरियापुत्री

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, ५ चैत्र। हिन्दू धर्मअनुसार आमा-बुबाको मृत्युपछि जेठा छोराले मृत्यु संस्कार गर्नुपर्ने मान्यता छ। यदी कसैका छोरा नभए उनका दाजुभाइ वा काका, ठूलो बुबाले गर्नु पर्ने परम्परा रहेको छ।

उनका छोरी भएपनि मृत्यु संकार गर्न नदिने परम्परा रही आएको छ। तर, धरानकी एक १४ वर्षीया बालिकाले यो पितृसतात्मक संस्कारलाई चुनौती दिदै आफ्नो बुबाको मृत्युपश्चात किरिया पुत्री बसेकी छिन्।

उनले छोराले गर्ने सबै काम गर्दे आएकी छिन् टाउकोमा सेतो कपडा वाँधेर हिन्दू परम्पार अनुसार आफ्ना बावुको मृत्यु संस्कार गरिरहेकी छन्।


१४ वर्षीया एलिसा (वायाँ) आफ्नी आमाको साथ। तस्वीरः सन्तोष काफ्ले /एचकेनेपाल डट कम

धरान १५ रोदुङ पथका हरिबहादुर सापकोटाको मृत्यु भएपछि उनकी १४ वर्षीया जेठी छोरी एलिसा किरियापुत्री बसेकी हुन्। ब्रेन ट्युमर रोगबाट ग्रसित ३२ वर्षीय सापकोटाको मृत्यु भएको थियो। दुइ छोरीका पिता सापकोटाको मृत्यु भएपछि एलिसाले नै दागवत्ति दिइन् र ८ दिनअघिदेखि किरियापुत्री बसेकी हुन्। दुवै सन्तान छोरी भएका सापकोटा परिवारलाई मृत्यु संस्कार छोरीलाई गर्न दिएको भन्दै हिन्दू धर्मप्रति आस्थावान महिलाहरुले विरोधसमेत जनाए।

छोरीले दागबत्ति दिने भए शव उठाउन नदिने भन्दै ती महिलाहरु कडारुपमा प्रस्तुत भएपनि एलिसाको अठोट र अडानप्रति उनीहरुको केही जोड चलेन। छोरी एलिसाले नै म आफै बुबाको काजक्रिया गर्छु भनेर अडान लिएपछि विरोधी महिलाहरुको केही नलागेको उनकी आमा ममता सापकोटाले बताइन्। अझै पनि केही महिलाहरु आएर छोरीलाई किरियापुत्री बस्न दिएर हुदै नभएको चलन ल्यायौं, ठीक गरेनौ भन्दै विशेष गरी महीलाहरु आएको उनको भनाइ छ।

छोरा नहुंदा समाजको अनेक वचनले विचलित बनेकी ममता सापकोटा अहिले भने आफ्नी छोरीप्रति गर्व महशुस गरिरहेकी छिन्। उनले मेरो कोखबाट छोरा नजन्मिएपनि अब कुनै गुनासो नभएको बताउदै एलिसाप्रति गर्व लागेको बताइन्।

स्वर्गीय हरिबहादुर र ममता सापकोटाका १४ वर्षीया एलिसा र ७ वर्षीया इसा सापकोटा दुइ छोरी छन्। छोरा नभएका सापकोटा दम्पत्तिलाई समाज, नातेदारसमेतले छोरा छैन, के गर्ला र भनेर वचन लगाउथे। हाम्रो दाजुभाई छैन भनेर अलग्गै व्यवहार गर्नै गरेको तथा छोरीले केही गर्न सक्दैनन् जस्तो व्यवहार गर्ने गरेको किरियापुत्रीमा बसेकी एलिसाले बताइन्। उनले छोरी पनि छोरासरह नै हो भन्ने देखाउन र आफ्नो कर्तव्य पुरा गर्न यस्तो निर्णय गरेको स्पष्ट पारिन्।

उनले बुबालाई दागबत्ति, पिण्डदान, कालीकाटलगायत संस्कार पुरा गरेकी थिइन्। ढिकुरे वेदी (पिण्ड तर्पन दिने ठाँउ) उठाएर बसेकी उनले हाल दिनहु बिहान आफै पिण्ड तर्पण गर्छिन् उनी स्थानीय सदन उच्च माविमा कक्षा ८ मा अध्ययनरत छिन्। हाल जिल्लास्तरीय परीक्षा चलिरहेपनि विद्यालयले उनलाई पछि परीक्षा दिने व्यवस्था गरेर सहयोग गरिदिएको छ।

रुद्र भट्टराई (बीचमा) र वडा बा एलिसाको निर्णयलाई उनको आमा, ठूला बा कृष्णबहादुर सापकोटा, मामाका साथै पण्डित रुद्र भट्टराईलेसमेत समर्थन गरेका थिए। हिन्दू धर्मशास्त्रमा छोरीले काजक्रिया गर्न नहुने नभएको तर चलनमा नभएकोले मात्र यस्तो भएको वताउदै पण्डित भट्टराईले उसले( एलिसा)ले बुबाको काजक्रिया मै गर्छु भनेर हिम्मत देखाई, मलाई अरुले विरोध गरेपनि समर्थन गरेको बताए। आफन्तजनका अनुसार पण्डित भट्टराईलाई महिलाहरुले फटाहासमेत भनेका थिए।

एलिसालाई काजक्रिया गर्न र किरियापुत्री बस्न दिएर धर्मविरोधी काम गरेको भन्दै पण्डित भट्टराईप्रति पनि विरोधी महिलाहरु रुष्ट बनेका थिए। वैदेशिक रोजगारीमा साउदी अरब गएका उनका पति हरिबहादुर गत बर्ष एक्कासी घर फिरेका थिए। साउदीमा ब्रेन ट्युमर देखिएपछि घर फिरेका हरिबहादुरले यो कुरा भने परिवारजनसँग लुकाएका थिए। गत साउनमा मात्रै उपचारको क्रममा उनको रोगबारेमा परिवारजनले थाहा पाएको थियो।

सापकोटको मृत्युपछि उनकाल दाजुभाईको मृत्युको खबरले किरिया बस्न भोलिपल्ट शुक्रबार नै काठमाण्डौंबाट धरान आइपुगेका थिए। उनले आफू भाइको किरिया बस्न भनेर आएको भएपनि छोरीले तपाई बस्नु पर्दैन, म आफै बस्छु भनेपछि उनको निर्णयलाई सम्मान गरेका बताए। एलिसाको निर्णयप्रति असन्तुष्टी जनाउदै कतिपय महिलाहरु मलामी जानसमेत हिच्किचाएका थिए। यो पुरुषप्रदान समाजमा अझै पनि धर्म तथा समुदायका नाममा हुने विभेदको अन्त्य गर्न सवै एक जुट हुन आवश्यक छ। रुढिवादी परम्पराको विरुद्ध एलिसाको यो साहासिक कदमको सवैले सम्मान गर्नु पर्छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by