लोकनारायण सुवेदी /एचकेनेपाल डट कम –
हाम्रो देश बर्षेनीजसो बाढी पहिरोको प्रकोप र डुवानको शिकार हुने गर्दै आएको छ । बर्षा लाग्नासाथ बिपत्तिको श्रंखला शुरु हुने जस्तो हाम्रो एक किसिमको नियति नै बनेको छ। यस पटक मनसुन शुरु हुन पूर्व पनि निकै मज्जाले बर्षा भएको थियो । त्यसपछि मनसुनी बर्षा शुरु भयो। तर यसले किसानहरुमा खुशियाली मात्र ल्याएन बिपत्तीको ठूलो कहर पनि थोपरिदियो । हाम्रो देशको सुदूर पश्चिमी क्षेत्र खाशगरी महाकाली अञ्चलका दार्चुला, कञ्चनपुर लगायतका जिल्लाहरुमा प्रलयकारी बाढी पहिरोले ताण्डवकारी बिनाशलिला मच्चायो। दार्चुलाको सदर मुकाम खलंगाको नदी किनाराको क्षेत्र त एक किसिमले ध्वस्त नै हुन पुग्यो । अहिले पनि दार्चुलामा भएर बग्ने महाकाली नदीको पश्चिमी किनारा र पूर्वी किनाराको स्थितिलाई हेर्नासाथ बाढीले किन नेपाललाई यसरी खेदो गर्न सम्भव भयो भन्ने कुरा बिज्ञहरुको कुरै छाडौ सर्बसाधारणलाई पनि राम्ररी थाहा हुन्छ । भारतको धौलीगंगा रहेको बाँधको ढोका खोलेर महाकाली नदीमा पानीको प्रवाह र बहाव एक्कासी बढेको होइन भन्ने भारतीय पक्षको प्रष्टीकरण आएको छ । तर त्यो बाँधको ढोका महाकालीमा बाढी आउन लाग्दा खोलिएको थियो कि थिएन भन्ने कुरा भने प्रष्ट छैन।
तर एउटा कुरा भने बिश्वभरी नै र यो क्षेत्रमा पनि के प्रष्ट हुदै गएको छ भने बाढी, पहिरो, डुबान, अतिबृष्टि, अनाबृद्धि, सुख्खा, खडेरी र कतिपय रोगब्याधी आदिको कारण प्राकृतिक उतार चढाव मात्र होइन, यसमा प्रकृतिको गति र नियमहरुलाई खल्बल्याउने मानबकृत गतिबिधिहरु पनि कम जिम्मेवार छैनन् । वास्तवमा बेला बेलामा प्रकृतिको बिनाशकारी रौद्ररुपले जे चेतावनी दिदै आएको र दिइरहेको छ त्यसलाई सही किसिमसले आत्मसात गरिएन र प्रकृति तथा पर्यावरण–मैत्री बिकास निर्माणका योजना परियोजनाहरु अघि सारिएन भने बिपत्तीका अझ ठूल्ठूला प्रलयकारी पहाडहरुको सामना मानब समाजले गर्नैपर्ने हुन्छ । यसलाई कसैले रोक्न खोजेर पनि रोक्न सक्तैन । यो एउटा अकाट््य सत्य र तथ्य पनि हो।
यद्यपि यस्ता प्राकृतिक बिपत्तीहरुको शिकार भने हाम्रो देश नेपाल मात्र भइरहेको छैन । दक्षिण एशियाका अन्य भारत लगायतका देशहरु अनि एशियाकै अन्य देशहरु, ल्याटिन अेमरिका, अमेरिका, यूरोप र अफ्रिका जहाँ पनि आज यस्ता खतराहरुसँग जुध्नु परिरहेको छ । संयुक्त राष्ट्र संघको पछिल्लो ग्लोबल एसेसमेण्ट रिपोर्ट २०१३ ले के पुष्टी गरेको र प्रष्ट पारेको छ भने आगामी दिनमा यस्ता प्राकृतिक बिपत्तीहरुमा बृद्धि मात्र हुने छैन तिनको असर अझ बढी बिकास प्रकृयामा पनि पर्ने छ । त्यसले गर्दा बिकासशील र निम्न आय बर्गका देशहरु यस्ता बिपत्तीहरुबाट अत्याधिक प्रभावित हुनपुग्ने छन् । भारतको उत्तराखण्डमा आएको बाढी पहिरोको ताण्डबले त्यहाँ हजारौ मानिसहरु बेपत्ता भएकोे, ५५० जतिको मृत्यु भइसकेको र हजारौ मानिसहरु बिपत्तीमा फँसिरहेको यथार्थले पनि पुष्टी गर्दछ । त्यसैले यी बिपत्तीहरुलाई केवल प्राकृतिक कुरा मानेर बस्ने भन्दा पनि यसको सामना गर्न के के उपाय गर्न सकिन्छ त्यतातिर ध्यान केन्द्रित गर्नु अत्यावश्यक छ भन्ने कुरा संयुक्त राष्ट्र संघको प्रतिबेदनले औंल्याएको छ । संयुक्त राष्ट्र संघकै प्रतिबेदन अुनसार ३० बर्षमा ४० देशमा आएका यस्ता प्राकृतिक बिपत्तीहरुबाट प्रत्यक्षरुपमा ३०५ अर्ब डलरसम्म नोक्सानी हुन पुगेको छ । गरीब र तथा असहाय अबस्थामा रहेका बहुसँख्यक जनताले यो नोक्सानीको बोझलाई कसरी धान्न सक्लान् र!
त्यसलै आज बिकासलाई सुरषित र टिकाउ बनाउनु पर्ने आवश्यकता छ । जसमा बिपत ब्यवस्थापनलाई पनि बिकासको एउटा अभिन्न अंगकोरुपमा रुपमा अंगिकार गरिनु अत्यावश्यक भएको छ । भौगोलिक तथा प्राकृतिक परिस्थितिलाई नजर अन्दाज गरेर बिकास योजना परियोजना चलाउने धृष्टता गरेमा त्यसले अन्ततः बिनाश निम्त्याउने कुरा निश्चित छ । यसर्थ प्रकृतिसँग खेलबाड गर्ने कुनै पनि किसिमका हर्कतले मानब जीवन र मानब सभ्यतालाई समाप्त पार्ने कुराको हेक्का राखिनु पर्दछ । मानब लगायत सम्पूर्ण चराचर जगत पं्रकृतिकै उपज हो । त्यसैले हाम्रो पुरानो शास्त्रमा भनिएको पनि छ कि ‘तोदीय बस्तु गोबिन्दम् तुभ्यमेव समर्पएत्’। यो प्रकृति प्रदत्त बस्तुहरु आखिर प्रकृतिलाई बुझाउनु पर्ने कुराको द्योतक हो । अर्थात मानब र उसका गतिबिधि प्रकृति मैत्री हुनु पर्दछ । प्रकृतिका नियमहरु (गभर्निङ्ग ल अफ नेचर) मानेर हिड्ने हो भने प्राकृतिक बिपत्ती र जोखिमहरु कम गराउन र तिनबाट जोगिने बिभिन्न उपायहरुको खोजी गर्न सकिन्छ।
प्रकृति र पर्यावरणलाई मानबीय हितमा कसरी सन्तुलित र पर्यावरण मैत्री किसिमले प्रयुक्त गर्ने भन्दा पनि कसरी तिनको दोहन गरेर कुस्त कमाउने भन्ने जुन कर्पोरेट कल्चर बिकास गरिएको छ यो लोभले गर्दा आज बिश्व भरी नै ‘लोभले लाभ लाभले बिलाप’ को जस्तो स्थिति सिर्जना भइरहेको देखिन्छ। त्यसबाट नेपालका योजना परियोजनाहरु र तत सम्वन्धि नीतिहरु पनि अछूतो रहेका छैनन् । बिकासका कयौं योजनाबद्ध चरण पार गरीसक्दा पनि नेपाल अझै पछौटे राष्ट्रकै रुपमा रहिरहनुको पछाडिको एउटा मूल कारण नै यही प्रकृति अमैत्री प्रबृत्ति नै हो भनेमा अत्युक्ति हुने छैन।
हाम्रो देशको सुन्दर भू–धरातलीय अबस्थिति, साँस्कृतिक तथा जैबिक बिविधता र अनेक प्राकृतिक बरदानहरुले गर्दा यसको द्रूत राष्ट्रिय बिकासका अनेक सूनौला सम्भावनाहरु छन् । तर तिनलाई बुझ्ने, आत्मसात गर्ने र राष्ट्र र जनताको बृहत्तर हितमा सदुपयोग गर्ने भन्दा पनि तिनलाई सीमित स्वार्थ साधनाको बस्तुमा परिणत गर्ने जुन संकुचित मानसिकता र मनोबिज्ञान आज ब्याप्त छ त्यसले गर्दा पर्याबरण असन्तुलनलाई अनदेखा गर्ने र प्राकृतिक बिपत्तीहरुलाई निम्त्याउने बातावरण बनाउने गलत काम जानेर नजानेर हुँदौ आएको र भइरहेको छ । जसको परिणाम आजको पुस्ता र भोलीको पुस्ता दरपुस्ताले पनि भोग्नुपर्ने हुन्छ ।
यो निश्चित कुरा हो कि मानिसले प्रकृतिलाई चूनौति दिन सक्तैन । प्रकृतिका नियमहरु उल्लंघन भएमा प्रकृतिले त्यसलाई सामान्यतः पुनः ठीक ठाउँमा ल्याउने क्षमता राख्दछ । अन्यथा त्यो ठूलो प्राकृतिक बिपत्तीकोरुपमा प्रकट हुन पुग्दछ। जसको कारणले जन धनको ठूलो क्षति हुन पुग्दछ । त्यसैले धेरै पहिला महान दार्शनिक एवं बिश्वको आमूल परिवर्तनका अभियन्ता कार्ल माक्र्सका अभिन्न मित्र एंगेल्सले ‘बादरबाट मानिस बन्ने क्रममा श्रमको भूमिका’ तथा ‘परिवा र निजी सम्पत्तिको बिकास’ जस्ता अमूल्य र अद्यापि पठनीय कृतिहरु लेख्दा प्रकृतिमाथि खेलबाड गरिएमा त्यसले कुनै न कुनै रुपमा अर्थात, बाढी, पैह«ो, खडेरी, अनाबृष्टि,अतिबृष्टि, रोग ब्याधी आदिकोरुपमा बदला लिन्छ भन्ने कुरा उल्लेख गरेका थिए । त्यो आज पनि उत्तिकै सान्दर्भिक र मननीय लाग्दछ । यसले हामीलाई प्रकृति–मैत्री बिकास योजनाहरु बनाउन र कार्यान्वयन गर्न सन्देश दिन्छ । यो कुरा बस्तुगतरुपमा मानब समाज र सभ्यतालाई जोगाउने, सुरक्षित तुल्याउने र अघि बढाउने कुरासँग अभिन्न रुपमा जोडिएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस