Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एन्फा कास्कीमा अध्यक्ष पाउनै मुस्किल भो

सुदर्शन रञ्जित, डन न्यूज / एचकेनेपाल डट कम-
पोखरा, १८ असार। एन्फा कास्कीको चुनाव नजिकिदैं गर्दा यतिबेला अध्यक्षमा को–को चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने हुन् भन्दा पनि अध्यक्ष नै कसलाई बनाउने होला भनेर खोज्नु पर्ने स्थिति देखा परेको छ।

यही असार २१ गते चुनाव हुने भनिए पनि एन्फा कास्कीप्रति बढ्दै गईरहेको वितृष्णाका कारण यसको रौनक घट्दा अध्यक्ष पदमा उमेद्वारी दिनेहरु पनि भेटिन मुश्किल पर्न थालेको एन्फा कास्कीकै एकजना सदस्यले बताए।

एन्फा कास्कीका अध्यक्ष खेम गुरुङले समेत पुनः सोही पदमा नउठ्ने बताएका छन्। अध्यक्ष गुरुङले भने–‘अध्यक्ष को हुन्छ अब भन्ने कुरा भोलि नै थाहा होला। म दुई कार्यकाल सम्हाली सकेकोले अब अध्यक्षमा पुनः बस्ने इच्छा नै छैन।’

अध्यक्ष गुरुङलाई आर्थिक अनियमितता र टिकटका नाममा पैसा जसले उठायो, उसैले पचायो भन्ने खालको आरोप समेत लागिरहेको बेलामा त्यसको खण्डन गर्दै आर्थिक पारदर्शिताका हिसाबले आफ्नो बेग्लै पहिचान भएको जिकिर गरे। अध्यक्ष गुरुङले भने–‘हिसाब–किताब ए टु जेड क्लियर छ । एउटा मेरो विशेषता भनेकै आर्थिक पारदर्शिता पनि हो।’

दुईजना सचिवहरुले एकै कार्यकालमा राजीनामा दिनुका पछाडि हिसाब–किताब पारदर्शी हुन नसक्नु र यसकैको विवादका कारण यस्तो भएको भन्ने आरोप लाग्ने गरेको छ नि भन्दा अध्यक्ष गुरुङले सचिव बसन्त थकाली र बुद्धि थापाले आर्थिक कारण नभई प्राविधिक कारणले गर्दा छोड्नु भएको दावी गरे।

ंअध्यक्ष गुरुङले भने–‘बसन्त थकाली दाइलाई सम्मानपूर्वक एन्फा कास्कीको सल्लाहकारमा नियुक्त गरिएको हो, सल्लाहकार पनि र सचिव पनि एउटै संस्थामा दुईवटा पद लिएर विधान अनुसार बस्न नमिल्दा राजीनामा दिनुभएको हो।’ अध्यक्ष गुरुङले फुटबलकै लागि बार्षिक रुपमा आफ्नो एकलाख भन्दा बढि रुपैयाँ व्यक्तिगत समेत खर्च भईरहेको सुनाए। अध्यक्ष गुरुङले भने–‘म यस क्षेत्रमा कमाउन आएकै होइन, बरु उल्टै मेरो व्यक्तिगत पैसा बर्षको एकलाख रुपैयाँ खर्च भईरहेको छ।’

एन्फा कास्कीमा यतिबेला २७ वटा क्लबहरु आवद्ध छन् । विगत आठबर्ष अघि केही सक्रिय र क्रियाशिल भए पनि एन्फामा आवद्ध धेरै क्लबहरु यतिबेला निस्कृय नै छन्। केबल कागजी रुपमा भोटका लागि मात्र धेरै क्लबहरु दर्ता भईरहेको देखिन्छ । एन्फामा आवद्ध भएका क्लबहरु मध्ये जम्मा १२वटा जति मात्रै क्लबहरु क्रियाशिल देखिन्छन् । अन्य क्लबहरु भने चुनावका लागि मात्र राखिएको र खारेज नगरिएको स्रोतको भनाई छ।

जिल्ला खेलकुद विकास समिती वा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता नभए पनि एन्फा कास्कीमा मात्र दर्ता गराएर राखिएका क्लबले समेत मान्यता पाउने पुरानै नियम भएको अध्यक्ष गुरुङको भनाई छ । अध्यक्ष गुरुङले भने–‘एन्फामा नै नविकरणका लागि चुनाव हुनुभन्दा १ दिन अगाडिसम्म म्याद हुन्छ, नियम पुरानै हो, अन्यत्र दर्ता गराई राख्नु भने पर्दैन।’

तर फुटबलको विकास र संरक्षण गर्ने हो भने निस्कृय रहेका क्लबहरुलाई केबल भोट बैंकको रुपमा मात्र प्रयोग गर्नुको साटो त्यस्तालाई खारेज गर्नु नै एन्फा कास्कीको लागि हितकर हुने खेलकुद क्षेत्रका जानकारहरु बताउँछन्। ‘एन्फा कास्कीको छवि यतिबेला धुमिल हुनुको पछाडी धेरै कारणहरु छन््,’ एन्फा कास्कीका एक सदस्यले भने–‘पैसा मात्र सबैथोक हो भन्ने र आफैं मपाई गर्ने टोले मानसिकता र प्रवृत्ति भएका केही पात्रले गर्दा आज यो संस्था बदनाम भएको हो।’ ती सदस्यले एन्फा कास्कीलाई आफ्नै घरमा खोलिएको रेष्टुरेण्ट जस्तो सोच्ने मानसिकता भएकाहरुको कारण यसको आयतन र घनत्व बढ्न नसकेको जिकिर गरे।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by