शिशिर सिंखडा / एचकेनेपाल डट कम –
चितवन, २८ असार। बैदेशिक रोजगारीका लागि कतार पुगेका तीन नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा कतारको राजधानी दोहास्थित सातिया ग्रुपमा कार्यरत पूर्वी चितवन जुटपानी ४ सगुनटोलका २० वर्षीय अर्जुन गौतम, बर्दियाका आशराम थारु र पतावरी चौधरी रहेको ईभाष्टो नेपाल म्यान पावर कम्पनी सामाखुशीका संचालक शमशेर गुरुङले जानकारी दिएका छन्।
स्थानीय समय अनुसार विहीवार दिउसो १२ ड्युटी सकेर कम्पनीको गाडी पर्खि रहेको समयमा बिपरित दिशाबाट आएको ल्याण्ड क्रुजर गाडीले पेटीमा चढेर ठक्कर दिंदा तीन नेपालीसहित सात जनाको ज्यान गएको हो। ज्यान जाने अन्य चारमा भारतीय नागरिक रहेको सोही कम्पनीमा कार्यरत चितवनका संजित महतोले टेलिफोनमा जानकारी दिए।
ज्यान गुमाउने नेपालीहरु सोही म्यानपावर कम्पनीबाट दुई महिना अगाडि कतार पुगेका थिए। कम्पनीमा क्लिनिङको काम गर्ने उनीहरुमध्ये संजित महतो भने सोही गाडीको ठक्करबाट घाइते भएका छन्। टाउकोमा चोट लागेका महतोको कतारको स्थानीय अस्पतालमा उपचार भैरहेको म्यान पावरका संचालक गुरुङले जानकारी दिए।
सडक दुर्घटनामा मृत्यु भएकाले उनीहरुको पोष्टमार्टम भैसकेको र कतारको कानुन अनुसार बिमा लगायतका सुबिधाका लागि कम्पनीले दूतावासलाई अनुरोध गरि सकेको गुरुङले जानकारी दिए। त्यस्तै नेपालबाट पाउने बिमाको रकम समेत उपलब्ध गराउन र मृतक नेपालीहरुको शब ल्याउन प्रकृया अगाडी बढाइएको उनले बताए। छोराको कतारमा मृत्यु भएको खबरले चितवन जुटपानी ४ सगुन टोलमा रहेको गौतमको घर परिवारमा रुवाबासी भएको छ। पुरै गाउ शोक मग्न बनेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस