एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३१ साउन। सरकारले पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई राजकीय सम्मान नदिएको भन्दै पशुपति आर्यघाटमा उनका आफन्त तथा समर्थकहरुले नाराबाजी गरेका छन्। सरकारले पूर्वप्रधानमन्त्री श्रेष्ठलाई सम्मानका साथ अत्येष्ठी गरिने निर्णय गरेपनि नेपाली सेनाको तोप सहितको सलामी नदिने र मात्र प्रहरी निरीक्षकको सानो टोलीले सलामी दिने भएपछि रुष्ट बनेका थिए। उनका आफन्त र समर्थकले पूर्वप्रधानमन्त्रीको अपमान गरेको भन्दै सरकारबिरुद्ध नाराबाजी गरेका हुन्। पूर्वप्रधानमन्त्रीका हैसियतले पाउनु पर्ने सम्मान सरकारले नदिएको भन्दै उनीहरुले प्रहरीको सलामीसमेत अस्वीकार गर्दै सलामी दिन तथा शोक धुन बजाउन आर्यघाट पुगेका प्रहरी टोलीलाई त्यहाँबाट खेदेका छन्। प्रहरीसंग श्रेष्ठका आफन्त र समर्थकबीच ठेलम ठेल हुंदा केहीबेर तनाव पैदा भएको थियो।
पूर्वप्रधानमन्त्री श्रेष्ठलाई राष्ट्रिय झण्डा ओढाएर दाहसंस्कार गरिएको छ। त्यसबेला उनका आफन्त शुभेच्छुक तथा समर्थकहरुले पूराना राष्ट्रिय गान ‘श्रीमान गम्भीर …’ गाएर पूर्वप्रधानमन्त्री श्रेष्ठलाई अन्तिम बिदाइ गरेका थिए।
यसअघि, अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसहित शिर्ष नेताहरुले पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जलि दिएका थिए। धापासीस्थित निवासमा श्रद्धाञ्जलि दिनेहरुमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाओवादी नेता बाबुराम भट्टराई, माओवादीका अध्यक्ष मोहन वैद्य किरण, सचिव देव गुरुङ, नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंह, राप्रपाका नेता पशुपति शमसेर राणा, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरु थिए।
तस्वीर सौजन्यः प्रकाश दाहाल
सरकारले पूर्वप्रधानमन्त्री श्रेष्ठलाई सम्मानका साथ अत्येष्ठी गरिने
सरकारले पूर्वप्रधानमन्त्री श्रेष्ठलाई सम्मानका साथ अत्येष्ठी गरिने निर्णय गरेपनि नेपाली सेनाको तोप सहितको सलामी नदिने भएको छ। उनलाई प्रहरीको एक टुकुडीले शोक सलामी मात्र दिने तयारी गरेको छ। प्रमुख दलका नेताहरूले चासो नदिएका कारण सरकारको उपल्लो तहमा यसबारे ठोस छलफल हुन नसकेको अनुमान गरिएको छ। मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधव घिमिरेले सरकारले पूर्वप्रधानमन्त्री श्रेष्ठलाई सम्मानका साथ अत्येष्ठी गरिने निर्णय उनका परिवारलाई सुनाएका छन्। सरकारी निर्णयहरुमा शव बोक्ने बाहन, शव बोक्न ८ जनाको एक टोली, शव यात्राको क्रममा बन्दुक घोप्टो पार्ने, परिवारले स्वीकार गरेमा किरिया अवधिभरी २ जना सहयोगी उपलव्ध गराउने र आर्यघाटमा प्रहरी निरीक्षकको टोलीले सलामी दिने रहेका छन्।
पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको निधन
पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको ७१ वर्षको उमेरमा विहीवार विहान निधन भएको छ। भारतमा उपचार गराईरहेका श्रेष्ठले स्वदेशमै प्राणत्याग गर्ने ईच्छा गरेपछि मंगलवार राति उनलाई नेपाल ल्याइएको थियो। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको विहीवार बिहान ३ बजे ७१ वर्षको उमेरमा निधन भएको हो। गत वैशाख १७ गतेदेखि सिकिस्त विरामी परेका श्रेष्ठ फोक्सोको क्यान्सरबाट पीडित थिए।
पूर्वप्रधानमन्त्री श्रेष्ठको उपचार खर्चमा सरकार उदासिन रहेको भन्दै चौतर्फी आलोचना भएको थियो। श्रेष्ठको उपचारमा खर्च अभावका कारण परिवारले सहयोगको अपिलसमेत गर्नुपरेको थियो। सरकारले आर्थिक सहयोग गरेको भनेपनि अन्तिम पटकसम्म छोराले त्यो रकम नपाएको गुनासो गरेका थिए।
वि. सं. २०४२ देखि २०४६ सालसम्म नेपालको प्रधानमन्त्री बनेका श्रेष्ठ नेवारी समुदायका सदस्य थिए भने उनी नेपालको पहिलो जनजाति प्रधानमन्त्री थिए। सन् १९४२ मा सल्यानको खलंगामा जन्मिएका श्रेष्ठ प्रधानमन्त्री बन्नुअघि राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए। २०४६ को जनआन्दोलनमा विपक्षीमाथि व्यापक दमन गरेको आरोप लागेपनि उनलाई स्वच्छ छवि भएका प्रधानमन्त्रीको रुपमा लिइन्थ्यो। श्रेष्ठका श्रीमती, तीन छोरा र एक छोरी छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b