उत्तम अधिकारी एचकेनेपाल डट कम
यूएई, २ अगस्त। गैरआवासीय नेपाली संघ यूएईको आगामी १३ सेप्टेम्बरको लागि घोषित महाधिबेसनको चहलपहल शुरु भएको छ।

क्षेत्रीय समितिहरुको अधिबेसन कार्यतालिका सार्वजनिक गर्दै संघले आफ्नो ध्यान केन्द्रीय महाधिबेसन तर्फ केन्द्रित गरेको छ। संघले दुबईको इम्पेरीयल सुइट होटेलमा उक्त महाधिबेसन हुने जानकारी गराएको छ।

एक सूचना जारी गर्दै संघले आफ्नो अन्तर्राष्ट्रिय बिधान अनुसार १८२ दिन यूएईमा रहेको प्रमाण खुल्ने परिचय पत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो तथा निर्धारित सदस्यता शुल्क (२५ दिर्हाम) सहित तोकिएको फारम भरि यूएईमा बसोवासरत नेपालीहरुलाई यथाशिघ्र नयाँ सदस्यताको लागि आबेदन फारम बुझाउन तथा पुराना सदस्यता नवीकरण गर्नका लागि अनुरोध गर्दै आफू मातहत रहेका सबै क्षेत्रीय समितिहरुको अधिबेसन तालिका र सो का लागि आवस्यक नीति नियम समेत सार्वजनिक गरेको छ। सजिलोका लागि प्रत्येक शुक्रवारका दिन अपरान्ह ३ बजेदेखि साँझ ६:३० बजे सम्म बरदुबईको मेट्रो पार्कमा सदस्यता फारम वितरण तथा संकलन गर्ने ब्यबस्था मिलाएको बताइएको छ।

केन्द्रीय महाधिबेसन गराउनका लागि गठित निर्वाचन समितिले तयार गरेको क्षेत्रीय समितिको निर्वाचनको लागि आवश्यक नियमावली तथा एनआरएनको निर्वाचन सम्बन्धि आचार संहिता सम्बन्धित क्षेत्रीय समितिलाई पठाई सकिएको जानकारी संघले दिएको छ।

आबुधाबि र शारजाहमा २३ अगस्त, दुबईमा ३० अगस्त, फुजेराह, रास अल खेमा र उम् अल क्विनमा ९ अगस्त तथा अल ऐन र अजमानमा १६ अगस्तका दिन सम्बन्धित क्षेत्रीय समितिहरुको अधिबेसन आयोजना हुने र उक्त स्थानबाट सदस्यता लिन चाहने व्यक्तिहरुले सो मितिको २ दिन अगावै सदस्यता लिएको वा नवीकरण गराएको खण्डमा मात्रै सो अधिबेसनमा भाग लिन पाउने र केन्द्रीय महाधिबेसनको प्रतिनिधि चुन्न वा चुनिन पाउने प्रावधानलाई स्पष्ट रुपमा उल्लेख गरेको छ। प्रत्येक क्षेत्रबाट १० बराबर एकको अनुपातमा केन्द्रीय महाधिबेसन प्रतिनिधि चुनिनु पर्ने प्रावधान यस अघि नै सार्वजनिक भइसकेकाले आफू रहेको स्थानको क्षेत्रीय समितिमार्फत नै सदस्यता लिनु पर्ने अनिवार्यता रहेको छ।

गत महाधिबेसनको क्रममा २ हजार भन्दा बढी सदस्यहरु बनाई सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुको चासोको केन्द्रबिन्दुको रुपमा रहन सफल एनआरएन यूएईले यसपालि यहाँका कति नेपालीहरुलाई समेट्न सक्छ त्यो थाहा पाउन भने केही दिन कुर्नै पर्ने हुन्छ।


आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस