शिव मुखिया / एचकेनेपाल डट कम –
काठमाडौं, विभिन्न जातिविशेषमा प्रचलित तर आधुनिक समयमा लोपप्राय भइसकेको गीत संगीतलाई प्राण भर्ने ठेक्का लिएका हुन् उनले ? गायक इन्द्र गुरुङको लगाव हेर्दा यस्तै लाग्न सक्छ । कहिले पूर्वी इलाम त कहिले पश्चिम वैतडी सम्म पुगेर पुरानो भाका संकलन गर्ने हतारोमा भेटिन्छन् उनी । ‘जातिय संस्कृतिमा आधारित गीत संगीतलाई व्यूँझाउन लागिपरेको हुं’ करिव तीन दशक यस्तै खोजीमा डुवेका इन्द्रको संक्षिप्त जवाफ यस्तै आउंछ।
गाउं वस्ती चाहरेर पुरानो भाका संकलन गर्दैमा उनलाई सन्तोष मिल्छ रे । भन्छन्–‘आत्मा सन्तुष्टिको लागि गरेको, यसभन्दा अरु कुनै कारण छैन।’ हालैमात्र उनी खुम्वु क्षेत्रको भ्रमणमा निस्किए। सो क्षेत्रमा प्रचलित केहि भाका टपक्कै टिपेर ल्याए। र, आफै कार्यरत अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा स्वारकंन गराए । उनलाई स्वरमा साथ दिइन्, ल्हाक्पाडोमा शेर्पाले।
हालै उनी नादिन समूहको चौथो एल्वम सहित भेटिएका थिए। एल्वमको शिर्षक जुराइएको रहेछ, अल्लारे होस् । ‘यसमा तीनवटा गीत राखेको छु’ गुरुङ भन्दै थिए, ‘जसमा खम्वु क्षेत्रको मौलिक स्वाद भेटिनेछ ।’ मिङ्माल्हमु शेर्पा, कुमार तामाङ र अमृत विकले उनलाई शव्द संकलनमा सघाएका छन्।
पानी धाराको, हितैकी रानी, नादिन लगायतका उनको एल्वममा गाउँघरमा प्रचलित पुरानो भाकाले पुर्नजीवन पाएको छ। भौगोलिक क्षेत्र एवं जाति अनुसार फरक फरक स्वादको गीत प्रचलनमा रहेका उनी बताउंछन्। ‘तर आधुनिक सभ्यताको सिको गर्ने क्रममा त्यस्ता गीत संगीत मर्न थालेको छ’ गुरुङ भन्छन् । हुन पनि पुराना भाकाको गीत संगीतलाई पछ्याउने युवापुस्ताको खडेरी नै लागेको छ।
हरेक जात जातिले मौलिक संस्कृतिको रुपमा आफ्नै खाले गीत संगीतलाई अंगल्दै आएको उनको अनुभव छ । ‘तर, पछिल्लो पुस्ताले आफ्नो जातिय संस्कृतिलाई चटक्कै विर्सिएका छन्’ गुरुङ भन्छन्–‘आफ्नो संस्कृतिवाट उनीहरुले गौरव गर्नुपर्नेमा तिरस्कार गरिरहेको पाइन्छ ।’ यस्तै कारणले परम्परागत संस्कृतिमा आधारित गीत संगीत मरिरहेको उनको ठम्याइ छ।
उनी गाउन मात्र जान्दैनन् नाच्नमा पनि उत्तिकै खप्पिस छन्। त्यसो त राजधानीकै कतिपय विद्यालयमा उनी नृत्य निर्देशकको रुपमा काम गरिरहेका छन् । गाउन संगै नाच्न पनि जान्ने भएपछि उनलाई जातिय संस्कृतिमा आधारित गीत संगीत संकलनमा झनै फाइदा पुगेको छ । खासगरी गीत र भाका संकलन संगै त्यससंग सम्वन्धित नृत्यवारे पनि उनी जानकारी राख्छन् । भन्छन्–‘गीत र नाच एउटै सिक्काको दुई पाटो हो, त्यसैले दुवैमा मेरो लगाव छ।’
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b