धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) उपाध्यक्ष रि.क्या. हितमान गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शनिवार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा एनआरएनए युके पदाधिकारीहरुबीच पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।

एनआरएनमा आफ्नो लामो अनुभव बटुलीसकेका उपाध्यक्ष गुरुङले एनआरएन अभियानमा आफ्नो दशक लामो योगदान, आत्मविश्वास, अनुभव र साथीभाईको सुझावपछि अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट्याए। यसअघि दुई कार्यकाल आइसीसी सदस्य, युरोप संयोजक बनिसकेका उनी अहिले उपाध्यक्ष छन्।

पत्रकार सम्मेलनमा गुरुङले सामूहिक लगानी अवधारणालाई मुर्तरुप दिने, एनआरएनको दिगो र संस्थागत विकास, दोहोरो नागरिकता सवाललाई निरन्तरता दिएर टुंगोमा पु¥याउने लगायतका प्रतिवद्धता व्यक्त गरेका थिए।

विश्वका ६४ देशमा फैलिसकेकाले एनआरएन सञ्जाललाई व्यापक बनाउन एनसीसी र केन्द्रबीच मजवुत सम्वन्ध स्थापित गर्ने तथा एनआरएनको पुंजी र सीपलाई मातृभूमि नेपालको दिगो विकासमा खर्चन पहल गर्ने पनि उनले अठोट गरेका छन्। एनआरएनमा लामो अनुभव, समय, तथा व्यवस्थापन क्षमता समेत भएकोले अध्यक्षको प्रत्याशी बनेको गुरुङको भनाई थियो। उनले भने, मलाई तपाईहरुको ठूलो साथ र समर्थन चाहिन्छ।

पत्रकार सम्मेलनमा सहभागि एनआरएनए यूके अध्यक्ष कुल आचार्यले एनआरएन विश्व सम्मेलनमा एनआरएनए युके मजबुद र एक भएर जाने बताउंदै उनले गुरुङको उम्मेदवारी स्वागतयोग्य रहेको बताए। गएको निर्वाचनमा पनि एनआरएनए युकेले एकता देखाएको स्मरण गर्दै उनले त्यो अहिलेपनि निरन्तर हुने विश्वास दिलाए।

गुरुङ एनआरएन अभियानमा निरन्तर लागिरहेको र योग्य व्यक्ति भएको उनको भनाई थियो। अहिलेसम्म एनआरएनए युकेले आइसीसीको अध्यक्ष पद नपाएको स्मरण गर्दै आचार्यले त्यो पालो युकेको भएको समेत बताए।

एनआरएनए युकेका उपाध्यक्ष महेन्द्र कंडेलले विगत एक दशक लामो समय एनआरएनमा विताईसकेका कुशल अनुभवी व्यक्तित्वलाई सहयोग गर्नुपर्नेमा जोड दिए। गुरुङलाई अध्यक्ष पदमा जिताउन एनआरएनए युके नेतृत्वले क्षमता देखाउनुपर्ने बेला आएको बताए।

एनआरएाए युकेका प्रवक्ता जीव वेल्वासेद्धारा सञ्चालित कार्यक्रममा अर्का उपाध्यक्ष थर्कसेन, आइसीसी सदस्यद्धय शंकर भण्डारी र विश्व आदर्श पण्डित, सल्लाहकारहरु कर्ण बहादुर शाही, डा. सिवी गुरुङ, शिवजी श्रेष्ठ, एनआरएनए युके सदस्य शान्ति थापा कुंबर, विजन भट्ट, तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङ लगायतले गुरुङको उम्मेदवारी घोषणाप्रति समर्थन गर्दै उनको इमान्दारिता, संस्थामा निरन्तर संलग्नता र विवादरहित छविका कारण अध्यक्ष पदको दावी उपयुक्त रहेको जिकिर गरेका थिए।

गुरुङले उम्मदेवारी घोषणा गरेको साताअघि अष्ट्रेलियाका अरबपति शेष घलेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। यहि अक्टोबर १९ देखि २२ सम्म चल्ले एनआरएन महधिबेशनमा एकहजार भन्दा बढी प्रतिनिधि सहभागि हुने बताइएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस