एनआरएनए एनसीसी कतार सबैलाई समेट्नसक्ने सवैको साझा संस्था बनोस्

तिलविक्रम थेबे –
एनआरएनए एनसीसी कतारको आगामी हप्तामा सम्पन्न हुन लागेको पाँचौं अधिवेसनका लागि उम्मेदवारहरुले उमेदवारी दिईसकेपछि दोहा कतारमा नेपालीहरु जमघट हुने ठाँउतिर फेरी एनआरएनएको चुनावी गतिविधी तिव्र भएको छ।

अव उमेदवारहरुले विभिन्न पदका लागि उमेदवारी दर्ता गरेपछि उमेदवारहरु मत माग्ने शिलशिलामा त्यस्ता ठाँउतिर एकअर्कामा ठोकिदैं हिड्न थालेकाछन् मानौं मतदाताहरु (नयाँ पार्षदहरु) भन्दा उमेदवारहरुको निकै घुइचो देखिन्छ । एकजना उमेदवारसंग मतदाता बसिराखेको ठाँउमा पाँच÷दश मिनटपछि अर्को उमेदवार बसिराखेको भेटिन्छ । उमेदवारहरुको राजनैतिक चुनावी अभियान, मतमाग्ने काइदा, मतदाता फकाउने काइदा, मत माग्न सक्दो आश्वासन भट्याउने काइदा नेपालमा राजनैतिक दल र त्यसका उमेदवारहरुले चुनावकोवेला गर्ने क्रियाकलापसंग हुबहु मिल्छ।

उही अनुहार, उही व्यक्तिले आफ्नो योग्यताको बायोडाटामा यो गर्छु र त्यो गर्छु भन्ने बुदाँहरु थपथाप पारेर आफ्नो सक्षमता र क्षमता बाढीराखेका छन्। वैचारिक संगठनहरुले आफ्नो प्यानल प्रस्तुत गरेर आफ्नो वर्चस्व कायम राख्न उत्तिकै लागिराखेकाछन् । स्वतन्त्ररुपमा पनि उमेदवारहरु एनआरएनएमा जान चाहेका छन् । यी सबैको छिनोफानो गर्ने निर्णायक अव तिनै १६२८ जना पार्षदहरु नै हुन्।

एनआरएनएमा के पनि स्पष्ट भएकोछ भने अव व्यक्तिभन्दा वैचारिक संगठनको तालमेलबाट मात्र एनआरएनएमा प्रतिनिधित्व गर्न सकिन्छ एनआरएनएको कार्यक्रममा समेत वैचारिक संगठनको प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेप र पक्ष पोषण हुनेछ। कतारको सवालमा एनआरएनएको प्रतिनिधित्व गर्न कित लोकतान्त्रिक मंच (एमाले निकट) अथवा नेपाली जनसम्पर्क समिति (ने.कांग्रेस निकट) संग सहकार्य, तालमेल, गठबन्धन गरेर जानुपर्ने अवस्था छ । यस्तो परिस्थितिमा व्यक्ति प्रधान नभएर संगठन अर्थात् लोकतान्त्रिक मंच र नेपाली जनसम्पर्क समितिको भुमिका प्रधान हुनेहुनाले वैचारिक संगठनहरु आआफ्ना तर्फबाट एउटा टिम प्रस्तुत भएर एनआरएनएमा जान लागेका हुन्।

नेपाली समुदायको विचमा यसको सन्देश पक्कैपनि राम्रो जादैन। ठिक छ एनआरएनएमा कुनैएक वैचारिक टिमको बर्चस्व रहला या होला तर नेपाली समुदायको विचमा यस्तो स्वार्थी किसिमको एनआरएनएको टिमलाई भोली अरु वैचारिक संगठनहरुले समन्वय गर्नेकि नगर्ने ? सबै अटाउने साझा संस्था भनिदै आएको एनआरएनएमा सबै विचार र वर्ग, समुदाय, सँस्थाबाट समावेसीमुलक प्रतिनिधित्व गराउनेकि नगराउने ? एनआरएनएको कार्यसमिति बनाउने वेलामा चरम गुटबन्दी गरेर एउटै वैचारिक संगठनको छाँयामा या वैचारिक संठगनहरुका विच प्रतिस्पर्धात्मक निर्वाचन गरेर जाँदा एनआरएनएको साझा संस्था भन्ने गरिमा र नैतिकताको कसले वकालत गर्ने ? एनआरएनएको अधिवेसनमा पुर्ण राजनितिक भुमिका निर्वाह गरेर एनआरएनएको सम्पूर्ण कार्यसमिति गठन प्रक्रियालाई प्रभावित तुल्याएर राजनितिमय बनाउने वैचारिक संगठनहरुले एनआरएनए सबैलाई अटाउने साझा संस्था भनेर भन्ने नैतिकता भोलीका दिनमा रहन्छ कि रहन्न?

के चुनाव नै नगरी अत्यन्त सौहार्दपुर्ण वातावरणमा, सबैलाई समेटेर, समावेसी, सहमति, सहभागिताकोमा कार्यसमिति बनाउन सकिदैन? यी सबैको वाधक मेरो गोरुको वारै टक्का जस्तो गरेर सक्रियरुपमा एनआरएनएमा आफ्नो वैचारिक संगठनको मात्र उपस्थिति होस् भन्ने स्वार्थपुर्ण र अर्थपुर्ण व्यवहार हस्तक्षेप र हर्कत वैचारिक संगठनहरुले गरेका कारणले हो। उनीहरु पर्यवेक्षक जस्तो मात्र बसीदिएर राय, सल्लाह र सुझाव दिए, चुनावी वातावरण नबनाएर सहमतिको वातावरण बनाइदिए कति उत्कृष्ट हुनेथिए प्रवासका वैचारीक संगठनहरु?

एनआरएनए आइसीसीका वर्तमान सचिव, मध्यपूर्व संयोजक, आइसीसीका प्रतिनिधिसमेत कतारमै रहेका मित्रहरु रहेकाले एनआरएनएलाई स्वच्छ, साझा, समावेसी, सहमतिको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेर चुनाव गर्नै नपर्ने वातावरण मिलाउनुपर्ने हो तर ख्वै ? उँहाहरुले अहिले रेफ्रि बनेर मैदानमा एनआरएनएको मैदानमा उत्रेका वैचारिक संगठनहरुको घम्साधम्सीमा कसै एकपक्षको मात्र जीतको रमिता देखाउने होइन, निर्णयात्मक निर्णय दिएर जितहारका लागि मैदानमा नउत्रने वातावरण बनाउनोस्।

स्वतन्त्ररुपमा उठेका उमेदवारहरु जो काम गर्न सक्षम, योग्य, निष्ठावान भएरपनि निर्वाचित हुनसक्दैनन् र उनीहरु सजिलै पराजित हुने पनि निश्चित छ । यही भएर काम गर्ने र काम गर्न चाहने व्यक्ति व्यक्तित्वहरु समाजमा क्रमशः ओझेल पर्दै गएका हुन् । वैचारिक संगठनको छनौटबाट आएका सबै व्यक्ति तिनै वैचारिक संगठनप्रति उत्तरदायी हुनुपर्ने शाश्वत् सत्यतालाई नभुल्ने हो भने उनीहरु भोली को प्रति उत्तरदायी होला ? भन्ने पनि प्रश्न उठ्न सक्छ तर एनआरएनएमा गइसकेर पनि एनआरएनए प्रति उत्तरदायी नभई प्रतिनिधित्व गराउने वैचारिक संगठनप्रति चाही उत्तरदायी हुने प्रवृतिले मलजल पाएकै छ र एनआरएनएमा यसप्रति खासै गुनासो रहन्न पनि । यसपालीको चुनावी विशलेषण गर्ने नै हो भने पनि यीनै दुई वैचारिक संगठनको समर्थनमा रहेका उमेदवारहरुकै विच प्रतिस्पर्धा हुने हो । यदी यी वैचारिक संगठनहरु वाहेक तटस्थ चुनाव लड्नेहरु लड्नेमात्र हुन् बाजी मार्ने वैचारिक संगठनद्धारा समर्थितहरुका नै हुनेछ।

यो दुःखलाग्दो विडम्बना एनआरएनएमा छिरेको राजनिती चरित्र, वैचारिक संगठनहरुको राजनैतिक प्रभाव र राजनैतिक गुटबन्दी, पक्ष विपक्षको वैचारिक इगोको कारणले गर्दा भएको सबैले स्विकार्नु वाहेक अर्को विकल्प छैन। यसरी राजनैतिक चरित्रको वैचारिक गठबन्धनबाट गईसकेका निर्वाचित पदाधिकारीहरु भोली एनआरएनएमा गईसकेर कामगर्ने सवालमा पनि आआफ्ना वैचारिककोणमा कित्ताकाँट हुने निश्चित् छ । राजनैतिक, वैचारिक संगठनभित्र एकजनाले ल्याएको प्रस्ताव, योजनामा जसरी पक्षविपक्ष, बहुमत र अल्पमतको कोणबाट बहस, छलफल, क्रिया प्रतिक्रिया हुन्छ त्यसरी नै एनआरएनए एनसीसी आफ्नो कार्यक्रम र नितीहरु लिएर अघिबढदै जादा कदमकदममा यस्तै हुदै जानेछ । हरेक वैचारिक संगठनको सहभागिता, तालमेल, गुटबन्दी, गठबन्धनबाट एउटा सिंगो कार्यसमिति बनिसकेपछि आजसम्म भनिइदै आएको नेपाली समुदायको साझा सामाजिक संस्था एनआरएनएलाई समय र परिस्थितिले भोलीका दिनमा नेपाली समुदायको साझा राजनैतिक संस्था (संगठन) का रुपमा प्रवासमा रहेका नेपाली समुदायले चिन्नुपर्ने वाध्यता हुनसक्ने धेरै हदसम्म संभावना छ।

एनआरएनएको भावी कार्यक्रम र योजनाहरु जोसुकै जुन जस्केलोबाट गएपनि मिलेर समग्र नेपाली समुदायको हितको लागि काम गर्नैपर्ने हुन्छ । एनआरएनए कतारको कार्यसमिति भनेको यहाँ रहेका लाखौं नेपालीहरुको लागि हो र लाखौं नेपालीहरु नेपाली राजनिति र तिकड्मवाजी गर्न नभएर आफ्ना परिवारको रोजीरोटीका लागि आएकाछन् । उनीहरुका लागि सेवक बन्ने वाहेक अर्को विकल्प हुन्न।

यस्तो विषय संस्कार र परिस्थितिलाई एनआरएनएले आरम्भदेखिनै आफ्नो काबुमा ल्याउन नसकेको हुनाले यो अव आफ्नो सिमाभन्दा धेरै अगाडी बढीसकेको छ । जिल्ला लगायत विभिन्न सामाजिक संघसस्थाहरु समेत अहिले वैचारिक पृष्ठभुमिलाई ठयाप्प अगालेर संघसस्थाभित्र पनि राजनैतिक गुटबन्दी, पक्षविपक्ष, एकको प्रस्ताव र कार्यक्रम अकोैले नस्विकार्ने संस्कारको शूरु भइसकेको छ।

कतारस्थित एकजना जिल्लासंस्थाका कुनै राजनैतिक संगठनसंग आवद्ध नभएको हृदयदेखिनै समाजसेवाको भावना रहेको र अर्काको सेवाका लागि आफुलाई समेत भुल्ने व्यक्तिले भनेको कुरा स्मरण गर्न प्रासंगिक होला, उनको भनाई थियो “मैले समस्यामा परेका कतिपय नेपालीहरुको सहयोग र उद्धारका लागि, नेपालको गाँउघरको सानातिना विकास कार्यका लागि, विद्यालयको आवश्यक भौतिक सामाग्रीहरुको सहयोगका लागि जब मैले मेरो संस्थामा प्रस्ताव ल्याँएको थिँए तर सँस्थाका साथीहरुमध्ये केहीले यस्तो प्रस्ताव कांग्रेसको योजना अनुसार केहीले यो एमालेका सल्लाहअनुसार र केहीले माओवादीका अनुसार ल्याइएकोले यो पास नगर्ने भनेर समितिमा रहेका विभिन्न विचारका ती साथीहरु तर्किए । आखिर केहीपनि काम गर्न नसकेर संस्थाको हालत खराव हुदै जादैछ र संस्था विघटन गर्न वाहेक अव अर्को विकल्प पनि छैन।”

व्यक्ति, परिवार, समाज, देश विदेशलाई प्रभावित पारेर राखेको नेपाली राजनितिले गर्दा विश्व नेपाली समुदाय विचमा रहेको नेपाली विचको आपसी भाइचारा, सामुदायिक सम्बन्ध, सहयोगी भावना सबैसबै रित्तिएको वेलामा झन् विदेशस्थित विश्व नेपाली समुदायका विचमा इतिहासमै एउटा विशुद्ध साझा सामाजिक संस्थाको रुपमा जन्मिएको एनआरएनए हुर्किदै जाँदा आफ्नो मौलिक पहिचान र निर्णय दिने अख्तियारीलाई निकैपर छोडेर सबै राजनैतिक दलहरुले कपर्दी खेल्ने मैदानको रुपमा आफुलाई ढाल्दै लगेको हुनाले अव सायद एनआरएनएको जन्मताका एनआरएनएले कल्पना गरेको, खोजेको र चाहेको स्वस्फूर्त समाजसेवीहरु एनआरएनएले पाउला नपाउला, सामाजिक र समाजसेवाको चरित्र बोकेका समर्पित व्यक्तिहरुको पँहुच होला नहोला त्यो त हेर्न बाँकि नै छ । तर अवको एनआरएनएभित्र वैचारिक संगठनमा राजनैतिक चरित्रमै रहेका व्यक्तिहरुको प्रतिनिधित्व हुने हुनाले एकातर्फको अनुहारमा राजनैतिक कार्यकर्ता, स्वभाव र त्यो दलको झण्डा समेतको छाँयाचित्र देखिन्छ भने अर्कोतर्फको अनुहारमा सामाजिक चरित्रका भर्खरै स्केच गरिएको छाँयाचित्र तैरिरहेको देखिन्छ एउटा राजनैतिक संगठनको पानीको फोकामाथि।

(लेखक एनआरएनए एनसीसी कतारको आगामी अधिवेसनमा प्रथम उपाध्यक्षका उमेदवार हुन्)

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस