‘बुद्ध वाज वोर्न इन नेपाल’ वोलको गीत अहिले अत्यन्त चर्चामा छ । नेपाल र त्यो भन्दा बढी नेपालदेखि वाहिर रहेका नेपालीहरुले यो गीतलाई अत्यन्त रुचाएका छन्। ‘बुद्ध नेपालमा नभई भारतमा जन्मेका हुन्’ भन्ने समाचारहरु विभित्र सञ्चार माध्यमबाट आउन थालेपछि नेपालीहरु माझ एक किसिमको आक्रोश पैदा भएको छ। यसै कारणले पनि यो गीतलाई स्रोताहरुले वढी मन पराएका हुन् भन्ने आकलन गर्न सकिन्छ । करिव तीन वर्षको अन्तरालपछि गायक धीरज राईले सोही नामबाट अंग्रेजी एल्बम निकालेका छन्। यसै सेरोफेरोमा रहेर सौरभ श्रेष्ठले उहाँसंग गरेको ‘एक्सक्लुसिभ’ अन्तरर्वाता यहाँ प्रस्तुत छ। – एचकेनेपाल डट कम


‘बुद्ध वाज वोर्न इन नेपाल’को सोच कसरी तयार भयो?

२०६२।६३ सालतिर म अंग्रेजी साहित्यको माष्टर्स डिग्रि दोस्रो वर्षमा अध्ययनरत थिए । सो समयमा लेखक ‘भ्यानडोरेन’ द्धारा लिखित पुस्तक ‘हिस्ट्री अफ नलेज’ हाम्रो पाठ्य क्रममा थियो । जसमा भगवान बुद्ध भारतको उत्तरी भागमा जन्मेका हुन् भनेर लेखिएको थियो । यो कुराले हामीलाई अत्यन्त आक्रोशित बनायो । त्यो साल हामीले त्यसको विरुद्धमा आवाज उठायौ अन्तत त्रिभुवन विश्वविद्यालयले पाठ्य क्रमबाट सो पुस्तक हटायो । त्यस बेला मलाई पहिलो पटक गीत संगीतबाट यो कुरा उठाउनु पर्छ भन्ने लाग्यो।

विश्वका धेरै मुलुकहरु तपाईले कन्सर्ट को शिलशिलामा भ्रमण गर्नु भएको छ । बुद्धको बारेमा त्यहाँको मान्छेलाई के जानकारी रहेछ त ?

लगभग विश्व भ्रमण गरिसकेपछि मलाई यो महशुस भयो कि विश्वका धेरै मानिसहरु बुद्ध नेपालमा नभई भारतमा जन्मेका हुन् भन्ने भ्रममा रहेछन्। पछि सोच्दा लाग्यो यो स्वाभाविककै हो किन कि विश्वका कतिपय महत्वपूर्ण पुस्तकहरुमा ‘बुद्ध भारतमा नै जन्मेका हुन्’ भनेर लेखिएको छ । हाम्रो पहुच ठिक समयमा त्यहाँसम्म पुग्न सकेन र गलत व्यक्तिहरुले गलत समाचार प्रवाह गरिदिए र विश्वले सोही जानकारी पाए । टेलिभिजनको एउटा कार्यक्रममा हु बहु नक्कल गरी लुम्बिनीलाई भारतको कुनै एक ठाउँमा निर्माण गरिएको देखेपछि मलाई अत्यन्त दुःख लागेको थियो । गीत संगीत क्षेत्रबाट पनि कसै न कसैले यो भ्रमलाई चिर्नु आवश्यक छ भन्ने लागेको थियो।

बुद्धको गीत नै किन ?
बुद्धको सन्देशहरु अहिले आएर अझ बढी सान्दर्भिक भएका छन् । हिंसाले कहिले पनि हिंसा रोक्न सक्दैन । हिंसा समाधान होइन समस्या हो । मानिसहरु दिन प्रति दिन बढी भौतिकबादी हुँदै गइरहेका छन् , यसले मानिसमा कहिले पूर्ण सन्तुष्टि दिदैन । जति बढी पायो मानिसहरु उति उति लोभि हुँदै जान्छ । आफ््ना इच्छा र चाहनाहरुमा लगाम लगाउन सकेका छैनन् । लोभ, रिस, डाहले मानिसलाई सधै असन्तुष्ट बनाइरहन्छ । अहिलेका मानिसहरु दुःखी र फ्रष्ट्रेसन हुने कारण यीनै हुन । यो छोटो जिवनमा मानिसहरु अनावश्यक महत्वकांक्षामा अल्झेर आफूलाइ सुखी बनाउन सकेका छैनन्।

यो गीत अंग्रेजी भाषामा गाउने विचार कसरी आयो ?
अंग्रेजी साहित्यमा डिग्री हासिल गरिसकेपछि मलाई अंग्रेजी भाषाको महत्व कति धेरै रहेछ भन्ने महशुस भयो । विश्वका ठूला ठूला महत्वपूर्ण साहित्य, कला, संगीत र दर्शन अंग्रेजी भाषामा नै लेखिएका छन् । विश्व समक्ष जानको लागि अंग्रेजी भाषानै सहि हो भन्ने मलाई लाग्यो । यो एल्वम विश्व बजारको लागि लक्षित भएकोले पनि अंग्रेजीमा गाउनु जरुरी भयो। नेपाली भाषामा गाउंदा यो सिमित हुन पुग्छ र विश्वसम्म पुग्न कठिन हुन्छ।

यो गीतमा बुद्धदेखि बाहेक गोर्खाली र तेन्जीङ्गको पनि कुरा उठाइएको रहेछ ?

यो विश्व वजारमा लक्षित भएको एल्वम हुनाले नेपाललाई सहि रुपमा चिनाउने व्यक्रित्वहरुको छनौटमा म लागे। यसै सन्दर्भमा पच्चिस सय वर्ष अघि जन्मनु भएको भगवान बुद्धले लामो समयदेखि शान्तिको माध्यमबाट नेपाललाई संसारमा चिनाउनु भएको छ । त्यस्तै पहिलो र दास्रो विश्व युद्धमा गोर्खालीहरुले देखाएको बहादुरी र इमान्दारीताको कारणले पनि नेपाल विश्वमा चिनिन पुगेको हो। जब सन् १९५३ मा तेन्जिङ्ग शेर्पाले सगरमाथा चढे त्यसपछि सगरमाथा र तेन्जिङ्ग दुवैले नेपाललाई विश्वमा चिनाए।


यो गीतको भिडियोको पनि निकै प्रशंसा भएको छ । भिडियो निर्देशन आफैले गर्नुभएको रहेछ।

हो, पहिला त यो गीत अरुलाई नै निर्देशन गर्न दिने सोचमा थिए । तर त्यसमा समावेश ऐतिहासिक विषय वस्तु र स्टोरी टेलिङ्गले गर्दा म न्याय गर्न सक्छु भन्ने लाग्यो। नेपाली पप संगीतको इतिहास समेटेर ‘ओमविक्रम’ नामक वृत चित्र पहिले नै निर्माण गरिसकेको छु। यो भिडियोको पुराना फुटेजहरुको संकलन गर्नु सबै भन्दा गाह्रो थियो । विशेष गरी तेन्जिङ्ग शेर्पा र गोर्खालीहरुको वास्तविक फुटेजहरु संकलन गर्नु चुनौतीपूर्ण थियो। यसको लागि हरि थापा र मिलन च्याम्पसले सहयोग गर्नु भयो। लुम्बिनीमा पुगेर ४० डिग्रीको गर्मीमा सुटिङ्ग गुर्न अर्को चुनौती थियो । क्यामेरा मेन रवि सायामी र सहयोगी मित्र अशोक काफ्लेले यसमा साथ दिनु भयो । ‘एडिटर’ विनय कंशाकारले यसलाई राम्रोसंग सम्पादन गर्नु भएको छ। यो भिडियो हेरेर विदेशीहरुले लुम्बिनीको भ्रमण गर्ने चाहना राखुन् भन्ने पनि उद्देश्य छ।

केहि समय अगाडि अमिताभ वचनले बुद्ध नेपालमा जन्मेका हुन् भनेका छन् नी ?
वास्तवमा मलाई त लाग्छ नेपालीहरुको अत्यधिक दवाव र संसारमा मानिसहरुले यथार्थ बुझ्दै गएकोले यो सम्भव भएको हो । भारतले अहिले पनि भित्री रुपमा भगवान बुद्ध आफ्नै देशमा जन्मेका हुन् भन्ने दाउ छोडेको छैन भन्ने मलाई लाग्छ । त्यसैले हाम्रो बारेमा अरुले बोलिदिने होइन हामी आफैले बोल्नु पर्छ । विश्वका महत्वपूर्ण पाठ्य पुस्तकहरुमा यो कुरा लेखिनु जरुरी छ । त्यहाँसम्म पुग्ने बाटो खोज्नु पनि जरुरी छ । हामी जुन पेशा, भाषा र वर्ग र देशमा भएता पनि अब समय आइसकेको छ यसको बारेमा खुलेर बोल्ने । आ आफ्नो स्थानबाट बुद्ध नेपालमानै जन्मेका हुन् भनेर धेरै भन्दा धेरै प्रचार प्रसार गर्नुपर्छ।

आगामी योजना के छ ?
बुद्धको गीत रिलिज भएपछि संसारका थुप्रै देशहरु बाट कन्सर्टको लागि निम्तो आइरहेका छन्। अब छिटैनै बुद्धको सन्देश लिएर विश्व सांगीतिक भ्रमणमा निस्कने योजना छ । केही बुद्धिस्ट धर्मगुरुहरुसंग बुद्धका ज्ञानहरु हासिल गर्दैछु । बुद्धका विचारहरुलाई अझै गहिरिएर बुझ्ने कोसिश मेरो छ। थोरै भएपनि बुद्धका सन्देशहरु संसारमा फैलाउन सके भने मेरो भ्रमण सफल हुनेछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस