एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ९ जुलाई। हङकङमा आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूतको माग राखि विगत सात वर्षदेखि आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ हङकङ र नेपाली महावाणिज्यदूतावास हङकङबीच वार्ता भएको छ।

नेपाली महावाणिज्यदूतावासमा भएको वार्तामा महासंघकोतर्फबाट बुँदागत रुपमा दुईवटा विषय प्रस्तुत गरिएको महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

महासंघका अध्यक्ष एमबी थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार पहिलो बुँदा नेपाल आदिवासी जनजाति महासंघको मागलाई समर्थन गर्दै महावाणिज्यदूत महेशप्रसाद दाहाललाई नेपाल फर्कन आग्रह गरिएको छ भने दोस्रो बुँदामा यदि नफर्कने हो भने स्थानीय नेपाली समुदायको कुनै पनि कार्यक्रममा सहभागी नहुन र भएमा विरोध हुने जानकारी गराइएको छ।

वार्ताको शुरुवातमा महासंघकोतर्फबाट आदिवासी जनजाति मूलकै नेपाली महावाणिज्यदूत माग गर्नुको पृष्ठभूमि बताइएको थियो। उक्तक्रममा विगतमा महावाणिज्यदूतावासबाट भएका एकपक्षीय कामकारवाहीले यहाँको नेपाली आदिवासीजनजातिको अस्तित्व अस्वीकार गरिएको र मान मदर्न गरिएका घटनाका बेलिबिस्तार लगाइएको थियो।

महावाणिज्यदूतावासबाट हिन्दू धर्म र खस–आर्य समुदायलाई मात्र बढावा दिइएका उदाहरणहरु पेश गरिएका थिए। दशैं, तीज जस्ता हिन्दूजन्य चाडमात्र नपोल सरकारको वजेटमा मनाइने गरिएको खस–आर्यको वर्चस्व रहेको हङकङ एकीकृत नेपाली समाज (हिन्स)लाई मात्र प्रोत्साहित गरिएको महावाणिज्यदूतले हिन्सबाहेक अन्य संस्थाको आवश्यकता नभएको अभिव्यक्ति दिएको लगायतका उदाहरणहरु प्रस्तुत गरिएका थिए।

यसैगरी, नेपालको हरेक क्षेत्रमा समावेशिता शुरु गरिएको भए पनि लगभग दुई दशकको अवधिमा आएका छजना महावाणिज्यदूत एकै समुदायको रहेकाले समावेशिताको आधारमा आदिवासी जनजाति मूलको महावाणिज्यदूतको माग गरिएको जानकारी गराइएको थियो। त्यसैगरि प्रधानमन्त्री, मन्त्रीलगायत मुख्य दलका नेतालगायतलाई मागपत्र, ज्ञापनपत्रलगायत बुझाइएको जानकारी गराइएको थियो।

महासंघको बुँदा प्रस्तुतपश्चान महावाणिज्यदूत महशेप्रसाद दाहालले आफू नेपाल सरकारको कमर्चारी रहेको र खटाएको जिम्मेवारी परुा गर्न आफ्नो दायित्व रहेको बताउँदै महासंघको आन्दोलनको समर्थन गर्ने बताएका थिए। उनले आफ्नो ठाउँबाट सक्दो प्रयाशसहित सहयोग गर्न प्रतिबद्धता जाहरे गरेका थिए।

सोही क्रममा उनले राजनैतिक दवावमात्र पर्याप्त नभएको र कर्मचारी तहमा पनि दवाव दिनु पर्ने सुझाएका थिए। यसको साथै महावाणिज्यदूतको लागि मापदण्ड, आदिवासी जनजाति मूलका महावाणिज्यदूतको लागि उपयुक्त उम्मेदवारको खोजीलगायतका विषयमा उनले प्रष्टाएका थिए। लगभग तीन घण्टाको वार्तामा दुबैतर्फको कुरा सुन्ने र सुनाउने कार्य भएका थिए। सोही क्रममा दुबैतर्फबाट अझै तयारीसहित अर्को चरणमा वार्ता गर्नु पर्ने महशुश गरिएकाले बीचमा आवश्यकीय गृह कार्यसहित २१ जुलाई २०१३ का दिन पुनः वार्तामा बस्ने सहमतिसहित कुनै निष्कर्ष बिना उक्त वार्ता समाप्त भएको महासंघले जनाएको छ।

अतः महासंघको तर्फबाट गृहकार्य स्वरुप यही १४ जुलाई २०१३ का दिन ठीक ५ बजे हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा छलफल कार्यक्रम राखिएकाले आन्दोलनमा सहभागीलगायत सरोकारवाला सम्पूर्णलाई उपस्थितिको लागि महासंघले हार्दिक अनुरोध गरेको छ।

तस्वीर सौजन्यः नेपाल आदिवासी जनजाति महासंघ हङकङ


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस