Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रचण्डले अर्को महिना जापानको भ्रमण गर्ने

हवलचन्द्र लामा/ एचकेनेपाल डट कम-
टोकियो, एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जुलाईको तेश्रो साता छोटो भ्रमणको कार्यक्रम लिएर जापान आउने भएका छन्।

एमाओबादी पार्टी अन्तर्राष्ट्रिय ब्यूरोका एशिया प्यासिफिक ईञ्चार्ज युवराज चौलागाईँकाअनुसार अध्यक्ष प्रचण्डको जापान भ्रमणको तैयारी लगभग अन्तिम चरणमा पुगेको बताईएको छ। अध्यक्ष प्रचण्डले जापानका सत्तारुढ दल र प्रतिपक्ष दलका नेताहरुसंग दुई राष्ट्रबिचको सम्बन्ध र आपसी हितका बिषयमा भेटवार्ता गर्ने बुझिएको छ।

एमाओबादी अध्यक्ष प्रचण्डले हालै मात्र दुई ठूला छिमेकी देश चीन र भारतको भ्रमण गरेका थिए। उनको जापान भ्रमण भने पहिलोपटक हुन लागेको बताईएको छ।

बिश्वकै समृद्धशाली राष्ट्र मध्यको एक जापानमा पहिलोचोटी हुन लागेको भ्रमणमा प्रचण्डले यहाँका मिहिनेती जनताहरुद्वारा अत्यन्त कम समयमै हासिल गरेको बिकास, यसको मोडेल र उच्च प्रविधिको प्रयोगबारे नजिकबाट अध्ययन गर्ने भएका छन्।

अनौपचारिक भ्रमणका सिलसिलामा अत्यन्त कम समयका लागि जापान आउन लागेका प्रचण्ड जापानस्थित एमाओबादी निकट भात्तृसँस्था नेपाली जनप्रगतिशील मोर्चाको जुलाई २१ का दिन टोकियोमा हुन गईरहेको अधिवेशनमा सहभागी हुने कार्यक्रम छ। अधिवेशनको खुल्लासत्रमा भने प्रचण्डले जापानबासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चा श्रोतबाट थाहा भएको छ।

अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा हुन गईरहेको मोर्चाको अधिवेशनलाई सफल पार्न र अध्यक्ष प्रचण्डको भ्रमणलाई ब्यवस्थित गर्न कार्यवाहक अध्यक्ष हवलचन्द्र लामाको संयोजकत्वमा अधिवेशन मुल आयोजक समिति गठन गर्नुका साथै बिभिन्न उपसमितिहरु गठन गरी कार्यबिभाजन समेत गरिएको मोर्चाका सचिव हिमाल भट्टराईले बताए। जसअनुसार आर्थिक ब्यवस्थापन उपसमिति, स्वागत सत्कार तथा सुरक्षा ब्यवस्थापन उपसमिति, आवास, भोजन तथा यातायात ब्यवस्थापन उपसमिति, संगठन बिस्तार तथा सुदृढीकरण उपसमिति, अधिवेशन समारोह सञ्चालन तथा तैयारी उपसमिति, बिधान संशोधन अध्ययन उपसमिति, प्रचारप्रसार तथा मिडिया संयोजन उपसमिति गठन गरिएको छ।

बिभिन्न उपसमितिहरुमार्फत अध्यक्ष प्रचण्डको भ्रमणको उचित ब्यवस्थापन र अधिबेशनको तैयारीलाई तीब्र पारिएको मोर्चाका कोषाध्यक्ष रामहरि पुडासैनीले बताए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by