सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम-
आशफोर्ड, केन्ट युके। भाषा, धर्म, संस्कृति, भेष भूषा आदि इत्यादि मानिसका पहिचानहरु हुन्। पहिचानलाई हलुका रुपमा लिने वा बुझ्न खोज्नेको लागि पहिचानको खासै महत्व नहोला तर यसलाई बिभिन्न कोणबाट बुझ्ने वा बुझ्न चाहनेको लागि पहिचान ज्यादै महत्वपूर्ण हुन्छ। वास्तवमा पहिचान नै हाम्रो चिनारी हो।
हाम्रा नानीहरु अहिले बेलायतमा कुइरोमा हराएको काग जस्तो भईरहेका छन्। उनीहरु न पूरा गोरा हुन् सकिरहेका छन् न त पूरा नेपाली नै। पहिचान भनेको के हो ? प्रबासमा हामीलाई पहिचान किन आबश्यक छ ? हाम्रा नानीहरु यसबारेमा अनभिज्ञ छन्। यस बारेमा ज्ञान, चेतना दिने प्रत्येक अविभावकको दायित्व हो भन्ने कुरा मनमा लिएर घर घरबाट नानीहरुलाई पहिचानको शिक्षा दिन अत्यावश्यक छ।
यहि कुरोलाई मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ आशफोर्ड शाखाले गत १५ जुन २०१३ शनिबारका दिन स्थानीय चर्च हलमा लिम्बु भाषा तथा लिपिको उद्घाटन भब्य रुपमा सम्पन्न गरेको छ।
आशफोर्डवासी सम्पूर्ण लिम्बुहरुलाई निमन्त्रणा गरिएको उक्त कार्यक्रमको संचालन शाखाका सचिब काजी सम्युले गरेका थिए। शाखाका अध्यक्ष रै प्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ युकेका महासचिब छत्र वनेम रहेका थिए। अन्य अतिथिहरुमा नेपाल जनजाति महासंघ बेलायतका प्रेसिडेन्ट श्री प्रसाद साम्यु, किरात याक्थुङ चुम्लुङ युके धार्मिक बिभाग प्रमुख दिल सम्बाहाम्फे, संस्कृतिक बिभाग प्रमुख मान तबेबूङ्ग, समाजका बुद्दिजीवीहरु साथै शाखाका सल्लाहकारहरु रहेका थिए। यसबाहेक स्थानीय विशिष्ठ व्यक्तिहरु पनि अतिथिका रुपमा उपस्थित भएका थिए।
शाखाका सचिब एबं कार्यक्रम संचालक काजी साम्युले आकस्मिक घटना भई हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए भने प्रमुख अतिथि र शाखाका अध्यक्षले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्दा हलमा उपस्थित सबैजनाले जोडदार ताली बजाएर सम्मान गरेका थिए। प्रमुख अतिथिले उपस्थित महानुभाबहरुको लागि पाटीमा लिम्बु अक्षर लेखेर लिपिको शुभारम्भ गरि दिएका थिए।
आशफोर्डवासीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष सोदिप थोप्राले स्वागत मन्तब्य दिएका थिए भने लिम्बु जातिको धर्मको बारेमा दिल सम्बाहाम्फेले प्रष्ट पारेका थिए। प्रमुख अतिथि छत्र वनेमले हाम्रो भाषा, लिपि आदिले नै हामी समस्त लिम्बुहरुलाई एकताको डोरीमा बाँध्ने कुराको प्रष्ट पारेका थिए। शाखाको यस सराहनीय कार्यमा सहयोगको लागि केन्द्रमा पहल गरि दिने बचन पनि दिएका थिए।
कार्यक्रममा सल्लाहकार राजेन्द्र खिम्दिङ्गले शुभकामना मन्तब्यको क्रममा पहिचानको निम्ति पनि सम्पूर्ण लिम्बुहरुले भाषा तथा लिपि जान्नु पर्ने कुरा औंल्याउदै यस लिपिलाई किरात श्री जङ्गालिपिको रुपमा किरात याक्थुङ चुम्लुङ नेपालले मान्यता दिएको कुरा प्रष्ट पारेका थिए। त्यसैगरि सल्लाहकार गणेश इजमले लिम्बु भाषा तथा लिपिको उच्चारण, प्रयोगको बारेमा प्रष्ट पर्दै उहाँ द्वारा रचित लिम्बु भाषाको ” लाम ” अर्थात् ” बाटो ” शिर्षकको कविता बाचन गरेका थिए।
कार्यक्रममा उपस्थित महानुभाबहरुले भाषा तथा लिपि कार्यक्रमको लागि सौजन्य प्रदान गरेका थिए भने शिशिर लिम्बुको अध्यक्षतामा पुर्न:गठित युवा कमिटिको पनि घोषणा गरिएको थियो। शुभकामना मन्तब्यकै क्रममा अतिथि श्री साम्युले जनजाति महासंघ बेलायतले पनि यस प्रकारको कार्यक्रममा सहयोग गर्ने संकेत दिंदै सफलताको शुभकामना दिएका थिए भने शिव कुमार लिम्बुले शाखाले ऐतिहासिक कार्य गरेको र आफू धेरैजसो युके बाहिर रहेता पनि सहयोग गर्न तत्पर रहने प्रष्ट पार्दै सफलताको शुभकामना दिएका थिए।
युवा अध्यक्ष शिशिर लिम्बुले नेपालमा हुँदै लिम्बु भाषा तथा लिपि सिक्न खोजेको तर सिक्ने बेलामा युके आउनु परेकोले आफ्नो सिक्ने इच्छा पुरा नभएकोमा यहाँ मौका पाएकोमा खुशी व्यक्त गरेका थिए। कार्यक्रममा भाषा तथा लिपि शिक्षिका कमला लिम्बुले आफ्नो परिचय दिंदै बुद्दि र विवेकले भ्याएसम्म बिधार्थीहरुलाई सक्दो सहयोग गर्ने वचन दिएकी थिइन्।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष रै प्रसाद लिम्बुले कार्यक्रममा उपस्थित भई सफल पार्न सहयोग गरेकोमा उपस्थित सबैलाई धन्यबाद दिंदै कार्यक्रम समापन भएको औपचारिक घोषणा गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस