मीना सुवेदी –
जब मुलुकमा गणतन्त्र आयो त्यसबेला देखिनै नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि कुठाराघात हुन थाल्यो। अशान्ति, अन्यौल, अपराध लगायत अनेकन राजनैतिक दाउपेचको सुरुवात हुन पुग्यो। जनताले सोचेका थिए कि नेपालको गणतान्त्रिक व्यवस्था पनि भारत, चीन र अमेरिकाको जस्तै होला, शान्ति सुरक्षाको ग्यारेन्टी होला, गरिबी निर्मुल होला, राज्यले गाँस, बाँसको प्रवन्ध मिलाउला, मुलुकमा विकास निमार्ण द्रुत गतिले अघि बढला। उद्योग धन्दा कल कारखाना र रोजगार मुलक निकायहरु पर्याप्त मात्रामा वृद्धि होला। महंगी र लोडसेडिङ्गको मारबाट मुक्त होला, लाखौ संख्यामा रहेका युवा वेरोजगारहरु विदेशी भूमिमा पलायन हुन नपर्ला, मानव अधिकार र न्यायको लागि समान व्यवहार हुने, कानुन बन्ला र दैनिक उपभोग्य वस्तुको बजार भाउदेखि कालो बजारी र मिसावटप्रति राज्य, सरकार र सदन गम्भिर भएर नेपाली जनताको काम गर्ला भन्ने सबैले सोचेका विषय हुन् तर यी सबै कुरा “आकाशको फल आँखा तरी मर” भने झै हुन पुग्यो।
आज विश्वका सबै राष्ट्रले मानेको पत्याएको र विश्वास गरेको सानो तर प्रकृतिले भरिपूर्ण सगरमाथाको देश पशुपतिनाथको देश, बुद्धको देश लगायत विविध धर्म भाषा जातजाति र संस्कृति भएको नमुना युक्त देश हो यस्तो महान देशका हामी नेपाली जनता हौ तर आज हामीले नै “बुद्धको देशमा शान्तिको खोजी” गर्नुपर्ने बाध्यता र विवशता परेको छ।
नेपालको अवस्था स्वार्थी नेताहरुका कारण “लोभले लाभ, लाभले विलाप” हुन पुगेको छ। राजनैतिक ठूला पार्टीका ठूला नेता स्वार्थ र सत्तामा लिप्त भए । आफू र आफ्नो पार्टी जसरी बलियो र सम्पन्न बनाउने यी कुरा प्राप्तिका निम्ति साम, दाम, दण्डभेद अपनाएर सत्तामा पुग्ने, भागवण्डा लगाएर बाडिचुडि सत्तामा टिकी रहने जस्तो मनोवृत्तिले गर्दा न मुलुकमा शान्ति सुरक्षा नै भयो, न संविधान नै बन्यो, न कुनै विकास निमार्ण नै भएको छ । बरु नेपाली जनताले नेपालको इतिहासमै ठूलो दुःख, सास्ती, अशान्ति, असुरक्षा, महंगी भोगिरहेका छन् भने अखण्ड र स्वतन्त्र राज्य नेपालको अस्तित्व पनि दिन प्रतिदिन गुम्दै छ। विदेशी चलखेल र हस्तक्षेप बढ्नाले नेपालको राष्ट्रियतामाथि आँच पुगेको छ।
पृथ्वीनारायण शाहद्धारा निमार्ण गरिएको विशाल नेपालको सिमाहरु अतिक्रमण भएका छन् । जनआन्दोलन र संविधान सभाको चुनावको समय तात्कालिन सदन र सरकारले विसौलाख भारतियहरुलाई तराई / मधेशमा नागरिकता बाडे। जसको फलस्वरुप अन्य तराई मधेशवादी पार्टीहरू जन्मन पुगे भने सशत्र समूहहरु पनि जन्मिए जसले गर्दा वर्षौ देखी तर्राईका भूमि र जनता त्रसित हुनाले युद्ध भूमि जस्तो बन्न पुगेको छ । पहिला एउटै राष्ट्रिय भाषा, धर्म, संस्कृति र राष्ट्रियता थियो तर अब त्यो रहेन् । म नेपालको जनता होइन, तर्राई, मधेशको मात्र हूँ। राष्ट्रिय पोशाक दौउरा सुरुवाल होइन, भारतीयहरुले लाउने धोती कुर्था हो। भाषा नेपाली होइन हिन्दी हो भन्नका साथै राष्ट्रिय झण्डा, पोषाक जलाउने काम समेत भएको छ।
“हिमाल पहाड तराई, कोही छैन पराई” भन्ने मान्यतालाई लत्याईएको छ । आत्म निर्णयको अधिकार, एक मधेश, एक प्रदेश र संघियताका कुरा व्यापक उठ्न थालेका छन् । अनेकन फूलहरु एउटै धागोमा उनेपछि माला बने झै हामी नेपाली पनि एउटै राष्ट्रिय झण्डा मूनि अटाएका थियौ । एउटै राष्ट्रिय भाषा, पोशाक, धर्म, संस्कृति थियो तर अहिले गणतन्त्रको आगमन सँगै संघियता जातियता र विखण्डनका कुराहरु निस्केका छन् । २१ औ शताब्दीमा पनि जातियताको कुरा उठ्नु, कानुनी राज्य नहुनु, मानवअधिकारको हनन हुनु, महिला र पुरुषमा विभेद गरिनु, धिपधिपे टुकी बत्तीको उज्यालोमा भाग्य र भविष्य खोजिनु पर्ने हामी नेपाली जनता कति अभागी रहेछौ । सबैले सोचौ, बुझौ र मनन गरौ, हाम्रो अस्तित्व र मूल्यको खोजी गरौ र मुलुकप्रतिको कर्तव्य दायित्व र जिम्मेवारीको पालना गर्न पनि सिकौं । जुन देशमा हामी जन्मियौ, हुर्कियौ त्यो देशको जन्मभूमि र माटोप्रति हाम्रो कर्तव्य बोध हुनु जरुरी छ । एकै देशका हामी नेपाली दाजु भाई दिदी बहिनीप्रतिको सद्भाव, एकता र भातृत्वप्रति पनि संका र भयको दृष्टिले हेर्ने परिस्थितिको श्रृजना भएको छ । एकले अर्कालाई निस्तेज गर्ने, शत्रुताको व्यवहार गर्ने, दुस्मनको आँखाले हेर्ने संस्कारको विकास भएको छ । विदेशी मुलुक र त्यहाँका जनताप्रति हामी सद्भावको हात बढाउन आतुर छौ । तर एक नेपालीले अर्को नेपालीलाई मार्ने र पशुवत व्यवहार गर्ने गरिएको पाइन्छ । अनेकन खिचातानी, दाउपेच, षडयन्त्र, सत्ता, लिप्साका लागि भएका कारण नेपाल र नेपाली जनताको भाग्य र भविष्य पनि सुनिश्चित छैन । शान्ति र संविधान बन्ने कुनै लक्षण देखिएको छैन । आपसी मदभेद र कलह बढेको छ । ठुलो माछाले सानो माछालाई निले झै ठूला पार्टीका ठूला नेताले नेपाली जनता र साना पार्टीलाई निलेका छन्, दबाएका छन् । सो निर्णयले नै कानुन र नियम बनाएका छन् । देश र जनताप्रति उत्तरदायी बन्न सकेका छैनन् । प्रधानमन्त्री र मन्त्री को बन्ने, पैसा कमाउने, भ्रष्ट्राचार गर्ने र आफ्ना ? कार्यकर्तालाई भर्ती गर्न सकिने मन्त्रालय छान्ने कुरामा नै व्यस्त वर्तमान सरकार र ससंदबाट जनताले के नै अपेक्षा गर्न सकिन्छ र म्याद पुगि सकेको संसदलाई पटक पटक म्याद थपेर आफ्नो जागिरको तलबी भत्ता बढाउने सिवाय केही हुन सकेको छैन । नेपाली जनताले आफ्नो र सन्तानको गाँस काटेर स्वास्थ्य र शिक्षामा खर्चिनु पर्ने रकम राज्यलाई कर तिरेर सो कर बापतको राजश्व सभासदहरुलाई खुवाएर पाल्नु पर्दा पनि सहेर बस्नु परेको छ। किन कि सत्ता र भत्तामा चुर्लुम्म डुबेकाहरुको अगाडी “गोहीको अगाडी आँसु झार्नु जस्तै हो” जनताले रोग भोग र शोकसँग लड्नु परेको छ। गरिबी र अशान्तिले थिल्थीलो भएका जनता भोक भोकै बाच्न विवस छन्। योग्यता र क्षमता अनुसारको रोजगार छैन । रोग लागे औषधी उपचार छैन । शिक्षा आर्जनको लागि आर्थिक अवस्था कमजोर छ । हत्या हिंसा, आतंक अपहरण चोरी लुटपाट र डकैती बढ्दो छ। राजधानी त सुरक्षित छैन भने अन्य जिल्लाको अवस्था झनै डरलाग्दो र भयावह छ। बिजुली, पानी, सिँचाईप्रति सरकारको ध्यान गएको छैन। विकास निर्माण र कृषिमा नयाँ प्रवृदी प्रति पनि चासो छैन । हरेक दैनिक उपभोग्य सामान विदेशबाट आयात गर्नुपर्ने वाध्यता छ। कल कारखाना उद्योगधन्दा पूर्णरुपमा बन्द छन् भने खुलाउने प्रयास समेत भएका छैनन् । लाखौ लाख पढलेखेका युवाहरु विदेश पलायन हुने क्रम बढदो छ । विश्वको दोस्रो जलस्रोतको धनी देश नेपाल बाह्रै महिना लोडसेडिङ्गको मार खेपी रहेको छ । आर्थिक सामाजिक अवस्था दिन प्रतिदिन खस्कदो छ । समाजमा अनेकौ विकृत र विसंगती भित्रिएको छ । बलिया र शक्तिशालीहरुको गुण्डागर्दीले मुख्य स्थान पाएको छ। ती समूहहरु ठूला पार्टीको छत्रछाँयामा हुर्कीबढी समाजमा झनै अराजकता फैलाएका छन्। उनीहरु राजनैतिक आवरणमा देखा परेका छन् भने राज्यले जे गर्न पनि छुट दिएको छ र कुनै सजायको पनि भागिदार हुदैनन् उल्टो बरु पुरस्कृत हुने गरेका छन्। यसरी यो अभिभाज्य अखण्ड र स्वतन्त्र शान्ति प्रिय बुद्धको देशमा शान्तिको खोजी गर्नु हाम्रो बाध्यता र विवसता बनेको छ। विदेशीहरु शान्ति खोज्न नेपाल आउछन्। तर हामीहरु भने शान्ति र संविधान निर्माणका लागि भौतारि रहेका छौं।
subedi.meena@hotmail.com