मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम –
धनकुटा, १६ असार। विद्यालय व्यस्थापन समितिको चुनावको बिषयलाई लिएर एमाओवादी धनकुटाको भातृ संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसीएल) धनकुटाका उपाध्यक्ष बलदिप राईमाथि आक्रमण भएको छ।

सरस्वती उच्च मा.वि.परेवादिनको अभिभावक समितिको चयनमा स्थानीय यूवाहरुसंग भएको सामान्य विवादमा राईमाथि आक्रमण भएको हो। आक्रमणमा नेपाली कांग्रेसका नेता घनेन्द्र श्रेष्ठको योजना र निर्देशनमा भएको वाईसीएलले जनाएको छ।

युवाहरुको कुटाइबाट घाइते भएका वलदिप राई। तस्वीरः मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम

आक्रमणबाट राईको दायाँ निधारमा ८ टाँचा लगाईएको छ। घटनाको बिषयलाई लिएर राईले शनिबार जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएका छन्। सो घटनामा बलदिप राई, रामचन्द्र खड्का, कमल राई र अशोक तामाङ्गमाथि कुटपिट गर्नुका साथै धारिलो हतियार प्रयोग गरेको पीडितहरुले बताएका छन्।

राईले आफूलाई आक्रमण गर्नेहरुमा सिधुवाका सुनिल श्रेष्ठ, अरुण राई, नुडु शेर्पा, निमा शेर्पा, लक्ष्मी श्रेष्ठ र चन्द्र बहादुर लिम्बु रहेको बताएका छन्। यसै बिषयलाई लिएर घटनाका दोषीहरुलाई प्रशासनले कारवाही गर्न चासो नदेखाएको भन्दै यूवाहले ‘सिधुवा काण्ड पीडित संघर्ष समिति’ गठन गरी शनिबार धनकुटामा प्रदर्शन समेत गरेका छन्। प्रदर्शन अघि संघर्ष समितिका संयोजक अशोक तामाङ्गद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गरेका थिए।

बिज्ञप्तमार्फत संघर्ष समितिले नेता राईलाई प्रशासनको उपस्थितीमा आक्रमण भएकोले पीडकहरुलाई तत्काल कानुनी कारवाही गरी पीडित राईलाई न्याय दिनुपर्ने माग गरेका छन्। अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार प्रशासन आफैं हुनुपर्ने पनि संघर्ष समितिले बिज्ञप्ति मार्फत् चेतावनी दिएको छ।

यसै विषयलाई लिएर संघर्ष समितिको शनिबारदेखि शक्ति प्रर्दशन भईरहेको छ। धनकुटा वजारमा राईको पक्षमा युवाहरु वजारका चोक–चोकमा भेला भएका छन्। यसै विषयमा पीडित राईलाई सोध्दा प्रशासनले आफूले किटानी जाहेरी दिएपनि अभियुक्तहरुलाई कारवाही नगरेको गुनासो गरे। उनले भने–‘म अन्यायमा परेको छु। त्यसैले मैले न्याय मागिरहेको छु। यदी न्याय पाईन भने जस्तोसुकै कदम पनि उठाउन आफू पछि नपर्ने बताए। यस विषयमा संघर्ष समितिले आइतबार जिल्ला प्रशासन कार्यालय धनकुटामा घेराउ गरेका छन्। सो क्रममा प्रमुख जिल्ला अधिकारी रामेश्वर दंगाललाई ध्यानाकर्षण गराएको संघर्ष समितिले जनाएको छ। प्रजिअ दंगालले भने यस विषयमा चाडै दुवै पक्ष राखेर छलफल गर्ने बताएका छन्।

उता आरोपी घनेन्द्र श्रेष्ठले भने –आफूलाई आरोप लगाए जस्तो कुनै काम नगरेको र राई घाईते भएकोले प्रहरीलाई सहयोग गर्न भनेर उपचारको लागि पठाई दिएको बताए। यस विषयमा एक प्रत्यक्षदर्शीलाई सम्पर्क राख्दा –‘वास्तवमा बलदिप फोनमा कुरा गरेर हिंडिरहेका थिए। त्यसै बेला उनलाई आक्रमण गरी लडाएर सबैले कुट्न थाले। यस क्रममा उनी उठेर भाग्ने क्रममा श्रेष्ठले समा–समा भनेर आदेश दिए। यसरी आदेश दिए पनि केहि मानिसहरुले किन समाउनु भने पछि उनी रोकिए।’ नाम नखुलाउने सर्तमा एक प्रत्यक्षदर्शीको भनाई। श्रोतका अनुसार कुटपिट घेनन्द्र श्रेष्ठकै निर्देशनमा भएको र हाल ती यूवाहरु फरार रहेका छन्।

स्रोतका अनुसार बजारमा नाराबाजी भएपछि स्थानीयवासीहरु घरेलु हतियारहरु सहित घरबाट निस्किएपछि सिधुवा बजारमा आतंक सिर्जना भएको थियो। उक्त आतंकका कारण केही समय भाग दौड भएको थियो। घटना स्थलमा हिले प्रहरी चौकीबाट गएको प्रहरीको टोलीको उपस्थितिका कारण कुनै अप्रिय घटना भने नभएको स्थानीयवासीहको भनाई थियो।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायका अनुसार दुवै पक्षसंग छलफलको प्रयाश भईरहेको छ। दुवै पक्षलाई एकै ठाउँमा राखेर छलफल गराउने काम चाही नभएको वताए। किटनी जाहेरी दिएको आधारमा आरोपी व्यक्तिहरुलाई खोजी भइरहेको छ । अहिलेसम्म फेला नपरेको उनले बताए। यो सानो तिनो घटना हुदा पनि संघर्ष समिति गठन हुने काम भएको छ। जसको कारणले गर्दा छानविनमा समस्या भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस