सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम-
आशफोर्ड, केन्ट युके। हाम्रा बीर पुर्खाहरुले बेलायत सरकारलाई लगाएको गुणको फलस्वरूप नै आज हामीलाई यहाँको सरकारले सम्मानपूर्बक यहाँको नागरिकको रुपमा बसोबास गर्ने अधिकार प्रदान गरेको छ।


तस्वीर: सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम

बेलायत आउने क्रममा प्राय:जसो अविभाबकहरुले नानीहरु पनि साथमा लिएर आएका छन्। बेलायतको शिक्षालाई विश्वले मान्यता दिने भएकोले हामीले आफ्ना नानीहरुलाई यहाँ पढाएर उनीहरुको उज्वल भविष्यको कल्पना गर्नु स्वाभाविकै हो। तर बेलायतमा ठिक यसको उल्टो भई रहेको छ। यसको सम्पूर्ण दोष नानीहरुलाई दिनुको सट्टा अविभावकको रुपमा जिम्मेवारी निभाउन सकिरहेका छौँ कि छैनौँ त्यसतर्फ पनि एकपटक हामीले गहिरिएर सोच्नु पर्ने बेला आएको छ।

बेलायतमा नानीहरुलाई ल्याई दिएर मात्र अविभावकको दायित्व पूरा नहुने, नानीहरुसंग घुलमिल गर्दै यहाँको नियम कानुन आदिको बारेमा पनि चेतना, ज्ञान दिदैं असल बाटोमा लाग्न मार्गदर्शकको रुपमा सबै अविभावक लाग्न सकेमा मात्र हाम्रा नानीहरुको भविष्य हामीले कल्पना गरे जस्तो हुनेमा कसैको दुइ मत नहोला।

नियम कानुन भनेको के हो र यसको उलंघन गरेमा के कस्ता दण्ड, सजाय आदि पाइन्छ ? तिनीहरुको बारेमा हामीलाई, बिशेष गरेर युवा पिढीलाई ज्ञान हुनु अति आवश्यक छ। यहि कुराहरुको जानकारी गराउने उद्देश्यले सगरमाथा नेपाली समाज आशफोर्डले शनिबारका दिन स्थानीय डोभर हलमा स्थानीय प्रहरी प्रशासन एबं अन्य स्थानीय निकायहरुको सहयोगमा एक भब्य जानकारीमूलक कार्यक्रमको आयोजना गरेको थियो।

आशफोर्डवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन समाजका सचिब शोभराज गुरुङले गरेका थिए। कार्यक्रमको प्रारम्भमा कारेन एड्मंड्सले केन्ट कम्युनिटी हेल्थ एन एच एस ट्रष्टले केन्ट काउन्टी काउन्सिलसंग मिलेर काम गर्दै आएको र यसले केन्ट भरि क्लिनिकहरु संचालनमा ल्याएको जानकारीको साथ साथै ट्रष्टले प्रदान गर्ने सेवाहरुको बारेमा पनि जानकारी गराएकी थिइन्।

त्यसैगरी कार्यक्रममा आशफोर्ड गेटवे प्लसका तर्फबाट इसोल शिक्षिका सुजना हर्नान्देज र म्यानेजर जुली रोज्रसले समाजका सदस्यहरुलाई प्रदान गर्दै आएको अंग्रेजी भाषा कक्षा एबं छिटै लागु हुन गईरहेको फोहोर मैला व्यवस्थापन सम्बन्धि नियमहरुको बारेमा प्रष्ट पारेकी थिए।

कार्यक्रममा कम्युनिटी लाईजन अफिसर पिसी ११७९२ केटि कारडेनीले बेलायतको कानुन एबं सुरक्षाका बिषयमा संक्षिप्त जानकारी दिने क्रममा केन्टमा कम्युनिटी लाईजन अफिसरको शुरुवात र यसले गर्ने कामहरुको बारेमा जानकारी गराउनुको साथ साथै बेलायतको कानुन बमोजिम बोक्न बन्देज लगाइएका हतियारहरुको बारेमा पनि प्रष्ट पारेकी थिइन्। व्यक्तिगत सुरक्षाको लागि अपनाउनु पर्ने तरिकाहरु तथा ज्यान जोखिममा परेको अवस्थामा आफ्नो सुरक्षार्थ कतिसम्म बल प्रयोग गर्न सकिने आदि लगायतका महत्वपूर्ण कुराहरुको जानकारी गराएकी थिइन्।

कार्यक्रममा उपस्थित थुप्रै सदस्यहरुले राखेका जिज्ञासाहरुको प्रस्तोताहरुले चित्त बुझ्दो उत्तर दिएर खुशी बनाएका थिए भने कार्यक्रममा उपस्थित सदस्यहरुको लागि सुधा गुरुङले दोभाषेको काम गरेकी थिइन्। त्यसैगरी गणेश वनेमले सम्पूर्ण उपस्थित सदस्यहरुलाई अन्यायमा परेमा न्याय पाउन प्रहरीलाई रिपोर्ट गर्न अत्यावश्यक भएको प्रष्ट पारेका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष पोपिराज राईले सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिंदै कार्यक्रमको समापन भएको जानकारी पश्चात दिनको २:०० बजे कार्यक्रम सकिएको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस