एनआरएन अमेरिकी च्याप्टरमा भाँडभैलो
निर्वाचन नगराएको जनाउँदै आधा दर्जन पदाधिकारीद्वारा राजीनामा

विजय पौडेल-
लामो समयदेखि रसियामा बसोबास र व्यवसाय गर्दै आएका डा. उपेन्द्र महतोको अभिभावकत्वमा सन् २००३ मा स्थापित प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनको विश्व सम्मेलन दैलोमै आइपुग्दा यसको अमेरिकी संगठन भने विवादमा फसेको छ। स्थापनाको प्रारम्भदेखि नै इलेक्सनभन्दा सेलेक्सनको बाटो अपनाउँदै आएको एनआरएनएनसीसी युएसए यतिबेला नेतृत्वविहीन मात्र होइन, पद लुटालुटको अवस्थामा पुगेको छ। लाग्छ, अहिले जसको शक्ति उसको भक्तिको सिद्धान्तबाट संस्था अगाडि बढेको छ। विश्व सन्देशका लागि न्यूयोर्क ब्युरोले तयार पारेको रिपोर्टः

सन् २००३ मा काठमाडौंमा विश्वभरिका नेपाली प्रतिनिधिहरु जम्मा भएर विश्व सम्मेलन गर्दै आफ्नो आधिकारिक रुप ग्रहण गरेको एनआरएनले झण्डै ६ वर्षसम्म अमेरिकामा आफ्नो शाखा विस्तार गर्न सकेन । अधिकांश नेपालीहरुको रोजाइको देश अमेरिकामा व्यापक मात्रामा नेपालीहरुको संख्या भए पनि प्रवासी नेपालीहरुको एउटै मात्र प्रतिनिधि संस्था एनआरएनको शाखा अमेरिकामा ६ वर्षसम्म नहुनु दुःखद थियो । अन्ततोगत्वा सन् २००९ मा एनआरएनले न्याकको साथ पायो । सन् १९९१ मा टेनेसी राज्यमा रोहिणीराज शर्माको अध्यक्षतामा दर्ता भएको नेप्लिज अमेरिकन काउन्सिल (न्याक)ले नै एनआरएनको अमेरिकी च्याप्टरको रुपमा काम गर्ने निर्णय ग¥यो । अमेरिकाभरि सञ्चालित संस्थाहरुको पनि संस्थाको रुपमा दर्ता गरिएको न्याकले नै एनआरएन अमेरिकी च्याप्टरको काम गर्ने निर्णयअनुसार तत्कालीन अवस्थामा न्याकको अध्यक्षता गरिरहेका डा. तारा निरौला एनआरएन अमेरिकाको पनि स्वतः पदीय हैसियतमार्फत अध्यक्ष हुन पुगे । तर, छोटो समयमा नै डा. निरौलाले पारिवारिक कारण देखाई पद छाडे । डा. निरौलाले पद त्याग गरेपछि सिनियर भाइस प्रेसिडेन्ट सुमन तिमल्सिनालाई अध्यक्षको भूमिका दिइयो । तर, त्यसबीचमा न्याक संस्थाहरुको पनि संस्था भएको कारण र प्रतिनिधिमूलक संस्था नभएको कारण न्याकलाई नाम परिवर्तन गर्न एनआरएन केन्द्रले दबाब दियो । एनआरएन प्रतिनिधिमूलक संस्था भएको कारण अन्ततोगत्वा न्याकले आफ्नो नाम परिवर्तन गरी एनआरएनएनसीसी युएसएको रुपधारण ग¥यो । जुन आजसम्म कायमै छ।

अपुरो कार्यकालको जिम्मेवारी निर्वाह गरेका सुमन तिमल्सिनाले सहमतिबाट पुनः अर्को कार्यकाल नेतृत्व गर्न पुगे । तत्कालीन निर्वाचन आयुक्त छेवाङ लामा शेर्पाले सुमन तिमल्सिनाविरुद्ध कसैको पनि दाबी विरोध नपरेपछि तिमल्सिनालाई नै पुनः अध्यक्ष घोषणा गरेका थिए । तर, यस विषयमा वर्तमान रिजनल कोअर्डिनेटर मुकेश सिंहको भनाइ भने पृथक छ । सिंह भन्छन्– ‘तत्कालीन अवस्थामा सुमन तिमल्सिनालाई पुनः अध्यक्षमा घोषणा गर्दा अर्को पक्ष पूर्णरुपमा सहमतिमा आएको थिएन, निर्वाचनमा जान चाहन्थ्यो । सहमति भएकै थिएन, तर जबर्जस्ती सहमति गराइयो ।’ सुमन तिमल्सिनाले दोस्रो कार्यकाल नेतृत्व गरिरहँदा उनीमाथि आर्थिक अनियमितताको आरोप लाग्यो अनि तिमल्सिनाले पदबाट राजीनामा दिए । एनआरएनएनसीसी युएसको अध्यक्ष पद रिक्त हुन पुग्यो । त्यसपछि सिनियर भाइस प्रेसिडेन्ट प्रह्लाद केसीले अध्यक्षको बागडोर सम्हाले । प्रह्लाद केसीले त्यसबीचमा छेवाङ लामा शेर्पालाई निर्वाचन गराउने अधिकारसहित निर्वाचन आयुक्तमा नियुक्त गरे।

सन् २०१२ को डिसेम्बर महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएका छेवाङ लामा शेर्पाले सदस्यताको कारण देखाई समयमा निर्वाचन गर्न नसकिएको जनाउँदै ९ जनाको कमिटी बनाएर ल्याएको बताउँछन् अध्यक्ष प्रह्लाद केसी । सेक्रेटरी अफ स्टेट टेनेसीको अथोरिटीबाट पुनः मेरै नेतृत्वमा नौ सदस्यीय एनआरएनएनसीसी युएसए मनोनीत गरेर छेवाङ लामा शेर्पाले आफूलाई दिएको केसीको भनाइ छ । आफूले त्यही कमिटीलाई थप कार्यकालका लागि मान्यता दिलाउन धेरै कोसिस गरे पनि प्रजातान्त्रिक प्रक्रियामार्फत नै नयाँ कमिटी निर्माण हुनुपर्ने सुझाव आईसीसीको थियो।

स्थापनाकालदेखि इलेक्सनको सट्टा सेलेक्सन मात्र हुँदै आएको एनआरएनसीसी युएसएलाई त्यसपछि बारम्बार आईसीसीलगायत केन्द्रबाट मात्र होइन अध्यक्ष जीवा लामिछानेले समेत प्रह्लाद केसीलाई निष्पक्ष निर्वाचन गराउन दबाब दिए । तर, केसी नेतृत्वको टिम निर्वाचन गराउने–नगराउने बीच दुई समूहमा विभाजित भयो । यो बीचमा केसीले निर्वाचन गराउन असफल भएको कारण देखाउँदै धन्यवादसहित निर्वाचन आयुक्त छेवाङ लामा शेर्पालाई पदमुक्त गरिसकेका छन् भने कानून व्यवसायी बन्दिता दाहालको अध्यक्षतामा निर्वाचन समिति गठन गरेका छन् । अध्यक्ष केसीले नयाँ निर्वाचन समिति बनाएपछि उनकै टिमभित्रका ६ जना सदस्यले अलग्गै बैठक गरेर उनलाई पदमुक्तको घोषणा गरे । तत्पश्चात् एनसीसी युएसएका उपाध्यक्ष शिवकुमार राईको बोर्डले नियुक्त गरेको वकिल डिपो अकिन’डेको कानूनी सेवा कम्पनीले अपदस्थ अध्यक्ष केसीलाई कानूनी उपचारका लागि ७ दिने म्यादसहितको पत्र काटेको थियो । गत आइतबारसम्म रिजनल कोअर्डिनेटर मुकेश सिंह, डेपुटी रिजनल कोअर्डिनेटर राम खरेल, आईसीसी एड्भाइजर अम्बिका अधिकारी, आईसीसी मेम्बर सोनाम लामा, सीआईसी कोअर्डिनेटर अञ्जन श्रेष्ठ, सीआईसी कोअर्डिनेटर डा. शम्भु ढुंगाना, आईसीसी च्यारिटी टाक्सफोर्स रमाकान्त खरेलले निर्वाचन सम्पन्न हुन नसकेको, संस्थाभित्रको सामान्य कुरामा मुद्दामामिलाको बखेडा झिक्न थालेको र अनावश्यक झगडा भएको कारण देखाई पदबाट राजीनामा दिएका छन् । उनीहरुले संस्थाको बचाउका लागि अर्को पक्षलाई संस्था चलाउन सजिलो होस् भनेर संयुक्त राजीनामा दिएको बताएका छन्।

प्रवासी नेपालीहरुको प्रतिनिधि संस्था, त्यसमा पनि प्रजातान्त्रिक मुलुकमा भएको संस्थाको नेतृत्वका लागि प्रजातान्त्रिक अभ्याससहितको निर्वाचनको पद्धतिमा जानुपर्छ र जानुहुँदैन भन्ने विवादका कारण अहिले एनआरएन अमेरिका लगभग नेतृत्वविहीन भएको छ । आगामी अक्टोबर महिनाको २१, २२ र २३ तारिख काठमाडौंमा एनआरएनको विश्व सम्मेलन सम्पन्न हुँदैछ । सम्मेलनअगाडि नै सबै देशहरुका एनसीसीहरुले प्रतिनिधि छनोट गरेर विश्व सम्मेलनमा पठाउनुपर्नेछ । तर, अमेरिकामा भने निर्वाचनको निहुँमा विवाद चुलिंदै जाँदा एनआरएनएनसीसी टुहुरो भएको छ।

ढुक्क हुनुहोस्, निर्वाचन पक्का हुन्छ
शिव राई
सिनियर भाइस प्रेसिडेन्ट

एनआरएनएनसीसी अमेरिकामा के भएको हो ?
प्रह्लादजी आफू मात्र एकलौटी ढंगले चल्ने, साथीभाइको कुरा नसुन्ने उहाँको बानीले यस्तो भएको हो ।

त्यही बानी भएकोले एनसीसी युएसएका अध्यक्षलाई पदबाट हटाउनुभएको हो ?
रबर्ट रुलअनुसार विशेष निर्णयहरु बहुमत सदस्यहरुले गर्न सक्छन् ।
प्रह्लाद केसीले निर्वाचन गरौं भन्नुभयो रे, तपाईंहरुले यही कमिटीले चलाऔं, किन निर्वाचन गर्ने भन्नुभयो रे नि ?
यो चाहिँ गलत हो । विधान हेर्नुभयो भने पहिलो वर्ष अध्यक्षको निर्वाचन गर्ने अनि दोस्रो वर्ष अन्य पदाधिकारीहरुको निर्वाचन गर्ने भन्ने नै छ ।

भनाइको मतलब निर्वाचन हुने समय भएकै थिएन ?
त्यसो पनि होइन । निर्वाचन नै भए पनि अध्यक्ष पदमा मात्र निर्वाचन हुने हो ।

आईसीसीले तपाईंहरुलाई पटक–पटक निर्वाचन सम्पन्न गर्नुस् भनेको छ, त्यो तपाईंहरुले नमानेको हो ?
आईसीसीको भन्दा पनि हामीले अमेरिकाको नियमअनुसार र स्टेट अफ टेनेसीको नियमलाई मान्नुपर्ने हुन्छ । बेसिक गाइड लाइन मात्र आईसीसीको लिने हो ।

त्यसो भए त एनआरएन नै चाहिएन नि ?
त्यो होइन । नियमकानून पालना गर्दा केलाई प्राथमिकता दिने भन्ने कुरा मुख्य हो ।
झगडा गर्नुभन्दा प्रजातान्त्रिक अभ्यासमार्फत निर्वाचनमा जान के आपत्ति भयो र ?
पहिला प्रह्लादजीले नै चुनाव गर्नुपर्दैन भनेर पाठ पढाउनुभयो तर अहिले उहाँले नै आफूखुसी गर्नुभयो । निर्वाचन गर्न आपत्ति छैन र निर्वाचन अवश्य नै गर्ने हो । समय पनि हेर्नुप¥यो नि ।

तपाईं अब स्वतः अध्यक्ष हो ?
बोर्डका साथीहरुले यक्टिङ प्रेसिडेन्ट भनेका छन् तर निर्णय भइसकेको छैन ।

निर्वाचन हुन सकेन झगडा भयो भनेर आईसीसी, डिआरसी, आरसी सबैले राजीनामा दिनुभयो रे नि ?
प्रह्लाद केसीजीले गल्ती गर्नुभयो, तर उहाँसँगै सबै जना सती जान खोज्नुभयो, मलाई यसबारे केही भन्नु छैन । एनसीसी उहाँहरुको राजीनामाको कारण होइन ।

निर्वाचन हुन्छ त अब ?
ढुक्क हुनुहोस्, निर्वाचन हुन्छ । पक्का हुन्छ ।

संस्थालाई बदनाम गर्न खोजेकाले छाडें
प्रह्लाद केसी
अध्यक्ष, एनआरएनएनसीसी युएसए

सन् २०१२ मा एनसीसीको कानूनअनुसार डिसेम्बर ३१ तारिखसम्ममा इलेक्सन गर्नुपर्ने भएकाले हामीले त्यहीअनुसार काम अगाडि बढायौं । सोहीअनुसार अक्टोबरमा छेवाङ लामा शेर्पालाई ‘इलेक्सन कमिशनर’ बनायौं । तर, उहाँले सदस्यता प्रष्ट नभएको जनाउँदै इलेक्सन गर्न नसक्ने जानकारी दिनुभयो । सेक्रेटरी अफ स्टेट टेनेसीको अथोरिटीबाट सहमति लिएर ९ जनाको टिम बनाएर मेरो अध्यक्षतामा टिम बनाएको उहाँले मलाई जानकारी गराउनुभयो । जनवरी २०१३ बाट हामीले यही टिमलाई दुई वर्षे कार्यकालका लागि आधिकारिक बनाउन जोड ग¥यौं तर आईसीसीबाट निर्वाचन नै गराऊ भन्ने दबाब आइरहेको थियो । हामीचाहिँ यही टिमलाई आधिकारिक गर्ने भन्नेतिर लाग्यौं । तर ग्लोबल अधिवेशन नजिक आइसकेकोले मलाई निर्वाचनका लागि दबाब आइरह्यो । अध्यक्ष जीवा लामिछानेको पत्र पनि आयो तर बोर्डको अधिकांश साथीहरु भने निर्वाचनको पक्षमा थिएनन् । निर्वाचन गर्नुपर्छ भन्ने विषयमा म बोर्डभित्र अल्पमतमा परिसकेको थिएँ । निर्वाचन गराउनुपर्छ भन्ने मेरो मान्यता थियो । कानूनअनुसार अध्यक्षले मिटिङ बोलाउनुपर्ने व्यवस्था हुँदाहुँदै उहाँहरुले आ–आफू बसेर मलाई पदबाट हटाउनुभयो । तर, यो ‘सिचुएसन’ आउनुअगाडि छेवाङ लामा शेर्पाले निर्वाचन गराउन सक्दिन भनेपछि कानूनअनुसार मैले अर्को निर्वाचन आयुक्तको टिम खडा गरें । किनकि अक्टोबरको ग्लोबल अधिवेशन अगाडि प्रजातान्त्रिक बाटो अपनाएर निर्वाचनमा जाने मेरो उद्देश्य थियो । तर, त्यो कुरा उहाँहरुलाई राम्रो लागेन । उहाँहरु कोठामा बैठक बसेर मलाई पदबाट हटाउनुभयो । यदि नियमकानून मान्न कोही तयार छैन भने त्यस्तो टिमभित्र बसेर, झैझगडा गरेर संस्थालाई नै बदनाम गर्नुको के मतलब लाग्यो भन्ने मलाई लाग्यो र मैले छाडिदिएँ।

सबैजना अटाउने वातावरण बनाउनुपथ्र्यो
राम खरेल
डिपुटी रिजनल कोअर्डिनेटर

एनआरएनको झगडा अदालतमा पु¥याउनुभन्दा संस्थाको प्रतिष्ठालाई धब्बा नलागोस् भनेर राजीनामा दिएँ । छेवाङ लामा शेर्पाजीको वकिलले वर्तमान अध्यक्षलाई आधिकारिक निर्वाचन आयुक्तलाई निष्काशित गरेको, बैठकमा पनि अनुपस्थित रहेको आरोपसहितको पत्र पठाएपछि यसले कानूनी बाटोतर्फ लाग्ने संकेत मिल्यो । जसले गर्दा एनआरएन पनि एएनएजस्तै कोर्टमा पुगेर मुद्दामामिलामा लाग्दा संस्थालाई घाटा हुने भयो । अदालतमा संस्थाको झगडा पुग्दा जुन समूहले जिते पनि एनआरएनको हार हुने भयो । यो दुवै समूह मिलौं, संस्थालाई घाटा नहोस् भनेर राजीनामा दिएँ । त्यसैले आईसीसीको पनि ध्यानाकर्षण होस् भनेर पदको लोभमा भन्दा संस्थाका खातिर राजीनामा दिएको हुँ । अन्त्यमा प्रजातान्त्रिक अभ्यासअनुसार सबैजना अटाउने वातावरण बनाइदिएको भए एनआरएनएनसीसी युएसएको यो हालत ीएन्।

निर्वाचन हुनुपर्छ भन्ने मान्यता गलत हो र ?
मुकेश सिंह
रिजन कोअर्डिनेटर, एनआरएन

मेरो मान्यता समयमा निर्वाचन होस् भन्ने नै हो । प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचन गराउन खोज्दा सफल हुन सकिएन । अवश्य पनि एनआरएन राम्रो संस्था हो, तर त्यही संस्थाको शाखा एनसीसी युएसए अप्रजातान्त्रिक तरिकाबाट अगाडि बढ्न थालेपछि आफूलाई त्यहाँभित्र बस्न उचित लागेन । मैले छाडिदिएँ । मलाई पुग्यो अब, संन्यास लिएँ र यो पनि निश्चित छ कि म अब एनआरएनमा फर्किन्न । नेपाली संघसंस्थामा काम गर्न गाह्रो भयो, अब पुग्यो । समयमा निर्वाचन हुनुपर्छ भन्नु के नराम्रो मान्यता हो र?



आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस