मनहरि तिमिल्सिना / एचकेनेपाल डट कम –
पोखरा, २३ साउन। एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान सभाको दोस्रो निर्वाचनलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ।

योङ्ग कम्युनिष्ट लीग, कास्कीले पोखरामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संविधान सभाको निर्वाचन मान्ने शर्तमा आफूहरु शान्ति प्रक्रियामा आएको स्पष्ट गर्नुभयो। वाइसिएलका जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो –‘संविधान सभाले जस्तोसुकै परिणाम दिएपनि निर्वाचन हुनैपर्छ। निर्वाचन बाहेक मुलुकका सामु अर्को कुनै विकल्प छैन।” नेपाली कांग्रेस र एमालेका नेताहरुमा संविधान सभा नहोस् भन्ने भित्री चाहना भएपनि जनदवावको कारण निर्वाचन स्वीकार्न बाध्य भएको उहाँको दावी थियो। उहाँले भन्नुभयो –‘ठूला पार्टीका केही नेताहरुलाई निर्वाचन मन परेको छैन, तर जनदवावका कारण निर्वाचनको प्रक्रियामा लतारिन बाध्य छन्।” देश निर्वाचनमा गइसकेको भन्दै उहाँले निर्वाचन नगर्ने शर्तमा सहमति नहुने तर निर्वाचनमा जान तयार भए सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्र हदैसम्म लचिलो हुने बताउनुभयो। ‘केही साथीहरु विभिन्न बहाना बनाएर निर्वाचनबाट भाग्ने र पूर्वराजासँग सहकार्य गरेर सत्ता साझेदारीको कुरा गर्नुभएको छ। तर त्यो कल्पना नगर्दा हुन्छ” उहाँको भनाई थियो।


पश्चिमाञ्चलका नागरिकबीच एक अन्तरक्रिया कार्यक्रममा सहभागी नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तस्बिरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

अबको निर्वाचनमा पहिचानका पक्षधरहरुलाई मिलाएर दुइतिहाई बहुमत आउने भन्दै युवाहरुलाई सिंह भएर गर्जन आग्रह गर्नुभयो। माओवादी कुखुरा नभई चिल भएको भन्दै प्रचण्डले भन्नुभयो–‘हामी कहिलेकाँही कुखुरा भएर जमिनमा खोस्रियौं होला, तर हामी चिल हौं, विस्तारित बैठकबाट हामी उडेका छौं, निर्वाचनबाट माओवादीको विजय नभएसम्म यो उडान रोकिन्न।” भिषण जनयुद्धको प्रक्रियाबाट आएका कमाण्डरहरुको काँधमा नयाँ निर्वाचनमार्फत परिवर्तनको पक्षमा जनमत सिर्जना गर्ने जिम्मेवारी आएको भन्दै उहाँले वाइसिएललाई नयाँ शिराबाट आन्दोलनको नेतृत्व गर्न निर्देशन पनि दिनुभयो। संविधान सभाको निर्वाचन व्यक्तिको विजय र पराजयको कुरा नभएर सर्वहारा आन्दोलनको भविष्यसँग जोडिएको भन्दै प्रचण्डले सानातिना कुरामा नअल्झिन कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रचण्डले भन्नुभयो –‘निर्वाचन कुनै उम्मेदवारले जित्ने, हार्ने कुरा होइन, वर्गको विजय र पराजयको सवाल हो। त्यसैले कसले जित्ने होइन, वर्गलाई कसरी विजयी बनाउने भन्नेमा तपाईहरुको ध्यान जाओस्।”

अर्को एक प्रसङ्गमा प्रचण्डले माक्र्सवादी दर्शनमा उग्रपन्थी र उग्रदक्षिणपन्थीको मिलनबिन्दु एउटै हुन्छ भन्ने कुरा आफूले किताबमा पढेपनि अहिले सारा नेपालीले बुझ्ने गरि व्यवहारमा प्रयोग भइरहेको दावी गर्नुभयो। उहाँले भन्नुभयो –‘बैद्यजीले पूर्वराजाको मोर्चा र सत्तासाझेदारीको कुरा गर्नु त्यसैको परिणाम हो।” निर्वाचनले कास्कीमा क्रान्तिकारीहरुको जीत सुनिश्चित गर्ने भन्दै उहाँले आगामी निर्वाचनमा ४ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा माओवादीका बरिष्ठ केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर” ले देशव्यापी रुपमा अग्रगमनको पक्षमा जनमत सिर्जना गर्न युवाहरु लाग्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो –‘हिजो युद्धको मोर्चामा जसरी डटेर लड्यौं, आज वैधानिक र चूनौतिपूर्ण मोर्चामा पनि डटेर विजय हासिल गर्न जरुरी छ ।” प्रशिक्षणमा वाइसिएलका केन्द्रीय सचिवालय सदस्य दीपक कोइरालाले तमुवानमा वाइसिएलका गतिविधिहरुको रिपोर्ट गर्नुभएको थियो।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्यहरु चित्रबहादुर श्रेष्ठ, चुडामणि खड्का, चन्द्रबहादुर खड्का, सुकबहादुर रोका, केन्द्रीय सल्लाहकार बाबुलाल पुन, राज्य सदस्यहरु आसमान रोका, लालमोहन तिवारी, रामजी बराल, गुप्त हमाल, बखानसिंह तमु, गंगा पोखरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रशिक्षणमा विभिन्न पार्टीबाट विद्रोह गरि एकीकृत माओवादीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा अधिवक्ता अग्नीधर पौडेल, मित्रलाल लामिछाने, हरिबहादुर घिमिरे, कुमार गुरुङ, एमाले क्षेत्रीय सदस्य दिपेन्द्र गौतम, विजय गुरुङ, हरिबिक्रम राणा, विनोद गुरुङ, सुनिल गुरुङ, लोकनाथ अधिकारी लगायतको नेतृत्वमा २४७ जना नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि एकीकृत माओवादीमा प्रवेश गरेका छन्।

वाइसिएलका केन्द्रीय सदस्य विनय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राजकुमार दुलाल र स्वागत लोकराज आचार्यले गर्नुभएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस