रविन लिङदेन ‘आम्भु जेठा’ / एचकेनेपाल डट कम –
हङकङ, ११ अगष्ट। हङकङवासी नेपालीहरुले १९औं विश्व आदिवासी दिवस शनिवार धुम–धामले मनाएका छन्। विश्व आदिवासी दिवसका प्रमुख अतिथि भवानी वरालले भने “जाति भनेको राष्ट्र हो, राष्ट्रियता हो । राष्ट्रियताको आधारमा राज्यको पुनरर्संचना हुनु पर्दछ । ढुङ्गा–माटो, खोला–नालाको नामले राष्ट्रियता समेट्न सक्दैन।”

लिम्बुवानका अभियान्ता – इतिहासकार तथा वरिष्ठ पत्रकार वरालले हङकङमा १९औं विश्व आदिवासी दिवसको अवसरमा भने “नेपालमा राष्ट्रको परिभाषा गलत ढंगले सिकाइन्छ । हिमाल– पहाड, मेची–महाकाली, अंचल, जिल्ला, गाविस तमोर– कोशीलगायतको चार दिवारको सिमाना राष्ट्र हो भनेर।”


विश्व आदिवासी दिवसका प्रमुख अतिथि भवानी वराल। तस्वीरः रविन लिङदेन ‘आम्भु जेठा’ / एचकेनेपाल डट कम

अभियान्ता वराल भन्छन् “राजनैतिक विज्ञानको सिद्धान्तको आधारमा, सामाज विकासको सिद्घान्तमा राष्ट्र भनेको जाति हो । राष्ट्र भनेको लिम्बु हो, राष्ट्र भनेको राई हो गुरुङ, तामाङ, नेवार, मगर, खस, मधेसी, थारु, कोच, शेर्पा लगायतका समुदाय वा जाति राष्ट्र हो । जातियता नै राष्ट्रियता होे, चार दिवारको सिमाना राट्रियता हुनै सक्दैन राज्यको अंग मात्र हो अर्थात राज्य हो । महामानव गौतम बुद्घले पनि त्यहि कुरा भनेको थिए।”

“लिम्बुहरु के चाहन्छन त्यो राष्ट्रियता हो । गुरुङ, मगर, राई, तामाङ लगायतका जातिहरुले वा समुदायले के चाहन्छन त्यो राष्ट्रियता हो । यसलाई गलत परिभाषा गर्दै नेपाल एकीकरण पछि आदिवासी जनजातिमाथि विभेद गरेको छ, दमन गरिएको छ।”

सामाजिक विभेद, राजनैतिक, सांस्कृतिक, वर्गिय, राष्ट्रियताको विभेद हुदै आएको कुरा नेपालका राजनैतिक दलहरुले स्वीकार नगरेको कुरा उनले वताए । राजनैतिक दलहरुले यस्ता विभेद स्वीकार गरेको भए आजको भोलि नेपालमा संविधान वन्छ।

‘दलहरुमा त्यहि राष्ट्रिय विभेद स्वीकार गर्ने र स्वीकार नगर्ने कुरामा नै अन्तरद्घन्द भएको छ । नेपाल एकीकरण भए यता राष्ट्र र राष्ट्रियता माथि विभिन्न कारणले विभेद भएको छ, दमन भएको छ । विभेदपूर्ण दमन भएकै कारण अन्तरद्घन्द भएको छ । अन्तरद्घन्द भएकै कारण संविधान वन्न सकेन । जवसम्म अन्तरद्घन्द रहन्छ तवसम्मै संविधान वन्न सक्दैन।’

लिम्बुवानका अभियान्ता वराल १९सौं विश्व आदिवासी दिवसकै लागि आदिवासी जनजाति महासंघ हङकङको निमन्त्रणामा विहीवार सांझ नेपालबाट हङकङ आई पुगेका थिए । गैर आदिवासी मुलका वराललाई कार्यक्रममा भब्य स्वागत गरेका थिए। पहिचान सहितको संघिय लिम्बुवान र लिम्बुवान सहितको संघिय गणतन्त्र हुनुपर्छ भन्ने वराल यसअघि दक्षिण कोरिया, जर्मनलगायत विभिन्न राष्ट्रमा राजनैतिक विश्लेषकको रुपमा भ्रमण गरिसकेका छन्।

“आदिवासी जनजातिहरु वाहुन र हिन्दु धर्मको विरोधी नभएको तर वाहुनवाद र हिन्दुवादको मात्रै विरोधी भएकोले आदिवासी जनजातिको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वराललाई निम्त्याईएको हो” भन्दै शुभकामना मन्तब्यको क्रममा भक्त दुराले आफ्नो कुरा राखे। शुभकामना मन्तब्यको क्रममा महावाणिज्यदूतको विषयको आन्दोलन जारी रहेको उनले बताए।

प्रतेक वर्ष मनाउने विश्व आदिवासी दिवसको अवसरमा हङकङमा आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिलाको घोषणा हुने गरेको छ। १९औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा वर्ष पुरुष नरेश सुनुवार भए भने महिलामा चन्द्र ज्योति आले मगर भईन्। नरेश सुनुवार – सुनुवार समाज हङकङका अध्यक्ष हुन् भने चन्द्र ज्योति आले मगर – मगर संघ हङकङको अध्यक्ष हुन्।

हरेक वर्ष अगष्ट ९ मा मनाईने विश्व आदिवासी दिवस हङकङमा समय मिलाएर मनाउने गरेको पाइन्छ। नेपाली आदिवासी जनजाति महासंघ हङकङले २००६ सालदेखि यहाँ विश्व आदिवासी दिवस मनाउदै आएको छ।

१९औं अन्तर्राष्ट्रिय आदिवासी दिवस – आदिवासी जनजाति महासंघ हङकङले याउ मा तेई कम्युनिटस् हलमा शनिवार सांझ एक कार्यक्रमको आयोजना गरि विभिन्न जातिय झाँकीसहित मनाएको थियो।

जातिहरुको झाँकी प्रर्दशन गर्ने क्रममा मगर संघ हङकङ, किरात याक्थुङ चुम्लुङ हङकङ, तामाङ घेदुङ संघ, शेर्पा समाज, तमु समाज लगायतका विभिन्न जातिहरुले आ–आफ्नै भेष–भूषा, सांस्कृतिक गाजा–वाजा सहितको झाँकी प्रदर्शन र नृत्य प्रस्तुत गरेका थिए।

आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष एम वी थापा मगरको अध्यक्षतामा भएको दिवस महासचिव हस्त अरुमहाङ (मास्वा)ले संचालन गरेका थिए। कार्यक्रममा महासंघका उपाध्यक्ष दुर्गा तमु मिलनले स्वागत तथा भक्त दुराले शुभकानमा मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रममा हङकङका स्थानीय सामाजिक संघ–सस्थाहरु र विभिन्न राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिकरुलाई अतिथिको आसन ग्रहण गराएको थियो भने सञ्चारकर्मी समेतलाई आसन ग्रहण गराएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस