रविन लिङदेन ‘आम्भु जेठा’/ एचकेनेपाल डट कम-
हङकङ, १८ मार्च । हङकङमा प्रहरीको गोलीबाट मारिएका स्व. दिलवहादुर लिम्बूको चौथो श्रदाञ्जलि सभा शनिवार सम्पन्न भएको छ। सन् २००९ मार्च १७ तारिखका दिन हङकङ प्रहरी जवानले लिम्बूलाई गोली हानि हत्या गरिएकै स्थान ‘लोक मान सान चुन, होमान्तिन’को डाँडामा सो कार्यक्रम भएको हो।
स्व. लिम्बुको आत्माको चिरशान्तिको कामना गर्दै श्रीमती सोनी राई लिम्बू र छोरी तान्छोमालगायत उपस्थित सबैले लिम्बू परम्परा तथा विधिवत रुपमा भावपूर्ण श्रदाञ्जलि व्यक्त गरेका थिए।
तस्वीरः रविन लिङदेन ‘आम्भु जेठा’/ एचकेनेपाल डट कम
हङकङका प्रहरी जवानले निर्दोष दिलबहादुर लिम्बूलाई होमान्तिनको डाँडामा पछाडिबाट टाउकोमा गोली हानी हत्या गरेका थिए। निर्दोष लिम्बुको हत्याको विरुद्घमा मृतकका श्रीमति सोनीले यहाँको अदालतमा मुद्घा दायर गरेकी थिइन्। उक्त मुद्घालाई कोर्रनर्स कोर्टले ७६ दिनको लामो सुनुवाइपछि मृतक लिम्बूको हत्या कानुनसम्मत भएको फैसला गरेको थियो। सोनीले कोर्रनस कोर्टको फैसला आफूलाई चित्त नवुझेको, कानुनसम्मत नभएको भन्दै वकिलमार्फत हाइकोर्टमा पुनरावलोकन गरेकी थिइन्। पुनरावलोकन गरिएको मुद्घा १२ जनवरी २०११ मा पनि सो हत्यालाई कानुनसम्मत भनि फैसाला गरेको थियो।
श्रदाञ्जलि सभामा बोल्दै हङकङ नेपाली महासंघका निर्वतमान अध्यक्ष तथा स्व. दिलबहादुर संघर्ष समितिका संयोजक हेम लिम्बूले मृतकका श्रीमतीलाई धैर्य रहन आग्रह गरे। उनले मृतक लिम्बुको पक्षमा नेपालीले गरेको संघर्ष सहि भएको बताए। मृतक लिम्बुको वारेमा सर्वोच्च अदालतले पूर्ण फैसला नगरेसम्म चरणवद्घ संघर्ष गरिने संयोजक लिम्बुले बताए। संघर्षमा सम्पूर्ण नेपाली, यहाँको नागरिक, मानव अधिकार कर्मीको साथ रहेको उनले वताए।
लिम्बूले मृतक लिम्बुको मुल मुद्घा आर्थिक अभावको कारण सर्वोच्च अदालतमौ अल्झिएको वताए। उनले अहिले भइरहेको मुद्घा मृतकका श्रीमति र छोरीको लागि क्षतिपूर्ति माग दावीको मुद्घा भएको बताए। क्षतिपूर्ति मागदावीको मुद्घा लड्न यहाँको लिगल एडबाट सहयोग प्राप्त भएको बताए। क्षतिपूर्ति मुद्घाको छिनोफानो हुन केही समय लाग्ने लिम्बूले वताए।
नेपाली महासंघका अध्यक्ष प्रदिप थापाले स्मरण सभामा वोल्दै स्व. दिलबहादुर लिम्बुको हत्याकाण्ड दुःखद भएको बताउंदै उनले स्व. लिम्बुको हत्या काण्डमा नेपाली महासंघको तर्फबाट तथा आफ्नो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग गरिरहेको र अझै गर्ने बताए। सभामा लुङफङवा समाजका अध्यक्ष तथा हङकङ तेह्रथुम मञ्चका अध्यक्ष त्रिभुवन लुङफङवाले मृतकका श्रीमति र छोरीलाई अन्तिम समयसम्म सहयोग गर्ने बताए।
शनिवार भएको श्रदाञ्जलि सभामा नेपाली सहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, कानुनविद दासुराम पराजुलिले आ–आफ्ना मन्तब्य राखेका थिए। हङकङ नेपाली महासंघको आयोजनामा भएको उक्त श्रदाञ्जलि कार्यक्रममा लुम्फङवा समाज हङकङको संयोजन रहेको थियो। औपचारिक रुपमा सञ्चालन भएको श्रदाञ्जलि कार्यक्रम महासंघको सचिव नन्द चंसुले गरेका थिए।