सबै नेपालीलाई राजदूतावासको ढोका खुला– डा. शर्मा
कतारका लागि नेपाली राजदूत डा. माया कुमारी शर्माले आफ्नो चारवर्षे कार्यकालको पहिलो वर्षको कार्यकाल सम्पन्न गरसिकेकाछन्। चारलाखभन्दा बढी नेपालीहरुमध्ये अत्यधिक संख्यामा मजदुरको रुपमा कार्यरत् रहेका कतारमा एकवर्षको अवधिमा धेरै नेपालीहरु स्वदेश फर्कने र आउने क्रम रोकिएको छैन भने प्रत्येकवर्ष असामयिक मृत्युहुने संख्या पनि उत्तिकै छ। नेपाली कामदारहरु आफ्नो समस्या लिएर दूतावासमा लर्को लाग्ने काम पनि कहिल्यै रित्तिएन । दूतावासले आफ्नो तर्फबाट नेपाली कामदारहरुलाई सहयोग गर्नपनि उत्तिकै लागि राखेकै छ। हुलका हुल नेपाली कामदारहरु राजदूतको कार्यकक्षमा गएर पनि आफ्ना दुखेसो र विलौना पोखि नै राखेका हुन्छन्। भिषा प्रमाणीकरण, कामदारहरुका लागि कागजपत्र बनाउनुपर्ने, राहदानी नविकरण, दुई मुलुकका विचको सम्बन्धको अभिवृद्धि, नेपाली कामदारहरुका विषयमा सम्बन्धित निकायसंग पनि कुरा गर्नुपर्ने लगायतका अनेकौं कामहरुको वावजुद राजदूतका विषयमा समेत नेपाली समुदायका विचमा विविध क्रियाप्रतिक्रिया, टिकाटिप्पणी जस्ता अनेक परिस्थितिसंग जुध्दै सफलतापूर्वक यो एकवर्षको अवधि सम्पन्न गरिसकेका / गरेका राजदूत डा. शर्मासंग समसामयिक एवं विविध विषयमा पत्रकार तिलविक्रम थेवेले गरेको कुराकानीमा आधारित मुख्यमुख्य अंशः

एक वर्षको अवधि कस्तो रहयो ?

राजदूत डा शर्मा ः नेपाली राजदूत नियुक्त भएर म कतारमा आएको एक वर्ष भयो । यो एक वर्षको अवधिमा मैले नेपाली कामदारहरुको अवस्थालाई अत्यन्त नजिकबाट बुझें । नेपाली समुदायभित्रका सबै संघसस्थाहरु, व्यवसायी, बुद्धिजीवी, साहित्यकार, पत्रकार लगायत सबैसंग परिचय र भेटघाट भयो । प्रवासको बसाईमा नेपाली समुदायले आफ्ना समुदाय, जिल्ला र देशको विकासको काममा उत्कृष्ट योगदान प्रवासबाट पनि दिइरहेको पाए । सरकारले नयाँ जिम्मेवारी दिएपछि सो जिम्मेवारीलाई प्राथमिकताका साथ निर्वाह गर्न इमान्दारीताका साथ लागिपरेको छु । एकवर्ष भित्रमा राजदूतले सम्पन्न गर्न सकेको कार्य महत्वकासाथ सम्पन्न गरेको छ । राजदूतले प्रवासमा वैदेशिक रोजगारीमा रहेका विभिन्न क्षेत्रमा कार्यरत् नेपालीहरुका लागि प्राथमिकताका साथ काम गरिरहेको छ । वैदेशिक रोजगारी एउटा मुल विषय हो तर यसभित्र अनेक पक्षहरु छन् जसलाई एकएक केलाउदै हेनुपर्ने हुन्छ । यी सबै कुराहरुलाई निरन्तररुपमा राजदूतले गर्दै आएको छ । मेरो जिम्मेवारी नेपाल र कतार दुईदेशको विचको सम्बन्धलाई प्रगाढ बनाउदै लैजाने तथा कतार सरकारले नेपाली कामदारहरुलाई श्रमको जुन अवसर दिएको छ यो अवसरको लागि रोजगारमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको सुरक्षित बसाई र व्यवस्थित रोजगारीको लागी कुटनीतिक क्षेत्रबाट हरतरहले सहयोग गर्ने प्रतिवद्धता मैले कार्यभार सम्हाले देखिनै प्रतिवद्धता जाहेर गरेको छु भने नेपाली समुदाय र राजदूतविचको समन्वयलाई पनि मैले महत्वकासाथ प्राथमिकता दिएको छु।

यो एकवर्षको अवधिमा नेपाली राजदूतावासले के के काम गर्यो ?

राजदूत डा शर्मा ः म ०६९ वैसाखमा कुटनितिक जिम्मा लिएर आएपछि श्रमिकहरुको तलव बृद्धि गर्नपर्छ भन्ने कुरालाई ध्यान दिएर यस विषयमा नेपाल सरकार र नेपाली समुदायसंग पनि राय सुझाव लिएर न्युनत्तम तलव १२०० रियाल बृद्धि गरिएको छ जुन नेपाल सरकारले स्वीकृति गरिसकेको छ सोही अनुसार क्रमशः कार्यान्वयन पनि हुनलागेको छ भने यसका लागि प्राविधिक तारतम्यहरु मिल्दै जाँदा यहाँस्थित रोजगारदाता कम्पनीहरु पनि सकारात्मक रहेकाले प्रभावकारी तरिकाले लागु हुनेछ भन्ने विश्वास छ । राजदूतले प्रमाणित गर्ने हरेक मागपत्रहरुमा सो बृद्धि भएको तलव प्रभावकारी रुपमा लागु भईसकेको छ।

नेपाली कामदारहरुको एकै किसिमको मात्र समस्या छैन तर अनगिन्ती प्रकारका समस्याहरु छन् । नेपालबाट बढी पैसा लिएर कतारमा पठाएको, तलव बढी छ भनेर नक्कली एग्रीमेन्ट पेपर बनाएर पठाउने गरेको, आवश्यक तालिम र अभिमुखीकरणका तालिमहरुमा हेल्चेक्रयाई गरेर पठाउने गरेको, यहाँ रोजगारदाता कम्पनीहरुमा तलव नपाउने, भिषा समयमा नलगाई दिने, विमारी हुदा उपचार नहुन र नगर्नेे, समयमा घर नपठाउने, घर फिर्ता जान टिकट र पाउनुपर्ने बाँकी तलवसुविधा नदिने, भागेर काम गर्ने कामदारहरुका समस्या, कामदारहरुको असामयिक मृत्यु आदि इत्यादी अनगिन्ती समस्याहरु रोजगारीको सेरोफेरो भित्र भएको हुनाले यी कुराहरुको कुशल समायोजन गर्दै काम गर्नुपर्ने परिस्थितिमा दुतावासले श्रम सहचारीलाई श्रमिककै समस्यालाई मात्र हेर्न र समस्याको समाधान गर्न लागिपर्न एकलौटी जिम्मेवारी दिइएको छ । अहिले दुतावासमा श्रमिकहरुका अनेकौं समस्याहरु एउटै डेस्कबाट हेर्दा काम चुस्त भएको छ र समस्याहरु न्यनिकरण हुदै गएकाछन् । नेपालीहरुको समस्या चाँडै समाधान होस् नेपालीहरु दुःखमा नपरुन्, नठगिऊन् भनेर जुन किसिमको पहलकदमी दुतावासले शुरु गरेको छ यो निकै फलदायी भएको छ।

राजदूतको आश्रयस्थलमा आएका पीडितहरुलाई राजदूतले हेरीराखेको छ । दुतावासबाट एअरपोर्टमा कर्मचारी पठाएर अलपत्र परेका नेपालीहरुलाई दुतावासमा ल्याउने र कम्पनी खोजेर पठाउने अथवा उद्धार गरी नेपाल पठाउने काम दुतावासले गर्दै आएकै हो । एअरपोर्टमा हप्तौदेखि अलपत्र पर्ने नेपालीहरु प्राःय अव भेटिन्नन् । दुतावासले फिर्तीकेन्द्रमा गएर अनुगमन कार्य शुरु गरेको छ । फिर्तीकेन्द्रमा रहेका नेपालीहरुको समस्या जतिसक्दो छिटो समाधान होस् भन्ने कुरामा दुतावास सचेत छ।

बढी रकम असुली, अवैध तरिकाले पठाउनु, कागजपत्रको जालसाझी जस्ता अनेकतम तिगडम गरेर नेपाली कामदार पठाउने म्यानपावर एजेन्सी र एजेन्टहरुलाई प्रमाणसहित कारवाहीको सिफारिस समेत परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई दुतावासले गर्दैआएको छ र यसको कार्यान्वयनका लागि नेपाल सरकार परराष्ट्रमन्त्रालय श्रमविभाग, वैेदेशिक रोजगार विभागसंग दुतावासको राम्रो समन्वय भएको छ । यी सबै कुराहरु जेजति दुतावासले गरेको छ नेपाली कामदारहरुको हकहितको लागि उद्धारको दुतावासले कुटनितिक पहल गर्दै अथक प्रयास गरेको छ।

कतारका आन्तरिक मन्त्री, श्रम मन्त्री, अनुगमन विभाग (सर्च एण्ड फलोअप), एशियन डाइरेक्टर, परराष्ट्र मन्त्रालयसंग उच्चस्तरिय भेटघाट गरी नेपाली श्रमिकहरुका यावत् समस्याहरुको निदानको लागि सहज समाधान खोजिएको छ र कतार सरकारको सम्बन्धित उच्च निकायहरु दुतावासलाई सहयोग गर्न र नेपाली कामदारहरुको सुरक्षित आप्रवासका निमित्त सधैं सकारात्मक रहेका छन्।

नेपाली कामदारहरुका समस्याहरुको समाधानका लागि कतार श्रममन्त्री स्वयम पनि सहयोगगर्न तत्पर रहेकाछन् । श्रममन्त्री स्वयम्ले दुतावासलाई हटलाइन इमेल उपलब्ध गराएर सोही इमेलमार्फत समस्याको समाधानको लागि नेपाली राजदुतावासले दैनिक रुपमा जानकारी दिने गरेको छ । रोजगारदाताहरुबाट पिडीत रहेको नेपालीहरुको समस्याको प्रकृति हेरेर रोजगारदाता कम्पनीहरुलाई कारवाही गर्न समेत यहाँको श्रममन्त्रालय लागिपरेर राजदुतावासलई सहयोग र समन्वय गरिरहेको हुनाले नेपाली दुतावासमा समस्याको समाधानमा न्यूनिकरण हुदै आइरहेको छ।

नेपाली दूतावासको मर्यादा र मान्यतालाई उच्च राख्न र वैदेशिक रोजगारमा रहेका नेपालीहरु तथा दुतावासले सेवा पुरयाउनुपर्ने अन्य दैनिक कार्यहरु छिटो छरितो ढंगले सम्पन्न गर्न दुतावास क्षेत्र फराकिलो हुनुपर्ने शुरुदेखिकै मेरो धारणा हो र यसै मुताविक अलि सुगम भवनमा दुतावास सार्न पहल भईराखेको छ।

नेपाल र कतार विच सामाजिक, सांस्कृतिक सम्बन्धलाई अभिवृद्धि गर्ने तथा नेपाली मौलिक कृषिजन्य उत्पादनहरुको प्रवर्धन गर्न, पर्यटन विस्तार गर्न नेपालको सामाजिक, सांस्कृतिक चिनारीलाई अन्तराष्ट्रिय रुपमा प्रवर्धन गर्न दुतावासले समय समयमा महोत्सवहरु गर्नुपर्छ भन्ने उद्धेश्यले सो अनुसार वातावारण मिलाउने प्रयास गरिरहेको छ । यसका लागि कतार सरकार, नेपाल सरकार, नेपाली व्यवसायी, समुदाय सबैको सहयोग र समन्वयको आवश्यकता पर्दछ।

केही समय पहिले राजदूतावासले प्रेस विज्ञप्ति निकालेको थियो । किन प्रेसविज्ञप्ति निकाल्नु भएको थियो ?

राजदूत डा शर्मा ः केहीसमय अगाडी साझा सवाल कार्यक्रमका प्रस्तोताद्धारा सोधिइएको प्रश्नमा मैैले बोलेका केही प्रसंगका विषयलाई लिएर नेपाली समुदाय र विभिन्न क्षेत्रमा केही टिकाटिप्पणीहरु भएकोले सो विषयलाई स्पष्ट गर्न दुतावासको तर्फबाट मेरो दायित्व भएकोले प्रेसविज्ञप्ती जारी जारी गरिएको हो । प्रश्नको जवाफ दिनेक्रममा भाषागत अभिव्यक्तिमा अन्यथा हुन गएको भएपनि यथार्थमा कोहीकसैलाई आघात पुरयाउने या वैदेशिक रोजगारीमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको भावना र मर्ममा चोट पुरयाउने आशय मेरो होइन र छैन । आफ्नो कुटनितिक दायित्व पनि रहेकाले दुवै मुलुकका विच रहेको सौहार्द एवं सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउदै लैजानका लागि कुटनितिक नियोग, संचार माध्यम सबैको जिम्मेवारी हो भन्ने महत्वलाई आत्मसात् गर्दै विज्ञप्ती मार्फत नेपाली समुदायका विचमा मैले स्पष्ट पारेको हो । नेपाली दुतावासलाई नेपाली समुदायले जसरी समन्वय र सहयोग गरिरहेकाछन् सबैको नाम लिन नसकुला तर समग्रमा हृदयदेखि नै सबैलाई धन्यवाद दिन चाहन्छु र दुतावासले सदैव नेपाली समुदायको राय सल्लाह सुझावलाई महत्व दिदैं आएको छ।

दुई देशका विचको प्रगाढ सम्बन्धलाई कुटनैतिक नियोगको तर्फबाट के कस्तो थप उचाई दिनु भो?

राजदूत डा शर्मा ः समय समयमा नेपाल सरकारबाट उच्चस्तरको भ्रमणहरु हुदै आएकाछन् जसले गर्दा दुवैदेशको विचको सम्बन्धलाई अझ प्रगाढ बनाउन थप मद्वत पुगेको छ । कतार सरकारको तर्फबाट पनि उच्चस्तरको भ्रमण भविष्यमा हुनसक्ने आशा मैले लिएको छु र यस्ता उच्चस्तरको भ्रमणको आदानप्रदान गर्ने संभावनाहरु खोजिएका छन् ।
२००५ मा श्रम सम्झौता भएपछि धेरै वर्षसम्म नवसिरहेको श्रम सम्झौताको उच्चस्तरिय समितिको हालै मात्र सम्पन्न भएको छ । श्रम र रोजगारसंग सम्बन्धित विविध विषयमा गहन छलफल गरेर १५ बुँदे सहमतिका साथ अव २०१४ मा काठमाडौंमा सो वैठक बस्ने भएको छ । राजदुतावासले यो वैठक आयोजनाागर्न उच्चस्तरिय कुटनितिक पहल गरेको हो।

कतारबाट पर्यटकहरु नेपालमा भित्रिन सक्ने अवस्था अहिले बढेर गएको छ । नेपालको पर्यटकीय महत्वको वारेमा कतारका नागरिक र सरकारलाई राम्रो जानकारी भइरहेको छ । कतारको दुतावास नेपालमा स्थापना भइसकेकोले कुटनितिक पहलबाट दुवै देशको सम्बन्ध अझ प्रगाढ बनाउदै लैजान दुवैदेशका नियोगहरु कोशेढुंगा सावित बनेकाछन् । कतारबाट पनि उच्चस्तरको भ्रमणको आदानप्रदान गर्ने संभावनाहरु खोजिएकाछन्।

दुई देशविचको एकआपसको भ्रमण, सम्झौता तथा हस्ताक्षरहरुबाट रोजगारीको लागि बलियो गन्तव्य रहेको कतारमा नेपाली कामदारहरुको लागि रोजगारीको अवसरहरु अझ बढेर जानेछ भने नेपाली कामदारहरु सुरक्षित र वैधानिक तरिकाले कतारमा काम गर्न आउन सक्ने वातावरण पनि तयार हुनेछ । कतार एअरलाइन्सको दैनिक उडानहरुलाई अझ थपगर्ने र कसरी नेपालमा पर्यटनहरुको अभिवृद्धी गर्ने भन्ने विषयमा अरु सम्भावना बढेको छ । नेपाली मौलिक उत्पादनको बजार सम्भावना कतारमा बढेर गएको छ भने कतारका विभिन्न क्षेत्रलाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्ररित गर्न प्रयास भइरहेको छ । विशेष गरेर नेपालको जलविद्युत क्षेत्रमा, शिक्षामा, कृषिक्षेत्रको आधुनिकिकरणको लागि, भौतिक योजनाहरुका लागि हामीले सहयोग पाउन सक्नेतर्फ पनि ध्यान गएको छ।

यहाँ नेपाली श्रमिकहरुको माग बढी नै राखेको छ यसलाई अलि व्यवस्थित तरिकाले अभिवृद्धि गर्न सकेमा रोजगारीको अवसरलाई अझै फराकिलो बनाउन सकिने छ यसका लागि रोजगार प्रक्रियामा प्रस्थानविन्दुबाट समय र परिस्थितिको ख्याल गर्दै स्वच्छ, प्रतिस्पर्धात्मक, सक्षम, स्तरियपन हुदै गएमा इमान्दार, परिश्रमी, सुशिल स्वभावका नेपाली श्रमिकहरुको मान सम्मान अझ बढदै जान्छ भन्ने कुरामा दुतावासले ध्यान दिएको छ।

यहाँको मुख्य उत्पादन भनेको पेट्रोलियम पदार्थ हो र यो नेपालमा निर्यात गर्ने विषयमा यहाँको सम्बन्धित मन्त्री र कतार पेट्रोलियमका प्रमुखसंगहरुसंग नेपालसरकारका तर्फबाट पहल हुने संभावना रहे कुटनितिक माध्यमद्धारा वातावारण मिलाउन पनि सकिने संभावना छ।

राजदुतावाससंग नेपाली समुदायको सहयोग, सदभाव र सम्बन्ध कस्तो छ ?

राजदूत डा शर्मा ः विभिन्न जिल्लाबाट आएर काम गरिरहेका नेपाली समुदायहरुले आ–आप्mना जिल्लाबासीहरुसंग परिचय र सम्पर्कमा रहिरहन भनेर जिल्ला संस्थाहरु, व्यवसायी, इन्जिनीयर, साहित्यसाधक, धार्मिक वैचारिक लगायतका संघसस्थाहरु पनि छन् । नेपाली समुदायहरु जहाँ भएपनि संघसस्थामार्फत सामुदायिक अन्तरङ्गमा बस्न रुचाउने समाज भएकोले दुतावासले पनि उनीहरुसंग हरेक कार्यमा समन्वयात्मक भुमिका खेल्दैआएको छ । आपतविपत् परेका तथा अलपत्र परेर दुतावासमा आएका नेपालीहरुलाई अनौपचारिकरुपमा फर्कन हवाईटिकट, खानेकुरा, लाउने लत्ताकपडा, बाटो खर्च समेत दिएर उनै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुले नेपालीको दुःखमा एकार्कामा साथ दिदै सहयोग पनि गरिरहेकाछन् । नेपाली समुदायहरुसंग समय समयमा भेटघाट गरेर दुतावासले संघसस्थाहरुबाट विभिन्न विषयमा राय सुझावहरु लिने गरेको छ जसले गर्दा संघसस्था र दुतावास विचमा अन्योन्याश्रित समन्वय भएको छ।

नेपाली कामदारहरु नठगिउन्, नेपालीलाई ठग्ने, अलपत्र पार्ने कारवाही हुनुपर्छ भन्ने कुरामा सबै नेपाली संघसस्थाहरुको एउटै मत छ । नेपाली समुदायहरु, संघसस्थाहरु एकअर्कामा आपसी सद्भाव र पारिवारिक वातावरणमा रहोस् उनीहरुले आआफ्ना जिल्लाबासीहरुको रेखदेख संरक्षण गर्न सकोस्, आआफना जिल्ला, गाविस, विद्यालय, सामाजिक काम लगायत विभिन्न विकासकार्यमा यहाँबाट उनीहरुले केही सहयोग गर्न सकुन् र संघसस्था, समुदाय र दुतावासको समन्वयात्मक भूमिका बलियो रहोस् भनेर दुतावासले संघसस्था तथा समुदायहरुलाई सुचीकृत गरेर अविभावकको भुमिका समेत निर्वाह गर्दै आएको पनि साँचो हो । कतिपय नेपाली श्रमिकहरु आफ्ना समस्या लिएर आउदा राजदुतलाई पनि भेट्ने चाहना अवश्य हुन्छ नेपाली श्रमिकहरुका लागि दुतावासको ढोका हरसमय खुला छ।

आउनुहोस् तपाईहरुको समस्यालाई हरतरहले समाधान गर्न दुतावास लागि पर्नेछ, व्यस्तताको कारण भेट्न नसकिएको हुन सक्छ । यदाकदा दुतावासको व्यवस्तताको कारण नेपाली दिदीबहिनी दाजुभाईहरुलाई भेट्ने दुतावासको समयतालिका मिलाउनु पर्ने वाध्यता हुनसक्छ तर श्रमिक दिदिबहिनी दाजुभाईहरुका लागि मलाई भेट्न समय मागिरहनु पर्दैन दुतावासमा आएका वेला जुनसुकै वेला पनि भेट्न सक्नुहुन्छ । अझ समस्यामा परेका श्रमिकहरुका मदतका लागि जुनसुकै वेलापनि अथवा लिन जानुपर्ने नै भए दुतावासबाटै जान सक्छन् ।
आपत्विपत् परेको वेला सिधै फोन गर्न सकुन् भनेर दुतावासका जिम्मेवार व्यक्तिहरु लगायत मेरो मोबाइल नम्बर समेत सार्वजनिक गरेकाछौं । नेपाली दाजुभाई दिदीबहिनीहरुले आपत्विपत् परेको वेला धक नमानी फोन सम्पर्क गरेहुन्छ।

कतारको कानूनले बर्जित गरेका काममा केही नेपालीहरु जानाजान संलग्न रहेको पाइएको छ । राजदुतावासको यस विषयमा के धारणा र पहलकदमी छ ?

राजदूत डा शर्मा ः हेर्नुहोस् यहाँ नेपाली कामदारहरु इमान्दारीछन्, मेहनती छन् भन्दा भन्दैपनि आफ्नो खाईपाई आएको कामकुरालाई जोखिममा केही केही नेपाली कामदारहरु सुर्तीजन्य पदार्थ, अवैध मदिरा बेच्ने, लङ्गगुरबुर्जा खेलाउने काम गर्छन् भन्ने जानकारी आएको छ । यसवारेमा दुतावासले बारम्बार सचेत गराउदै पनि आएको छ । केही पैसा कमाइने आशाले यहाँको कानुनले वन्देज गरेका कामहरु उनीहरुले यसरी गरिरहदा समातेर जेल हाल्यो भने, जरिवाना तिर्न लगायो भने उनीहरुको अवस्था कति भयावय होला? दुतावासले केका आधारमा उद्धार गर्ने त्यसवेला ? दुतावासंग बोल्ने आधारसम्म पनि हुदैन।

नेपाली संघसस्था र समुदायले यस्ता अवैधानिक काम गर्नु हुदैन भनेर सक्दो सचेत अभियान पनि चलाएकै हो यसमा पनि दुतावासले पहल गरकै हो तर नेपाली समुदायको सल्लाह सतर्कतालाई गम्भिरतापुवृक नलिएर बरु सम्झाउन गएकाहरु माथि आइलागे भन्ने समेत जानकार िप्राप्त भयो । अवस्था यस्तो छ र यस्ता परिस्थितिले मलाई व्यक्तिगत रुपमा दुःख पनि लागेको छ।

भागेर अवैधानिक भएर काम नगरौं, नेपाली श्रमिकहरुलाई यही कुरा सम्झाइबुझाई गरीदिनका लागि संघसस्था र समुदायलाई पनि दुतावासले आग्रह गर्दै आएको छ । समस्या नभएका होइनन््, अनगिन्ती समस्या छन् तर भागेर काम गर्दामात्र समस्या समाधान पनि त हुदैन फेरी अर्को समस्या थपिने हो । हामीले कतारको नियम कानुनलाई पालना गर्नै पछ र जुनकुराहरु बर्जित गरिएका छन् त्यस्ता कुराहरुमा हातै नहार्लौ । नेपाली समुदायले पनि यस्ता विषयमा सबैलाई सचेत गराउन सहयोग गर्नुपर्यो।

नेपाली शिक्षक दोर्जे गुरुङ्गको रिहाई र सकुशल नेपाल फिर्ता गर्न तपाईले कस्तो कुटनितिक पहल गर्नुभयो ?

राजदूत डा शर्मा ः शिक्षक दोर्जे गुरुङ्ग जव पक्राउ पर्नु भयो सबैभन्दा पहिले नेपाली दुतावासले कतार सरकारलाई पत्र लेखेर उनी कहाँ कस्तो अवस्थामा छन् भनेर जानकारी लिने काम गरेको हो त्यसपछि शिक्षक गुरुङ्गलाई सकुशल रिहाई गर्नको लागि पुन राजदुतावासले पत्र लेख्यो र मैले यस विषयमा उच्चस्तरमा पनि कुराकानीलाई सक्रियरुपमा अघि बढाए र उनलाई सफल कुटनितिक पहलबाट तत्काल रिहाई गरियो र उनलाई सुरक्षितरुपमा नियोगको निवासमा राखेर सकुशल स्वदेश फिर्ता गरेको हो । तयसवेला राजदुतावासमा कुटनितिक कर्मचारी पनि नरहेको अवस्थापनि सफलतापुर्वक नेपाली छोराको कुटनितिक पहलद्धारा उद्धार गरिएको हो । यहाँका सामाजिक संघसस्थाहरु लगायत अन्तराष्ट्रियरुपमा पनि नेपाली समुदायको नैतिक सहयोग पनि रह्योे।

विमारी, असामयिक निधन भएका नेपाली लगायत हमाद अस्पतालमा वर्षौदेखि कोमामा रहेका नेपालीहरुको वारेमा कतिको चासो लिनुभयो ?

राजदूत डा शर्मा ः हेर्नुहोस् सबैभन्दा दुःखको कुरा त हाम्रा नेपाली दाजुभाई दिदीबहिनी विमारी हुन्छन्, असामयिक निधन भईराखेको अवस्था अझ वषैंदेखि कोमामा समेत रहेका अवस्थाले मलाई व्यक्तिगत रुपमा निकै दुखित तुल्याउछ। मैले विरामीहरुलाई पनि हेर्न पुगेको छु हमाद अस्पतालमा विमारीहरुको अवस्थाको वारेमा जानकारी लिएको छु कसरी उनीहरुलाई सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको छु । उनीहरुको क्षतिपुर्तिको लागि पनि पहल यथाशिघ्र भएको छ । मुतकको शवलाई सहज तरिकाले शिघ्र नेपाल पठाउन पनि राजदुतावासले चाडोभन्दा चाडो कागजपत्रहरु मिलाउने गरेको छ।

१०/११ वर्षदेखि कोमामा रहेका विमारीहरु मध्ये डोलिया अधिकारी, विर्ख गुरुङ्गको विमा रकम, क्षतिपुर्ति राजदुतावासले दिलाईदिएको छ । उनीहरुलाई पनि नेपालमा पठाएर निरन्तर उपचारमा संलग्न गराउने पहल गरिराखेको छ। २००२ देखि पहल नभएको र कोमामा यति वर्षसम्म रहेका विमारीहरुको उद्धार गर्न राजदुतावास लागि परयो र सफलता पनि पाएको छ। डोलिया अधिकारीलाई नेपाल लैजान पनि ५०,०००/– जति लाग्ने अनुमान गरिएको छ र त्यो रकम कम्पनीले नै दिनुपर्छ भनेर समेत मैले पहल गरिराखेको छु।

नेपालको इतिहासमै भारत र म्यानमार पछि तेस्रो महिला राजदुतका रुपमा यसवेला लाखौं नेपाली श्रमिकहरु रहेको मुलुकमा नियोग प्रमुख हुनुहुन्छ,, कस्तो महशुस हुन्छ?

राजदूत डा शर्मा ः मलाई नेपाल सरकारले कुटनितिक नियुत्त गरेर कुटनितिक मिसन पुरा गर्न पठाएको हो र मैले इमान्दारीसाथ सो पुरा गर्नुपर्छ एकजना कुटनितिक जिम्मेवारी वहन गरेको हैसियतले । दुवै मुलुकविचको सौहाद्रपुर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने, नेपाल र कतार विचमा हुनसक्ने सम्भावित सामाजिक, सांस्कृतिक, आर्थिक, व्यवसायिक र व्यापारिक क्षेत्रको पुर्वाधार र यसका लागि सरल एवं सहज उपाय, संभावनाहरुको खोजी गर्न कुटनैतिक पहल गर्ने, नेपाली रोजगारको लागि प्राप्त अवसरलाई अझ फराकिलो बनाउदै चार पाँचलाखको हाराहारीमा रहेका नेपाली पूरुष तथा महिला कामदारहरुको सुरक्षित आप्रवास र व्यवस्थित रोजगारीको लागि कुटनैतिक पहल गर्दै नेपाली समुदायको सुरक्षा तथा सहयोगको लागि निस्वार्थ रातदिन खट्नै पर्छ मैले । नेपाली महिलाहरु पनि अहिले निकैधेरै संख्यामा कतारमा कार्यरत् छन् । सबैजना सुरक्षित होऊन् खुशी भएर इमान्दारीताका साथ काम गरुन् । एकजना नेपालीले राम्रो काम गरयो भने उनको कामले धेरैजना नेपालीको प्रतिनिधित्व गर्छ।

दुतावासमा नेपाली कामदारहरुले जुन समस्या लिएर आएका हुन्छन् सो समस्या दुतावासबाट चुस्त र सहज तरिकाले समाधान गर्न सके त्यसवेला म खुशी हुनु स्वभाविकै हो । दुतावासमा मलाई भेट्न भन्दापनि पिडीतहरुको समस्या हल हुनु प्रमुख कुरा हो।

तपाई पत्रकारहरुलाई जसले समाजलाई सूचना दिने काम गर्नुभएको छ । कतारमा पनि तपाईहरुले निरन्तर रुपमा दूतावास, नेपाली समुदायलाई संचारको माध्यमबाट सहयोग र समन्वय गरिरहनुभएको छ सबै पत्रकार र संचारजगतलाई धन्यवाद दिन चाहन्छु।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस