Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सेना समायोजन दलहरुकै सहमतिमा ल्याएको होः अनन्त

एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, ८ फागुण । सेना समायोजन विशेष समितिका सदस्य एवम अर्थमन्त्री वर्षामान पुन अनन्तले विशेष समितिमा भएको सहमतिकै आधारमा नेपाली सेनाले समायोजनको कार्ययोजना बनाएको दावी गर्दै यसमा विवाद सुरु गरेर कांग्रेस र एमाले समायोजन नचाहेको स्पष्ट भएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा अनन्तले नेपाली सेनाले सात बुँदे सहमति अनुसारनै समायोजनको कार्ययोजना बनाएको दावी गर्दै भने-सेनाको प्रस्ताव सात बुँदे सहमति भन्दा बाहिर छैन। आफै निर्देशन दिएर विवाद गर्ने काग्रेस एमालेको तरिका राम्रो होइन। नेपाली सेनाले कार्ययोजना बनाएर गल्ति गरेको छैन।

साक्षात्कारमा उनले सेनाको कार्ययोजनको विरोध गरेर काग्रेस र एमाले सात बुँदे सहमतिबाट भाग्न खोजेको देखिएको दावी गर्दै नेपाली सेनालाई विवादमा ल्याउन नहुने सुझाव दिए।

उनले भने-सेनामा विवाद ल्याएर आफैलाई अप्ठ्यारो पर्छ भन्ने कुरा माओवादीलाई राम्ररी थाहा छ। त्यसैले माओवादी यो विषयमा सचेत छ। सेना समायोजनको लागि माओवादी, सरकार र नेपाली सेना तयार छ।

अनन्तले फागुण मसान्तसम्म सेना समायोजन प्रक्रिया सुरु भईसक्ने दावी गर्दै त्यसो हुन नसकेको अवस्थामा भने संविधान लेखनको कार्य अवरुद्ध हुने चेतावनी दिए।

उनले आईए पास गरेका लडाकुलाई अधिकृत दिने, २५ वर्षसम्मका सिपाहीमा, २७ वर्षसम्मका अधिकृतमा ५ कक्षा पढेका जवानमा भर्ना हुन पाउने र विवाह गरेका पनि सेनामा भर्ना हुन पाउने विषय त्यस्तै विपत ब्यवस्थापन, विकास निर्माण, बन र औद्योगिक सुरक्षामा खटाउने सहमति अवस्थामा आएको कार्ययोजनाको लागि सरकार र नेपाली सेनालाई धन्यवाद दिनुको साटो गाली गर्नुले खराव नियत देखिएको बताए।

उनले लडाकुको बटमलाईन महानिर्देशनालयको दोस्रो नेतृत्व सहायक रथी भएको समेत स्पष्ट परे। उनले थपे-त्यो भन्दा तलमा माओवादी सहमत हुन सक्दैन। विशेष समितिमा यो विषयमा विवाद छ, छलफल जारी अनन्तले सेनाको कार्ययोजनाको विषयमा प्रधानमन्त्रीले विशेष समितिका सदस्य र प्रमुख दलका शिर्ष नेताहरुलाई अनौपचारिक रुपमा जानकारी समेत गराईसकेको भन्दै यस विषयमा विवाद गर्नुको औचित्य नरहेको बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by