देबेन्द्र सुर्केली / एचकेनेपाल डट कम –
काठमाडौं १४ भदौं । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान; लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङवेरे हेक्याम्’ भन्ने मूलनाराका साथ लिम्बूहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको आफ्नो २५ औं वर्षको उपलक्ष्यमा रजतजयन्ती मनाउने भएको छ।

आगामी भदौ १७ गते चुम्लुङको भवन ललितपुरमा उपराष्ट्रपति परमानन्द झाले उक्त रजत जयन्तीलाई उद्घाटन गर्दैछन्। शुक्रबार अनामनगरस्थीत युनियन हाउसमा सम्पन्न पत्रकार सम्मेलनले उक्त जानकारी दिएको हो।

लिम्बूहरूले आफनो पहिचान र थातथलो लिम्बुवानको संरक्षण, सम्बद्र्धन र विकासको लागि आआफनो रजत जयन्ती मनाउने क्रममा वर्षभरी नै लिम्बुवान राष्ट्रिय जागरण अभियान सञ्चालन, लिम्बु अन्तरराष्ट्रिय सम्मेलन गर्ने, प्रकाशन, अभिलेखिकरण र प्रचारप्रसार गर्ने, तङसिङ, धार्मिक अनुष्ठान लगायत परोपकारी कार्यक्रम, पुनर्मिलन तथा अन्तरक्रिया सम्वाद कार्यक्रम, सांस्कृतिक, साहित्यिक कार्यक्रम तथा महोत्सवहरूको आयोजना, प्रशंसा, कदर र सम्मान कार्यक्रम, युप्पा तङवे स्तम्भ तथा संरक्षित वनजंगलहरूको स्थापना गर्ने लगायत रहेका छन्।

२०४६ सालको राजनीतिक परिवर्तन पूर्व नै निरंकुश पञ्चायतकालीन अवस्थामा काठमाण्डौ उपत्यकामा अध्ययनरत सचेत लिम्बूहरूबाट जातीय उत्थान तथा विकास कार्यलाई संगठित र संस्थागतरूपमा अघि बढाउन किरात याक्थुङ चुम्लुङको स्थापना भएको हो । कियाचु लिम्बु जातिको इतिहाँस, भाषा, लिपी, साहित्य, संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने, सामाजिक तथा आर्थिक विकास गर्ने, विभिन्न जातिहरूवीच साम्प्रदायिक सदभाव अभिवृद्धि गर्दै राष्ट्रिय एकता तथा राष्ट्रिय संस्कृति निर्माण गर्ने उद्देश्यहरू लिएर निरन्तर क्रियाशिल रहेको छ । कियाचु लिम्बुवान क्षेत्रको अन्य जनसमुदायसँग समन्वय कायम गर्दै लिम्बू जातिको शसक्तिकरण गर्न सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक र मौलिक हकअधिकार प्राप्तिको लागि चेतना प्रदान गर्ने एक प्रमुख संस्थाको रूपमा स्थापित भएको हो । यस संस्थाले लिम्बूहरूलाई भाषिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिकरूपले सशक्त बनाई पहिचान एवं प्रतिष्ठा कायम गरी समृद्ध र सम्मानित जीवनयापनको लागि क्रियाशिल रहने उद्देश्य राखेको छ ।
कियाचुले २०४६ सालको प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन र परिवर्तन पश्चात् नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक राज्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलन र परिवर्तन पछि नेपाललाई धर्मनिरपेक्ष, समावेशी, संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउनमा थप महत्पूवर्ण भूमिका निर्वाह गरेको छ।

लिम्बूको पहिचान र पुख्र्यौली थातथलोसँग अनन्य सम्बन्ध राख्ने लिम्बुवान क्षेत्रलाई नेपालको एक अभिन्न राज्य बनाउनका लागि कियाचुले लिम्बूहरू, लिम्बुवानवासीहरू, लिम्बुवानको राजनीतिक शक्तिहरू, राष्ट्रिय राजनीतिक शक्तिहरू बीच र विघटित संविधानसभा सदस्यहरूवीचमा गरेको अथक पैरवीका साथै संघीयता र स्वायत्तता पक्षधरहरूवीच समन्वय गर्दै गरेको आन्दोलनको फलस्वरूप लिम्बुवान लगातय अन्य पहिचानसहितको संघीयता भएको नयाँ संविधान बनाउनुपर्ने गरी नेपाली राजनीतिलाई प्रभाव पारेको छ।

कियाचुले २५ वर्षको दौरानमा प्राप्त गरेका सार्थक र महत्वपूर्ण कामहरूको अभिलेखिकरण गर्दै रजत वर्षको उपलक्ष्यमा आयोजना हुने विशेष उद्घाटन समारोह र समापन समारोह, लिम्बुवान राष्ट्रिय जागरण अभियान, लिम्बु अन्तराष्ट्रिय सम्मेलन, संघीयता, पहिचान, संविधानसभा निर्वाचन सचेतना कार्यक्रमले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि महत्वपूर्ण प्रभाव पार्दै आएको छ । यस अवसरमा तय गरिएका भाषिक, साँस्कृतिक र साहित्यिक कार्यक्रमहरू, लिम्बू संस्कृतिमा आधारित प्रतियोगिता, महोत्सव र प्रदर्शनीहरू, रजत स्तम्भ स्थापना, लिम्बु अनुष्ठान कार्यक्रमहरूले लिम्बु प्रतिष्ठा र पहिचानलाई अझ प्रगाढ बनाउँदै रजत वर्षमा तय गरिएका थुप्रै कार्यक्रमहरूको उपलब्धीहरूबाट अन्य समुदायहरूले पनि सकारात्मक अनुभव, उत्प्रेरणा र उत्साह प्राप्त गर्ने कुरा पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

रजत वर्षले कियाचुको २५ वर्षसम्मको उपलब्धीहरू तथा आगामी दिनका सम्भावना र चुनौतीहरूमाथि व्यापक बहस गर्दै सम्बद्ध व्यक्ति, संस्थाहरू थप चलायमान बनाउने पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यस कार्यमा संस्थाको केन्द्र, जिल्ला र गाउँ तथा नगर, कियाचु विषयगत संगठनहरू, विदेशस्थित चुम्लुङहरू र आम लिम्बु समुदाय सक्रिय रहेको कुरा पनि सम्मेलनमा जानकारी गराइएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस