सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २१ साउन। राजतन्त्रको पक्षमा वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा जनताको नासो केही समयकालागि सुरक्षित राख्न दिएकाले अब फिर्ता गर्ने बेला आएको बताएका छन्।
उनले आउँदो निर्वाचनमा राजतन्त्र कि गणतन्त्र? भन्ने विषयमा एउटा मतपत्र र मतपेटिका राखेर भोट हाल्ने व्यवस्था मिलाए त्यहीबाट राजतन्त्र र गणतन्त्रको विषय टुङ्गो लाग्ने दाबी गरेका छन्।
गेरु बस्त्र र रुद्राक्षको माला लगाएर बोलबम भन्दै सोमबार धरानको पिण्डेश्वर मन्दिरमा आएका थापाले एक समर्थक हरि श्रेष्ठको घरमा पत्रकार सम्मेलन गर्दै त्यसो भनेका हुन्। उनले संविधान निर्माण भएपछि राजतन्त्र र गणतन्त्रको टुङ्गो लगाउने भनिएको बताउँदै संविधाननै नबनेको अहिलेको अवस्थामा गणतन्त्र र राजतन्त्रको हैसियत एकै रहेको दाबी गरे।
जनताले राजा आउँ देश बचाउँ भनिरहेको अवस्थामा राजाले जनता आउँ देश बचाँउ भन्नुको अर्थ राजाले देश बचाउँनु पर्छ भन्ने लाग्छ भने जनता आएर राजालाई फर्काउ भनेर राजाले आग्रह गरेको उनले अर्थ लगाए । तत्कालीन अवस्थामा जनताले राजा हटाउन नचाहेको उल्लेख गर्दै राजालाई एम्बुसमा पारेर गद्दी छाड्न बाध्य बनाईएको उनको भनाई छ।
पिण्डेश्वर बोलबममा आफनो पार्टीका कार्यकर्ताहरुले हिन्दु राष्ट्रका लागि शुरु गरेको हस्ताक्षर अभियानलाई साथ दिन आएका थापाले राजनीतिक दलहरुको बाह्र बुँदे सहमतिमा कही पनि गणतन्त्र उल्लेख नगरिएको बताउदै राजा हटाउने विषयमा असंवैधानिक र विवादास्पदरुप लिएको अवस्थामा राजालाई हटाएको आरोप लगाएका छन्।
थापाले पिण्डेश्वरमा सोमबार विहानै पुजा गरेका थिए। उनले राजतन्त्रको पक्षमा हस्ताक्षर संकलन गरिरहेका कार्यकर्तालाई अझ राम्रो गर्न हौसला दिंदै राजतन्त्र फर्किनेमा ढुक्क हुन आग्रह समेत गरेका थिए।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b