विजय नेपाल / एचकेनेपाल डट कम –
पोखरा, २८ साउन। साउन महिनाको चौथो तथा अन्तिम सोमबार पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा ५० हजार बढी भक्तजनले दर्शन गरेका छन्।

बगरस्थित गाइघाटदेखि अघिल्ला सोमबारजस्तै बोलबम जलयात्रामा सहभागी भक्तजन मन्दिरमा पूजाआजा तथा जल चढाउन दिउँसो अबेरसम्म पालो कुरेर बसेका थिए। भक्तजनको उत्साहजनक उपस्थितिले आयोजक बोलबम समितिलाई व्यवस्थापनमा हम्मे–हम्मे परेको थियो। बोलबम संयोजक शंकर खरालले भन्छन्, पोखरामा कुनै पनि धार्मिक संघसंस्थाले आयोजना गरेको धार्मिक कार्यक्रममा यति ठूलो उपस्थिति कहिल्यै देखिएन।

हरेक वर्ष साउनको सोमबार बोलबम कार्यक्रममा भक्तजनको उपस्थिति बढ्दै जाँदा आगामी दिनमा व्यवस्थापनका लागि आयोजकलाई समेत थप चुनौती देखिन्छ। फेवाताल किनार केदारेश्वर मन्दिरमा ११ वर्षदेखि साउन महिनामा बोलबम जलयात्रा हुँदै आएको छ। यहाँ बोलबम भित्राउनुको श्रेय पनि बोलबम समितिलाई जान्छ। जसका कारण पछिल्लो समय केदारेश्वर मन्दिर बोलबमधामको रुपमा पनि चिनिने गरेको मन्दिरका अध्यक्ष सूर्यनाथ अधिकारीले बताए। उनी हरेक वर्ष बोलबम कार्यक्रम उल्लासमय बन्दै जाँदा केदारेश्वर मन्दिर यहाँ धार्मिक पर्यटन प्रबद्र्धनका लागि गतिलो सम्भावना बोकेको दाबी गर्दछन्।

सोमबार भगवान शिवको नाममा ब्रस्त बसी शिवको पूजाआजा र शिवलिंगमा जल चढाउन सपरिवार पनि मन्दिर पुगेका थिए। केटाकेटी, युवायुवती तथा उमेर ढल्केकाहरु पनि घण्टौ लाइन बसेर जल चढाउन पालो पर्खेका थिए । जल चढाउनका लागि मन्दिरका चारवटै द्वार खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजन मन्दिर आएको मन्दिरका पुजारी इन्द्र पौडेलले जनाए । भक्तजनहरु कास्कीलगायत छिमेकी जिल्लाहरुबाट पनि केदारेश्वरमा आएका छन्।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रा नगरका विभिन्न भाग परिक्रमा गरी मन्दिरमा पुगेको थियो। ¥यालीमा सहभागी भक्तले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए।

गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रासहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको लागि अहोभाग्य रहेको हुँदा टाढाबाट पनि भक्तजन मन्दिरमा आएको मन्दिरका उपाध्यक्ष दयानन्द पोखरेलले जनाए । बोलबम कार्यक्रमका कारण बैदाम तथा बगर क्षेत्रमा विभिन्न पूजासामग्रीको किचबेच, भजनकीर्तन, नाचगानलगायतले मेला नै लागेको भान हुन्थ्यो। बोलबममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय क्लब तथा आमा समूहको पनि उत्तिकै सक्रियता जनाएका थिए।

विभिन्न भजनमण्डलीहरु नेपाल तान्त्रिक ज्योतिष, बूढानिलकण्ठ महादेवस्थान, कवाड संघ धार्मिक झाँकी, फेवाताल नौमति बाजा संरक्षण समिति, आर्वाविजयको महाप्रभुधाम, श्री हरिधर्म जागरण भजन समूह, बोलबम भजन, चुरुङ्गा भजन, धर्मजागरण भजन, अन्नपूर्ण भजन, नेपाल लोकभजन चुड्का संरक्षण समिति, जनजागरण भजन समुह दुलेगौडालगायत भजन, विभिन्न आमा समूहलगायतले भगवान शिवको नाममा भजन प्रस्तुत गरी भक्तजनलाई नचाएका थिए । नाङ्गो खुट्टामा पैदलयात्रामा रहेका भक्तजन सडकमा नाचगान गरी रमाइलो गरेका थिए।

झाँकीसहितको ¥यालीमा सहभागी भक्तजनलाई सडक चोकचोकमा पानी, सर्वत तथा फ्रुटी बाँडिएको थियो । यता, केदरोश्वर मन्दिरमा भक्तजनलाई एनबी व्यवसायी समितिले प्रसाद ग्रहणको ब्यवस्था मिलाएको थियो।

यसैबीच, भदौको ३ गते सोमबार पनि श्रावणी सोमबार तिथि परेको हुँदा बोलबम समितिले शुक्लागण्डकीको जल लिएर म्याग्दीस्थित गलेश्वर शिव मन्दिरमा चढाउने र कालीगण्डकीको जल केदारेश्वर मन्दिरको ज्योतिर्लिङमा जलार्पण गर्ने व्यवस्था मिलाएको मन्दिरका कोषाध्यक्ष मीना भट्टराईले जनाइन्।

फोटोहरुः सुरज गुरुङ

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस