पोखरामा चिनियाँ सूचना केन्द्र स्थापना गरिने
दिपेन्द्र श्रेष्ठ / एचकेनेपाल डट कम-
कुनमिङ्ग, ८ जुलाई। पोखरामा चिनियाँ सूचना केन्द्र स्थापना गरिने भएको छ। पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरेली टोली कुन्मिङबाट पोखरा फर्के लगत्तै सूचना केन्द्र स्थापना गरिने बताएका हुन्।

भगिनी सम्बन्ध स्थापनाको लागि कुनमिङमा रहेको टोलीले भगिनी सम्बन्धमा हस्ताक्षर गरे लगत्तै सोमबार अपरान्ह कुनमिङ्गका पत्रकार र पर्यटन व्यवसायीहरुसँग पोखरामा पर्यटन प्रवद्र्धनबारे भएको अन्तरक्रियामा सहभागीहरुलाई स्वागत गर्दै अधिकारीले कुनमिङ्गका पर्यटन व्यवसायीहरुलाई पोखरामा स्वागत गर्न आफू आतुर रहेको बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटाले पोखराको पर्यटन अवस्था, महत्वपूर्ण दृश्यावलोकन गन्तव्य र साँस्कृतिक सम्पदा बारेको जानकारीमूलक प्रस्तुति दिदैँ पोखरा प्रकृति र संस्कृतिले सिँगारेको शहरको रुपमा चिनारी दिए।

अन्तरक्रियामा सहभागी कुनमिङ्गका पत्रकार र पर्यटन व्यवसायीहरुले पोखरा र कुनमिङ्गबीच भगिनी सम्बन्ध स्थापना भएकोमा खुसी व्यक्त गर्दै भिसा सेन्टर कुनमिङ्गमा खोल्न र प्रकृया सहज बनाउन आग्रह गरे। नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले सरकारले कुनमङ्गि लगायत चीनका ३ ठाउँमा चाँडै भिसा सेन्टर खोल्न लागेको जानकारी गराए। पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरी शर्मा गैह्रेले अन्तरक्रिया र भगिनी सम्बन्ध स्थापनाले पोखरा र कुनमिङ्ग नगरबीच पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

होटल संघका निवर्तमान अध्यक्ष विप्लव पौडेलले अन्तरक्रिया प्रभावकारी भएको र आगामी दिनमा पनि यस्ता गतिविधीलाई निरन्तरता दिने दाबी गरे। अन्तरक्रिया कुनमिङ्ग नगरपालिकाका पर्यटन प्रवद्र्धन तथा वैदेशिक विभागका उपनिर्देशक येन जियाङ्गको अध्यक्षतामा भएको थियो।

पोखरा र कुनमिङ्गबिच भगिनी सम्बन्धमा हस्ताक्षर,
बहुपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिवद्धता

दीपेन्द्र श्रेष्ठ / एचकेनेपाल डट कम-
कुनमिङ ८ जुलाई। पोखरा र कुनमिङ्ग नगरबीच सोमबार भगिनी सम्बन्ध स्थापनाका लागि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। कुनमिङ्गको फाइभ स्टार होटल वा इन्टरनेश्नल होटलमा आयोजित समारोहमा पोखरा उप–महानगरपालिकाका प्रमुख झलकराम अधिकारी र कुनमिङ्ग नगर जनसरकार प्रमुख लि वेनरङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्बन्धलाई औपचारिकता प्रदान गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै कुनमिङ्ग नगरका प्रमुख लि ले आजको दिन विशेष दिन भएको बताउँदै भगिनी सम्बन्धलाई संस्थागत गर्न आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

जैविक विविधता र जनजातिका कारण धनी यस नगरमा तपाईलाई स्वागत छ, नगर प्रमुख लि ले भने—‘आजको यो हस्ताक्षरले दुई पक्षिय सम्बन्ध सुमधुर र दह्रो बनाउन सघाउनेमा म विश्वस्त छु।’

हस्ताक्षर समारोहमा प्रत्युत्तर मन्तव्य व्यक्त गर्दै पोखरा उपमहानगर पालिकाका प्रमुख झलकराम अधिकारीले कुनमङ्गि जस्तो शक्तिशालि र पूर्वाधार सम्पन्न शहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुसि व्यक्त गरे।

अधिकारीले आगामी दिनमा विकास निर्माण, पर्यटन प्रवर्धन, सरसफाई व्यवस्थापन लगायतको क्षेत्रमा २ नगर बीच सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे। अधिकारीले कुनमिङ्ग नगरका प्रम्ुख लि लाई चाँडै पोखरा भ्रमणको निम्तो समेत बताए।

हस्ताक्षर समारोहपछि आयोजित दिवाभोजका क्रममा पोखरा उपमहानगरपालिकाको प्रमुख अधिकारीले पोखराको विकासका लागि ३ वटा महत्वपूर्ण विकास योजना समेत प्रस्तुत गरे। हरिचोक, जिरो किमी ६ लेन सडक विस्तार फेवातालमा जाने ढलको डाइभर्सन र व्यस्त ४ वटा चोकमा आकाशेपुल अहिले पोखराको आवश्यकता हो, अधिकारीले भने— यसका लागि म कुनमिङ्ग नगरका प्रमुखमार्फत चीन सरकारलाई आग्रह गर्दछु ।

कुनमिङ्ग नगरका प्रमुख लि ले पनि यो सम्बन्ध नाम, काम र भावना सबै हिसाबले महत्वपुर्ण बनाउने बताउँदै आजदेखि पोखरा र कुनमिङ्गबीच दाजुभाई र दिदीबहिनीको सम्बन्ध स्थापित भएको घोषणा गरे। उनले यो सम्बन्ध दुई नगरपालिका बीच मात्र सिमित नभई जनता जनता र पर्यटन प्रवद्र्धन लगायतका वहुपक्षिय क्षेत्रमा सम्बन्ध विस्तार हुने प्रतिवद्धता व्यक्त गरे।

दिवाभोजमा स्वागत गर्दै कुनमिङ्ग नगरका उप—प्रमुख रुन फेङ्गविनले आजदेखि कुनमिङ्ग र पोखरा बीच मित्रता, सहयोग र आत्मियताको नयाँ अध्याय सुरु भएको बताए। हस्ताक्षर समारोहमा पोखरा उपमहानगरपालिकाको तर्फबाट कलात्मक आँखीझ्याल, वीरताको चीनो खुकुरी र बुद्धको प्रतिमा उपहार स्वरुप प्रदान गरिएको थियो।

हस्ताक्षर समारोहका लागि कुनमिङ्ग पुगेको १५ सदस्यीय प्रतिनिधि मण्डल मंगलबार पोखरा फर्कदैछ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस