Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दर्जाकै कारणले शान्ति प्रक्रिया अब रोकिदैनः बैद्य

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३० फागुण । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले दर्जाकै कारण अब शान्ति प्रक्रिया नरोकिने बताएका छन्।

जेठ १४ गतेभित्रै शान्ति र लोकतान्त्रिक संविधान निर्माण कार्य पुरा गर्न दवाव दिने उद्धेश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा बरिष्ठ उपाध्यक्ष बैद्यले शान्ति प्रक्रिया अन्तिम अवस्थामा पुगिसकेको भन्दै यस्तो बेलामा पार्टी नेतृत्वले दर्जामा अडान लिन्छ भन्नेमा आफूहरुलाई विश्वास नभएको स्पष्ट पारे।

उनले शान्ति प्रक्रियामा आफूहरुको फरक स्पष्ट असहमति रहेको उल्लेख गर्दै समायोजनको नाममा जनमुक्ति सेनाको अपमान र निशस्त्रीकरण गर्ने काम भएको आरोप लगाए। उनले भने- शान्ति प्रक्रिया सकिदैछ तर पनि राम्रो परिणाम आउँला जस्तो लाग्दैन।

आफूहरु अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई स्थायी शान्ति कायम गर्ने गरी अगाडि बढाउने प्रयासमा मिलाएर अगाडि बढाउने पर्ने भन्दै बैद्यले जनताले धोका पाउने अवस्था भएकोले फेरी जनताले हतियार उठाउन नपर्ने गरी शान्ति प्रक्रिया निष्कर्समा पुर्याउनु पर्ने पक्षमा आफूहरु रहेको बताए।

शान्ति प्रक्रियालाई केवल समायोजनको रुपमा मात्रै बुझिएको भन्दै बैद्यले संविधान निर्माण, बेपत्ता खोजी सहितका आयोग गठनमा भने बेवास्ता गरेको गुनासो गरे। संविधान निर्माण र शान्ति प्रक्रिया सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिदै उनले भने-अझै समय बाँकी छ, शान्ति र संविधान निर्माणको प्रकृयालाई गंभिरतापूर्वक अगाडि बढाऔं त्यसको लागि दलहरुवीच छलफल चलाऔ। हामीलाई जनताको चाहना अनुसारको संविधान बन्छ कि बन्दैन भन्नेमा गंभीर आशंका छ।
सात बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजिनामा दिनु पर्ने आवश्यकता औल्याउदै उपाध्यक्ष बैद्यले आवश्यक परे सरकारविरुद्ध सडक संर्घष गर्ने चेतावनी दिए।

उनले सरकार देश र जनताको पक्षमा नभएको भन्दै माओवादी नेतृत्वको सरकार हो कि होईन भन्ने आशंकासमेत ब्यक्त गरे। उनले भने-काग्रेस र एमाले भने अनुसारको काम सरकारले गरेको छ। माओवादीको सरकार हो कि होईन गंभीर आशंका छ।

उनले पार्टी अध्यक्षले पार्टीको निर्णयहरु कार्यान्वयन नगरे आफूहरुले कार्यान्वयन गर्ने स्पष्ट पार्दै राष्ट्रिय स्वाधिनता खतरामा परेकोले स्वाधिनताको रक्षाकोलागी गंभीर भएर काम गर्ने बताए। उनले भने-असमान सन्धी सम्झौताको खारेजी, जलस्रोतमा भारतीय प्रभुत्व अन्त्य गर्ने र सीमा अतिक्रमणका विषयमा जनतालाई सचेत पार्न प्रचार प्रसार गर्र्छौ।

सक्रमणकालिन अवस्थाको ब्यवस्थापनको अस्थायी विधी अवलम्बन गरेकोले एउटा पार्टी दुइ वटा जस्तो देखिएको भन्दै यस्तो अवस्थामा लामो समयसम्म रहन नसक्ने स्पष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by