मनहरि तिमिल्सिना / एचकेनेपाल डट कम-
पोखरा, २५ श्रावण। एकीकृत माओवादीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर” ले जनता र परिवर्तनको पक्षमा उभिन नसक्नेहरुसँग जतिसुकै ज्ञान र प्रमाणपत्र भएपनि त्यो बुद्धिजीवी हुन नसक्ने बताउनुभएको छ।

एकीकृत नेकपा (माओवादी) बुद्धिजीवी विशेष क्षेत्र, कास्कीले पोखरामा आयोजना गरेको संविधान सभाको दोस्रो निर्वाचन र क्रान्तिकारी बुद्धिजीवीहरुको भूमिका विषयक अन्तरक्रियामा बोल्दै नेता शर्माले यस्तो बताउनुभएको हो । नेता शर्माले भन्नुभयो–‘सर्टिफिकेट हासिल गर्ने मान्छे जागिरे हुन सक्छ, तर जनताको पक्षमा नउभिएसम्म त्यो बुद्धिजीवी हुन सक्दैन।” नेता शर्माले बुद्धिजीवीहरु अवसरवादी हुन्छन् भन्ने धारणा सही नभएको भन्दै अवसरवादी हुने नहुने कुरा व्यक्तिको प्रवृत्ति, विचार र व्यवहारले निर्धारण गर्ने बताउनुभयो । क्रान्तिकारी बुद्धिजीवीको भूमिकाबारे चर्चा गर्दै नेता शर्माले भन्नुभयो–‘निर्वाचनको पक्षमा वातावरण निर्माण गर्न तपाइहरुको महत्वपूर्ण भुमिका छ, गाउँ–गाउँका जनतालाई परिवर्तनको पक्षमा जनमत प्रकट गर्ने गरि तपाईहरु पनि अभियानमा लाग्नुहोस्।”

कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य हुतराज शर्मा, नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य गीताकुमारी पौडेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भूमिप्रसाद शर्मा, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ कास्कीका सचिव नवराज अधिकारी, गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य गोविन्द पौडेल, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ कास्कीका अध्यक्ष मदन भण्डारी लगायतले पहिचानसहितको संघीयता, राजनीतिक परिस्थितिको समिक्षा र बुद्धिजीवीहरुका गतिविधिहरुबारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा माओवादी राज्य समिति सदस्यहरु आसमान रोका, लालमोहन तिवारी, बखानसिंह तमु, बसन्त शर्मा, राजेन्द्र न्यौपाने, विश्वप्रकाश लामिछाने, शिब बराल, राज्य सल्लाहकार राजेन्द्र तिवारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार एवम् लेखक कृष्ण अञ्जान ज्ञवालीको गीति क्यासेट ‘बगाले चरी”को जनार्दन शर्मा ‘प्रभाकर” ले बिमोचन गर्नुभएको थियो । दीपक कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राज्य समिति सदस्य मनहरि तिमिल्सिना र स्वागत रामप्रसाद पौडेलले गर्नुभएको थियो।

यसै गरि माओवादी नेता प्रभाकरले पोखरा १५ को पट्नेरीमा रहेका सुकुम्वासीहरुसँग भेटघाट गर्नुभएको छ । भेटघाटमा सुकुम्वासीहरुले भौतिक संरचना, लालपुर्जा, मतदाता नामावली लगायतका आफ्ना समस्या राखेका थिए । नेता शर्माले समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने जवाफ दिनुभएको थियो।

यसैगरि एकीकृत माओवादीले ल्वाङ्घलेल र रिभान गाबिसको संयुक्त प्रशिक्षण सम्पन्न गरेको छ। प्रशिक्षणमा माओवादी केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काले जनताको परिवर्तनको यात्रा नरोकिएको बताउनुभएको छ। ‘संविधान सभाले जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्छ” उहाँको भनाई थियो । कार्यक्रममा माओवादी केन्द्रीय सल्लाहकार बाबुलाल पुन, क्षेत्र नं. ४ का संयोजक गुप्त हमाल ‘सन्देश” लगायतले सर्वहारा आन्दोलन चूनौतिपूर्ण मोडमा रहेको भन्दै निर्वाचनलाई सर्वहारा आन्दोलनको चूनौतिपूर्ण कार्यभारका रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रेमप्रसाद न्यौपाने, रिम बस्याल, चन्द्रकान्त पौडेल, देवीलाल लामिछाने, चन्द्र विक लगायतले बोल्नुभएको थियो । पूर्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ओम गुरुङले गर्नुभएको थियो।

यसै गरि क्षेत्र नं. १ को पार्चेमा जनभेला र युवाहरुको भेला सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै माओवादी केन्द्रीय सदस्य सुकबहादुर रोकाले जनताको बलमा नेपाली क्रान्ति विजयको दिशातिर अगाडि बढेको भन्दै जनमतकै बलमा त्यसलाई सम्पन्न गरिने बताउनुभएको छ । ‘जनताकै बलमा यो अवस्थामा आइपुगेका छौं, फेरि पनि जनताकै बलमा परिवर्तनको प्रक्रिया पुरा गर्न हामी संकल्पवद्व छौं” उहाँको कथन थियो । कार्यक्रममा क्षेत्र नं. १ का संयोजक गंगा पोखरेलले पनि प्रशिक्षण दिनुभएको थियो । भद्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भेलाको संचालन भद्रविर नेपाली र स्वागत मित्र गुरुङले गर्नुभएको थियो।

यता निर्मलपोखरीमा माओवादीले बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै माओवादी केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले माओवादीलाई हार्ने छुट नभएको भन्दै निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘निर्वाचन हाम्रा लागि अर्को अग्नीपरीक्षा हो, क्रान्तिकारीहरुको विजयका लागि तपाईहरु सम्पूर्ण रुपले समर्पित हुनुपर्छ ।” कार्यक्रममा क्षेत्र नं. ३ का संयोजक रामजी बराल ‘जीवन”, राज्य सदस्य हेमबहादुर थापा, निर्मलबहादुर अधिकारी लगायतले बोल्नुभएको थियो । भेलाले जनचेतना उमाविमा प्रकाश पौडेलको नेतृत्वमा १०१ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको छ।

तारा आचार्यको अध्यक्षता, टंक पौडेलको संचालन र मुक्ति पोखरेलको स्वागतमा सम्पन्न कार्यक्रममा नेताहरु लोकराज आचार्य, जीवन खाँती लगायतको उपस्थिति थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस