हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, २९ साउन। नेपालको आदिवासी जनजाति (मुलवासी) मध्ये तमु जातिको परम्परागत मौलिक साँस्कृतिक पर्व ट्होटे मंगलवार पोखरामा तुम धिं नेपालको आयोजनामा धुमधामका साथ मनाइएको छ।

पोखरा बगरस्थित पुरानो टुँडिखेलमा भेला भई पितृ र प्रकृतिको पुजा सम्पन्न गरी मौलिक पोशाक, झाँकी, बाजागाजा सहित र्याली बागबजार, विन्दवासिनी, नालाको मुख, सिद्धार्थचोक, विपी चोक, भिमसेन चोक, नयाँबजारहुदै तमु धिं नेपालमा पुगी समापन समारोहमा परिणत भएको थियो।

ट्होटें र्यालीमा सिमपानी तमु समाज सर्वोत्कृष्ट हुदै चार हजार नगदसहित पुरस्कृत भयो भने झाँकीमा फूलवारी तमु समाज, भेषभुषामा याङ्जाकोट तमु समाज, सहभागीतामा सुर्यमुखी तमु समाज, परम्परागत बाजामा दुधपोखरी तमु समाज र ट्होटें बाजामा तमु सहयोग समिति पार्दी दुइहजार पाँच सय रुपैया सहित प्रमाण पत्रबाट कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइराला, विशेष अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, तमु धिं नेपालका अध्यक्ष कर्म तमु लगायतले पुरस्कृत गर्नुभएको थियो।

यसैगरी, तमु जातिको पौराणिक नृत्य घाँटु प्रर्दशन गरेको आँधीखोला तमु समाज विशेष पुरस्कारबाट पुरस्कृत भयो भने कोल्माबहाकोट तमु समाज, नौलो सम्झना तमु समाज, हिमाली गुरुङ परिवार, तमु विद्यार्थी समिति, ल्वाङ तमु समाज र बगर तमु समाज सान्त्वना हुदै एक हजार नगद सहित प्रमाणपत्रबाट पुरस्कृत भए ।
उत्कृष्टता समाजहरुको नामावली छनौट समितिका सचिव जुनाकुमारी तमुले घोषणा गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले समाज परिवर्तनका लागि सद्भावपूर्ण एकता आवाश्यकतामा जोड दिनुहुदै ट्होटें जस्तो मौलिक साँस्कृतिक सम्पत्तिले मुलुकलाई सम्वृद्ध बनाउने बताउनुभयो। तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, पोखरा उपत्यका नगर विकाश समितिका निवर्तमान अध्यक्ष जितबहादुर तमु मामा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्ती भुजेल, नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगर शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने ट्होटें समिति संयोजक रुद्रबहादुर तमुले स्वागत र महासचिव देविराज तमुले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा अरमान तमुले ओसो प्रदो तमुमे गीत गाउनु भएको थियो भने तमु विद्यार्थी समितिका कलाकारहरुले नृत्य प्रस्तुती र समाजहरुबाट विभिन्न मौलिक साँस्कृतिक प्रस्तुति गरेका थिए।

यसैबीच, तमु जातिको मौलिक साँस्कृतिक पर्व बाटुलेचौरमा रहेका तमुहरुको साझा संस्था बाटुलेचौर तमु समाजले पनि ट्होटें पर्व मनाएको छ। मंगलवार समाजमा आवद्ध ५८ तमु घरहरुमा परम्परागत सास्कृतिक पर्व ट्होटें मनाइएको हो। समाजका अध्यक्ष सुवेदार रितबहादुर तमुको अगुवाई मा समाजघरबाट ट्होटें खेल्न शुरु गरी समाजमा आवद्ध सदस्यहरुको घर घर मा ट्होटें खेलिएको समाजका सचिव सन्तबहादुर तमुले जानकारी दिनुभयो। ट्होटेंमा समाजका बाबाहरु सहित, आमा समुह, युवा र ससाना बालवालिकाको पनि सहभागिता रहेको सल्लाहकार महेन्द्र तमुले जानकारी दिनुभयो।

फोटोः उमेश पुन / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस