मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम –
साउन, ८ धनकुटा। अन्तर्राष्ट्रिय समाचार टेलिभिजन च्यानल सीएनएनले भेडेटारको नाम्जे गाउँलाई विश्वको १२ औं पर्यटकीय गन्तव्य स्थलको रुपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहलमा वृद्धि भएको छ।
यहाँको कला, संस्कृति तथा स्थानीयवासिन्दाको सत्कारलाई मध्य नजर गर्दे सीएनएनले नाम्जेलाई २०६८ साल मंसिर मा १२ औं गन्तव्य स्थलको रुपमा घोषणा गरेको थियो। नाम्जे गाउँ वास्तवमा कला र संस्कृतिको हिसावले निकै चर्चामा आएको ठाउँ हो। धनकुटा जिल्ला सदरमुकामबाट ४० किलोमिटर दक्षिण र धरानबाट १२ किलोमिटरको उत्तरमा रहेको भेडेटार गाविसको नाम्जे गाउँमा अहिले गर्यटकको चलहपहलमा वृद्धि हुदै गएको छ।
यसरी नाम्जे गाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि त्यहाँका स्थानीय वासिन्दामा निकै खुसियाली भएको पाइन्छ । नाम्जे गाउँमा आउने पर्यटकहरुको टोलीलाई स्थानीय वासिन्दाले मगर संस्कृति अनुसार स्वागत गर्ने गरेका छन्। भेडेटार गाविसको वडा नम्वर ६ र ७ मा रहेको यस गाउँमा ८० प्रतिशतको हाराहारीमा मगर समुदाय रहेको छ।
गाउँमा पर्यटकहरु आएपछि पालै पालो पर्यटकहरुलाई विभिन्न स्थलको परिचय दिदै घुमाउने गरेका छन्। यसरी पर्यटकहरु आफ्नो गाउँमा आउदा र पर्यटकलाई घुमाउन पाउदा धेरै खुसी लागेको नाम्जे वजारस्थित थुम्की सिकाइ थलोका सदस्य गुन्जमान मगरले बताए। भेडेटार वजारदेखि नाम्जे वजार पुग्नका लागि गाडीमा जादा १० मिनेट लाग्दछ भने पैदल हिड्ने हो भने आधा घण्टा लाग्ने मगरले वताए।
नाम्जेको हरेक प्रकारको विकासमा विद्यालयको सहभागिता अग्र स्थानमा रहेको ग्रामिण जनता उच्च मध्यमिक विद्यालयका प्राचार्य टंक भुजेलले बताए । यस गाउँलाई १२ आंै गन्तव्य स्थलमा पार्नका लागि विद्यालयको महत्वपूर्ण भूमिका रहेको स्थानीय स्वीकार्छन । स्थानीयहरु पनि विद्यालयले गरेको हरेक प्रकारमा कार्यक्रमहरुमा सहभागि हुने गरेका छन् भने विद्यालयले पनि समुदायमा आधारित रहेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
धनकुटाको भेडेटार गाविस वडा नं. ६ र ७ मा रहेको नाम्जे वजार। तस्वीर: मणिकुमार श्रेष्ठ
नाम्जे गाउँ वास्तवमा नै पर्यटकको नजरमा अत्यन्तै राम्रो ठाउँ मानिन्छ। यहाँ दिनमा ६ पटक सम्म मौसम परिवर्तन हुने स्थानीय होटल व्यवसायीहरु वताउछन्। मौसम चिसो, चिसो, घरी घरी घाम लाग्ने गरेको छ। यस नाम्जे गाउँबाट धनकुटा, तेह्रथुम, भोजपुर, सुनसरी, मोरङ्ग, झापा, इलाम, ताप्लेजुङ्ग, पाँचथर, सप्तरी, सिराहा लगायतको ठाउँको अवलोकन गर्न सकिन्छ। नाम्जेका स्थानीय वासीहरु खेती गर्दा पनि सामुहिक खेतीको विकास गर्न खोजिरहेका छन् र त्यसको नेतृत्व थुम्की सिकाई थलोले गरेको छ।
नाम्जे गाउँमा पहिले–पहिले राखिएको चिहानलाई भत्काएर अहिले सम्पूर्ण चिहानहरुको प्रतिनिधित्व गर्ने हिसावले एउटा आत्म वस्नेघर निर्माण गरिएको छ। विदेशीको सहयोग र विदेशी आर्किटेक्चरहरुले आफ्नै लगानीमा आत्म वस्नेघर वनाइदिएका हुन्। उक्त आत्म बस्नेघर विश्वको १७ औं स्थानमा रहेको छ।
नाम्जे गाउँमा पहिले पानीको निकै अभाव भएको कारण अहिले पानी तान्ने मोटरबाट पानी तानेर नाम्जेका १ सय ६० घरमा खानेपानी वितरण गरिएको छ । उक्त खानेपानीको सम्पूर्ण व्यवस्थापन साथै हिसाव विद्यालयले हेर्ने गरेको छ।
यसरी नाम्जे गाउँको विकास हुनुमा यहाँका स्थानीयवासीहरु २०५५ सालतिर आएका भारतीय मूलका अमेरिकी नागरिक राजिव गोयलको विषेश भूमिका रहेको बताउछन्। राजिव गोयल विद्यालयमा भोलेन्टीयर काम गर्न आएका थिए। गोयल अहिले पनि आउने जाने गरिरहेको स्थानीय वताउछन्। नाम्जे गाउँमा पर्यटकहरुलाई स्वागत गर्नका लागि १० वटा होम स्टे सञ्चालनमा आएका छन्। होम स्टेमा वस्ने पाहुनाले मगर संस्कृति र मगर परिकारको स्वाद चाख्न पाउने छन्।
होमस्टेप्रति पर्यटकको आकर्षण
होटलमा भन्दा सस्तो र पारिवारिक वातावरण हुने भएकाले पर्यटकहरुको आकर्षण होमस्टेमा बढेको स्थानीय ग्रामिण जनता उच्च मध्यमिक विद्यालयका प्राचार्य टंक भुजेलले बताए । हामेस्टे सञ्चालन गर्न थालेपछि नाम्जे र थुम्कीका युवाहरुलाई फुर्सद हुन छाडेको छ। घरमा आएका पाहुनाको स्वागत सत्कार र सेवामा उनीहरुको दिन वित्न थालेको हो। पाहुँनाको रुची अनुसारको खानाका परिकार तयार गर्नु र नाम्जेको डाँडाहरुमा घुमाउनु दैनिकी भएको होमस्टे सञ्चालन समितिका अध्यक्ष टंकराज मगरले बताए।
हामेस्टेमा बस्नको लागि हप्ता ५० देखि ६० जना सम्म पर्यटक नाम्जे र थुम्की आउने गरेका छन्। विदेशबाट समेत होमस्टेमा बस्नको लागि खबर आएको अध्यक्ष मगरले बताए । त्यसो त होमस्टेमा बस्ने पर्यटक बाहेक घुमफिर गर्नका एकाध घण्टाका लागि समेत पर्यटकहरु नाम्जे र थुम्की पुग्ने गरेका छन्। नाम्जे र थुम्कीको होमस्टेमा आउने पर्यटकहरुलाई स्थानीय परिकारहरु मकैको च्याख्ला, कोदोको ढिडो, सिस्नुको दाल, अर्गानिक तरकारी र खाजामा मकै भट्मास खुवाउदै आएको छ। यसैगरी पर्यटकहरुले अन्य खाना अर्डर गरे पकाएर खुवाउने गरेको होमस्टे सञ्चालक लेखराज रानामगरले बताए। होमस्टेमा बस्ने पर्यटकहरुलाई एकरातको बढीमा ५ सय रुपैयाँसम्म खर्च लाग्ने गरेको छ । यो खर्च भेडेटार बजारको होटलमा गरिने खर्च भन्दा करीब ३ गुनाले कमि हो।
पर्यटकहरु नियमित आउने र कहिले काही धेरै हुने भएकाले होमस्टे सञ्चालन गर्ने घरमा बास पुग्दैन । त्यसैले नजिकै रहेका अन्य घरले पहुँना सुत्ने कोठाको बनाएका छन्। घुम्न आएका पाहुँनालाई अप्ठयारो नहोस भनेर कोठा बनाएको नाम्जेबासी एवं पूर्व गाविस अध्यक्ष अनिल रानामगरले बताए। नाम्जे र थुम्कीमा बास बस्न आएका पर्यटकहरुले हुर्रा नाच्ने अवसर पाउछन्। बेलुकी मनोरञ्जनका लागि स्थानीय युवा र आमा समूहले पर्यटकहरुलाई हुर्रा नाच नचाउछन्। हुर्रा नाचमा मनोरञ्जन गरे वापत होमस्टेमा बसेका पहुँनाहरुले एकमुष्ट १५ सय तिर्नु पर्दछ।
त्यसैगरी पर्यटकहरुलाई नाम्जे, थुम्की र मझुवा गाउँमा रहेको आत्म बस्ने घर, सूर्यबौद्ध विहार, कृषि स्रोत केन्द्र, सामुदायिक सिंचाई योजना, लोप्पे डाँडा, मगर संग्रहालय, टावर डाँडा, हात्ति सुडे र नमुना सामुदायिक विद्यालयमा घुम्न सक्नेछन् । यसको लागि होमस्टे सञ्चालन गर्ने घरले गाईड सेवा दिने गरेको नाम्जे, थुम्की मभुवा पर्यटन विकास केन्द्रका अध्यक्ष दिलिप मगरले बताए।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस