भानु–८, ज्यामिरे, तनहूँमा जन्मिएकी बाबा मेखराज गुरुङ र आमा आशा गुरुङको एक्ली छोरी लोकदोहोरी गायिका एवं मोडल काजल गुरुङ अहिले निकै व्यस्त छिन्। परिवारकी एक्ली छोरी काजलका दुई भाइ पनि छन्। काठमाडौंको देउराली दोहोरी साँझबाट व्यवसायिक रूपमा लोकदोहोरी गायन यात्रा थालेकी काजलले अहिले पोखराको दोभान दोहोरी साँझमा गाउदैछन्। लोकदोहारी गायिका एवं मोडल काजलले काठमाडौंमा तीन वर्ष गायन यात्रा अघि बढाइन् भने पोखरामा आएपछि गाउँशहर दोहोरी साँझमा साढे दुई वर्ष जति गाइन् र अहिले दोभानमा कार्यरत छिन्। ‘बुझे मैले नि’ भन्ने एल्बम समेत बजारमा ल्याइसकेकी काजलले नयाँ एल्बम ल्याउने तयारी समेत गर्दै छिन्। आजभोलि स्टेज कार्यक्रममा व्यस्त काजल हङकङ आउदैछिन्। सहारा क्लब पोखराले विपन्न वर्गका असहाय बालकहरूका लागि सञ्चालन गरेको सहारा एकेडेमीको सहयोगार्थ सहारा हङकङको आयोजनामा यही अगष्ट २५ तारिख हुने ‘कठिन परिस्थिति एवं विपन्न वर्गका सहारा एकेडेमीका बालकहरूको सहयोगार्थ सहारा साँझ हङकङ–२०१३’ मा सहभागी हुन आउन लागेकी हुन्। यही सन्दर्भमा पोखरामा पत्रकार रूद्रबहादुर श्रीससंग गायिका एवं मोडल काजलले गरेको कुराकानी:


तस्बिर: राम गुरुङ

आजभोलि के गर्दै हुनुहुन्छ ?
म अहिले कार्यक्रमको शिलशिलामा हङकङ जाँदैछु।

कस्तो कार्यक्रम हो ? भन्न मिल्छ ?

सहारा हङकङले सहारा एकेडेमीका बालकहरूको सहयोगार्थ आयोजना गरेको सहारा साँझ हङकङ–२०१३ यही अगष्ट २५ (भदौ ९ गते) हुँदैछ, त्यसकै लागि जान लागेकी हुँ।

कस्तो अनुभव गर्दै हुनुहुन्छ, हङकङ जान पाउँदा?

हजुर, मैले एकदमै भाग्यमानी ठानेकी छु, आफूलाई । खासगरी, यस्तो महत्वपूर्ण कार्यक्रममा मैले सहभागी हुने अवसर पाएकी छु, जुन ठूलो कुरा हो । सहारा क्लबले यो अवसर जु¥याइदिएको छ । असहाय बालकहरूको सहयोगका लागि मैले पनि आफ्नो प्रस्तुती राख्ने अवसर पाएकोमा एकदम खुशी छु।

कार्यक्रमका शिलशिलामा कुन–कुन ठाउँ घुम्नुभयो ?

हजुर म यसभन्दा अघि युकेको लण्डन जाने अवसर पाएँ । खासगरी, मलाई लण्डन जाने अवसर तमु धिं युके र कोल्मा समाज युकेले दिएको थियो । त्यस्तै, मैले भारतको सिक्किममा पनि आफ्नो सांगीतिक प्रस्तुती लिएर जाने अवसर पाएकी थिएँ । अरू नेपालका विभिन्न सहर र गाउँ पनि घुमेको छु, कार्यक्रमका शिलशिलामा।

खासमा, तपाई लोकसंगीतमा कसरी लाग्नुभयो?
म सानैदेखि स्कूलमा गीत गाउने गर्थें। अरूले मैले गीत गाउँदा निकै प्रशंसा गर्थे र पछि मैले विभिन्न दोहोरी गीत प्रतियोगिताहरूमा भाग लिन थालें । प्रतियोगितामा कहिले प्रथम, कहिले दोस्रो हुन्थें। त्यसपछि झन हौसला बढ्दै गयो, अनि मैले गायनलाई आफ्नो पेशाका रूपमा अँगालेर यहाँसम्म आइपुगेकी छु।

तपाई त मोडल पनि हुनुहुन्छ, मोडलिङ क्षेत्रमा चाहिँ कसरी नि ?
खासमा, मैले सुरुमा गुरुङ चलचित्र ‘डिट्ठा’मा नायिकाको रूपमा खेल्ने अवसर पाएँ। त्यसपछि ‘तैंले त अभिनय पनि राम्रो गर्न सक्छेस्’ भन्ने दर्शकहरूको राम्रो प्रतिक्रिया पाएपछि मैले मोडलिङ क्षेत्रलाई पनि गायनसँगै अघि बढाएको हुँ।

के फरक पाउनुभयो ? गीत गाउँदा र मोडलिङ गर्दा ?

गीत गाउँदा खेरि अझ दोहोरी गाउँदा त झन उत्तिखेरै केटाले भनेको सवालको जवाफ दिनुपर्छ । सोंचेर तुरुन्तै जवाफ दिनुपर्ने हुन्छ । अब अभिनय गर्दा गीत अनुसार कहिले रोएको अभिनय गर्नुपर्ने, कहिले हाँस्नुपर्ने अनि कतै, बिग्रियो कि भन्ने पनि लाग्ने गर्छ, कहिले कहिले।

अनि, सन्तुष्ट हुनुहुन्छ त ? यी दुवै क्षेत्रबाट।
हजुर, सन्तुष्ट नै छु भन्नुप¥यो । आफ्नो मनका कुरा गीतका माध्यमबाट पोख्ने अवसर पाइन्छ । अनि आफूले केही गर्न नसके पनि गीतको भाव अनुसार अभिनय गर्दा आनन्दको महसुस हुन्छ।

गायन र अभिनयमा लाग्दा अग्रजहरूको सहयोग कतिको पाउनुभयो ?
हामीसँगै गुरुङ फिल्ममा काम गर्ने दाइ हुनुहुन्थ्यो । गणेश गुरुङ दाइले नै फिल्ममा मेरो प्रस्तुती हेरेपछि तिम्रो नाच पनि राम्रो छ, तिमी अघि बढ्नुपर्छ भनेपछि मैले मोडलिङलाई पनि गायनसँगै अघि बढाएँ । अरू अग्रजहरूको पनि म यो स्थानसम्म आउन ठूलो योगदान छ।

अहिलेसम्म कति म्यूजिक भिडियोमा खेल्नुभयो ?

अहिलेसम्म त करिब १०–११ वटा जति म्यूजिक भिडियोमा खेले हुँला।

तपाईलाई भाग्यमा विश्वास छ?
कुनै कुनै कुरामा त, भाग्यमानी नै हुनुपर्ने जस्तो लाग्छ । तर, त्यो भन्दा पनि मेहेनतमा नै बढी विश्वास छ । मेहेनत गरे अवश्य सफल भइन्छ जस्तो लाग्छ।

भविष्यको योजना के छ ?
एउटा आफ्नै पहिलो ‘बुझे मैले नि’ एल्बम गरिसकें। अब फेरि, अर्को एल्बम गर्ने तयारी गर्दैछु। अफर आएसम्म म्यूजिक भिडियोमा पनि खेल्ने नै हो । गायन र अभिनयलाई सँगै अघि बढाउने सोंच गरिरा’को छु । जतिसक्यो दर्शक, श्रोताको मन जित्ने प्रयासमा लाग्नेछु।

अहिले संगीत क्षेत्रमा लागेर बाँच्न सक्ने अवस्था छ?
त्यो त, यसै भन्न गाह्रो हुन्छ। राम्रो गर्नेलाई त ठिकै छ। आफ्नै लगानी गरेर एउटा एल्बम ग¥यो, त्यसको लगानी उठ्नै समस्या छ। अनि त अरू कुरा त परैको भो । स्टेज कार्यक्रम पाउन सक्यो भने चाहिँ राम्रै हुन्छ।

अन्त्यमा, के भन्नुहुन्छ?
अगष्ट २५ मा हुने सहारा साँझ हङकङ कार्यक्रममा सम्पूर्ण हङकङबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आउनुहोस्, कार्यक्रम हेरिदिनुहोस्, हौसला बढाइदिनुहोस् र असहाय बालकका लागि सहयोग गर्नुहोस् भन्न चाहन्छु। मलाई पनि गायन र नृत्यमार्फत् असहाय बालकका लागि सेवा गर्ने मौका दिनुभएकोमा सम्पूर्ण सहारा क्लबका पदाधिकारी एवं सदस्यहरू ज्यूप्रति धन्यवाद व्यक्त गर्दछु। त्यसैगरी, मलाई आफ्ना व्यक्तिगत कुरा र मेरो हङकङ यात्राका बारेमा केही कुरा आम पाठक, मेरा दर्शक श्रोतामाझ राख्ने अवसर दिनुभएकोमा तपाईलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु।

(यो अन्तर्वार्ता पोखराको लोकप्रिय दैनिक कास्की आवाजमा प्रकाशित भइसकेको छ।)

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस