ओम हमाल / एचकेनेपाल डट कम-
पोखरा, ३२ साउन। नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द “विप्लव”ले विगतमा भएको बिस्तृत शान्ति सम्झौतामा टेकेर नयाँ उच्चस्तरीय सम्झौता हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

संयुक्त आन्दोलन परिचालन समिति तमुवानद्वारा शुक्रबार पोखरामा आयोजित एक अन्तरक्रियामा सचिव विप्लवले यस्तो आवश्यकता औंल्याएका हुन्। उनले अघि भने, “कि उच्चस्तरीय सहमति चाहियो। नत्र संघर्ष हुन्छ।” अबको लडाईं सीधा काँग्रेससंगै हुने बताउंदै नेता विप्लवले, “ बिस्तृत शान्ति सम्झौता हुनु अघि माओवादीलाई युद्धबाट पछि फर्काउन नेपाली कांग्रेसले गरीब, किसान, मजदूर, भूमिहीनहरुका समस्याहरुको समाधान गर्ने लगायतका विषयमा सहमति दिएको थियो। अहिले केही कुरा पनि मान्दैनौं भनिरहेको छ । यो विश्वासघात हो । अहिले पनि कांग्रेससंग यिनै एजेण्डाहरुमा बहस भईरहेको” उल्लेख गरे । उनले स्पष्टसंग भने, “ अबको लडाईं सीधा कांग्रेससंगै हुन्छ।”

यद्यपि उनको नेपाली काँग्रेससंग आशा थियो, “समस्या समाधान गर्ने हो भने काँग्रेसले नै प्रस्ताव गरोस् कि न्यायलयमा माओवादीको ५० प्रतिशत सहभागीको सुनिश्चितता होस्। त्यो पनि सम्भव भएन भने ४० प्रतिशतसम्म त प्रस्ताव गरिदिए पुग्छ।” उनले न्यायपालिका, कार्यपालिका लगायत हरेक क्षेत्रमा माओवादीको समान सहभागिता हुनुपर्ने कुरामा जोड दिए।

“संसदीय व्यवस्था नै भन्ने हो भने हामीलाई धोखा हो ।” भन्दै उनले प्रश्न गरे,“ गरीब, किसान, मजदूर, भूमिहीनहरुका समस्याहरुको समाधान गर्ने सम्बन्धि एजेण्डाहरु नेताहरुले चाहेको बेलामा खल्तीबाट झिक्ने र नचाहिएको बेला खल्तीमा हाल्ने विषयहरु हुन् र ?” उनको स्पष्ट भनाई थियो, “यी एजेण्डाहरुलाई छाडेर हामी सत्ताको छिनाझप्टीमा जान सक्दैनौं।”

“संविधानका आधारभूत कुराहरु सहमति भएमा हामी लोकतन्त्रवादीहरुसंग मिलेर जान तयार छौं । गरीब, किसान, मजदूर, भूमिहीनहरुका समस्याहरुको समाधान गर्ने एजेण्डाहरुमा सहमति हुनुपर्छ । यिनै एजेण्डाहरु लिएर हामी आन्दोलनमा जान्छौं ।” भन्दै उनले “यी एजेण्डाहरु उठाउंदा सडकमा पछारिएर मर्नु प¥यो भने हामी फेरि एकपटक संघर्षमा जान्छौं । सहमति हुन्छ मिलेर जाऔं, मिल्दैन फेरि एकचोटि हामी रगत बगाउंछौं।” फेरि पनि रगत बगाउन आफूहरु तयार रहेको बताईरहंदा विप्लवले जनतालाई आश्वस्त पार्दै अघि थपे, “फेरि बन्दूक नै उठाउंछौं भन्ने चाहिं हैन । हामी गाउं–शहर सबैतिरबाट संघर्ष गर्छौं ।” कांग्रेस र उसका अन्य सहयोगी दलहरुले आगामी संविधानसभामा बहुमत ल्याएर माओवादीका एजेण्डाहरुलाई पूर्ण रुपमा अवैधानिक घोषणा गरेर खारेज गरिदिने पो हुन् कि भन्ने आशंका समेत गरे । त्यसो त उनले “आगामी संविधानसभा नेपाली कांग्रेस, राष्ट्रवादी वा माओवादीहरुको हातमा नहुन पनि सक्ने” बताए।

आगामी संविधानसभाले विगतका उपलव्धीहरुलाई उल्ट्याउन सक्ने सम्भावना रहेकोप्रति इंगित गर्दै नेकपा–माओवादी सचिव विप्लवले आगामी संविधानसभा चुनावपछि मुलुक सिक्कीमीकरण हुनसक्ने औंल्याए। विगतमा एक मधेश एक प्रदेशको नारालाई आत्मसात् गरेको नेकपा–माओवादीका सचिव विप्लवले– “एक मधेश एक प्रदेश हुनै नसक्ने” स्पष्ट पारे । तराई मधेशमा बसोवास गर्ने नेपाली नागरिकहरुले नेपाली नागरिकता पाउनुपर्नेमा कुनै दुविधा नरहेको बताउ“दै उनले नागरिकता संशोधन गरी विदेशीहरुलाई दिइएको नागरिकताहरु खारेजी हुनुपर्नेमा जोड दिए।

नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले भगवानसंग प्रार्थना गर्दै अघि भने, “सकेसम्म संविधानसभाको चुनाव वहिष्कार गर्ने वातावरण नै नबनोस्। यदि त्यस्तो अवस्था आयो भने हामी आमसभा गरेर जनतासंग भोट माग्छौं । उहाँहरु खुल्ला रुपमा आमसभा गरेर जनतालाई संविधानसभाको चुनाव वहिष्कार गर्ने आव्हान गर्नुहुन्छ।” विगतमा शासनसत्ताका नाममा जनताका अधिकारहरु खोस्ने राजाहरु कदापि राष्ट्रवादी शक्ति नहुने उनको टिप्पणी थियो।

सोही कार्यक्रममा नेकपा एकीकृत नेताहरु केशबहादुर परियार, रामजी थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष शंकर बराल, नेकपा माओवादीका केन्द्रीय सदस्य विष्णु भट्टराई, प्राध्यापकहरु डा. भवानी पाण्डे, मोहन गुरुङ लगायतका वक्ताहरुले एक जुगमा एक पटक हुने संविधानसभाको चुनावमा सबै राजनीतिक पार्टीहरु सहभागी हुनु पर्ने वातावरण सिर्जना गरिनु पर्नेमा जोड दिएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस