एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ साउन। संगठनभित्र बढेको आर्थिक अपारदर्शिता, स्वेच्छाचारिता र विधी उल्लघन लगायतका विषयलाई लिएर लामो समयदेखि आरोप प्रत्यारोपमा रहेका यूवा संघ नेपालका अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष झपटबहादुर रावल पक्षले अन्ततःसंघको बैठक र कार्यक्रमहरु नै समानान्तर ढंगले अघि बढाएका छन्।

महाधिवेशन पछि गत साउन १९ गते बसेको संगठनको दोस्रो स्थायी समिति बैठकले साउन २४ देखि २६ सम्म राजधानीमा केन्द्रीय कमिटिको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेपनि अध्यक्ष बस्नेतले बैठकको निर्णय लत्याउँदै फेसबुक मार्फत आगामि साउन ३१ र ३२ गते विराटनगरमा गर्ने जानकारी दिएपछि दुई पक्षवीचको आन्तरिक विवाद बाहिर आएको हो।

स्थायी समितिको निर्णय विरुद्ध अध्यक्ष बस्नेत गएपछि बहुमत सदस्यको नेतृत्व गरेका उपाध्यक्ष रावलले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउन ३१ र ३२ गते नै समानान्तर रुपमा पार्टी मुख्यालय बल्खुमा बैठक गर्ने घोषणा गरे । त्यस्तै उनीहरुले अध्यक्ष समूहले भदौ १ र २ गते धरानमा राष्ट्रिय महिला भेलाको आयोजना गरेकोमा सोही मितिमा काठमाडौ राष्ट्रिय सभागृहमा राष्ट्रिय कार्यकर्ता भेला र भदौ १४ र १५ गते राजधानीमै जिल्ला अध्यक्ष भेला गर्ने घोषणा समेत पत्रकार सम्मेलन मार्फत गरेको छ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले अध्यक्ष बस्नेतले अपराधको आरोप लागेका सचिवालय सदस्य पर्शुराम बस्नेतलाई संगठनभित्र स्थापित गर्ने योजनाका साथ स्थायी समितिलाई बहिस्कार गर्दै सम्मेलन आयोजना गरेकोले आफूहरु त्यसका विरुद्ध अलग्गै अघि बढ्न बाध्य भएको दावी गरे।

उनले अध्यक्ष बस्नेतमाथि महाधिवेशनले बनाएका समितिलाई बहिस्कार गरेको, एकै ठाँउमा तीन तीन राष्ट्रिय स्तरका कार्यक्रम जवरजस्ती गर्न खोजेको, सुनसरी,मोरङ पार्टी र सुनसरी यूवा संघले कार्यक्रम गर्न नसक्ने पत्र पठाए पनि जवरजस्ती गर्न खाजेको, कोशि अञ्चल कमिटिमा विवाद रहेको अवस्थामा कोशिमै कार्यक्रम गर्न लागेको, संगठनलाई ब्यक्तिगत सनकको भरमा चलाएको र आर्थिक पारदर्शिता नगरेको आरोप लगाउँदै आफूहरु संगठनभित्र हुर्केको निरकुंशताको विरुद्ध अलग्गै कार्यक्रम गर्न बाध्य भएको बताए।

रावलले आफूहरुलाई मिडियामार्फत हुँदै नभएको विषयहरुमा आरोप लगाएर बदनाम गर्न खोजेको भन्दै त्यसलाई प्रमाणति गर्न चुनौति दिए। उनले भने–हामीमाथि लगाएको आरोप प्रमाणीत गरे राजनीतिनै छाड्न तयार छौ। पत्रकार सम्मेलनमा रावलले संगठनको महाधिवेशनको नाममा उठाएका करौडौ रकम अध्यक्ष र उनका समूहले हिनामिना गरेको आरोप लगाउँदै निष्पक्ष लेखापरिक्षणको समेत माग गरे।

उनले संगठनको बुटवल अधिवेशनमा लेविबापतको ५० करोड, स्थायी समितिबाट साढे पाँच करोड, पार्टीबाट मासिक ३० हजारको दरले प्राप्त ३० महिनाको रकम, नर्वेजियन राजदूतावासले दिएको पाँच लाख, नेपाल सरकारले यूवा सम्मेलनको नाममा दिएको १६ लाख, दक्षिण अफ्रिका जाँदाको ८ लाख र सहयोग रसिदबाट प्राप्त कुनै पनि रकमको हिसाव किताव अहिलेसम्म नदिएर हिनामिना गरेको आरोप पनि लगाए।

पत्रकार सम्मेलनमा कार्यक्रमको विषयमा निर्णय गर्ने १७ सदस्यीय स्थायी समितिमध्ये ४ उपाध्यक्ष र ६ सचिव गरी १० जना उपस्थित थिए । जसमा रावलसँगै दिलकुमारी पन्त, सूर्य ढकाल, राजु गुरुङ, नरेशकुमार शाही, मञ्जु यादव, सरोजदिलु विश्वकर्मा, हस्तबहादुर शाही, क्रान्ति बुर्लाकोटी र अशोक चन्द रहेका छन् । स्थायी समितिको बहुमतको आधारमा अध्यक्षको मनोमानीताको विरुद्ध आफूहरुले राजधानीमा अलग्गै कार्यक्रम गर्ने निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस